लक्ष्मण गाम्नागेको व्यङ्ग्यसङ्ग्रह हो, ‘दलालशाला’ । नेपाल साप्ताहिक पत्रिकामा पन्ध्र वर्ष झटारो स्तम्भ लेखेका लक्ष्मण गाम्नागेको राजनीति केन्द्रित तीक्ष्ण व्यङ्ग्यहरूले भरिएको दलालशाला बाह्रौं कृति हो ।  यस कृतिमा झटारो स्तमम्भमा लेखिएका व्यङ्ग्यहरूको संकलन गरिएको छ । पुस्तकमार्फत् गाम्नागेले नेपाली राजनीति र वर्तमान समाजलाई चोटिलो व्यङ्ग्य प्रहार गर्नुभएको छ ।

“बहुत जोस, जाँगर र अवसर पनि भएका बखत मैले केही पत्रपत्रिकामा स्तम्भ लेखेँ । आफैँले भन्दा अलि अप्ठ्यारो  लाग्ने कुरा, कान्तिपुर पब्लिकेसनको नेपाल पत्रिकामा छापिने ‘झटारो’  पाठकहरूबाट निकै मन पराइएको थियो । यो पत्रिका हातमा लिएपछि तपाईँको ‘झटारो’ पढेर मात्र बाँकी रचना पढ्छु भनेर मलाई फुर्क्याउने थुप्रै पाठक शुभचिन्तकलाई अहिले पनि सम्झन्छु र गमक्क पर्छु ।”, गाम्नागे पुस्तकमा लेख्नुहुन्छ, “… किताबको नाम जुराउन मित्र डा. रवीन्द्र समीर, म र जिपिटी च्याटले निकै कसरत गर्यौं । ती नामहरूमध्ये दलालशाला उपयुक्त ठहरियो । मुलुकमा लामो समयदेखिको राजनीतिक खिचातानी, अस्थिरता र हाम्रा नेता र दलहरूको अकर्मण्यताका कारण राजनीतिक, प्रशासनिक लगायत विभिन्न क्षेत्रमा बिचौलियाहरूको भयङ्कर प्रभाव परेको महसूस सबैलाई भएकै छ । संसद्मा छिरेर आफूअनुकुल कानुन बनाउने व्यवसायीहरू, माफियाहरूलाई हामीले माननीयको सम्मान दियौँ । यस्तै तर्कनाले च्याटजिपिटीले यो पुस्तकको नाम दलालशाला प्रस्ताव गरेको होला । लालहरूको बाहुल्य भएको देश भनेर द लालशाला भनिएको पनि हुनसक्छ । लालहरू नै बढी दलाल भए भनिएको पो हो कि ! अथवा सत्तामा ढलीमली गर्ने दलालहरूलाई ‘साला’ भनेर गाली गरेको पनि हुनसक्छ । सत्तासीनहरूका प्रिय नातेदार साला–साली भाइ भतिज, ज्वाइँ, छोरी वा सम्धीहरूले नै दलालीको काम गर्छन भन्न खोजेको भए जिपिटीले नै जानोस् ।”

नेपाली हास्यव्यङ्ग्य निबन्ध तथा कविताका क्षेत्रमा साढे तीन दशकदेखि कलम चलाइरहेका लक्ष्मण गाम्नागे वर्तमान समयका एक लोकप्रिय र सशक्त व्यङ्ग्यकार  हुन् । साढे दुई दशकदेखि नेपाली व्यङ्ग्य जगत्मा प्रभावशाली उपस्थिति जनाइरहेको संस्था सिस्नुपानी नेपालका संस्थापकमध्ये एक गाम्नागे हाल यसका अध्यक्षसमेत रहेका छन् ।

पुस्तकलाई मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको छ । २ सय ८४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय ६५ रुपैयाँ रहेको छ ।