राज यात्री लम्साल,युएई । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसर पारेर तनहुँ सेवा समाज युएईले खुल्ला रचना वाचन तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ।
दुबईको बरदुबईस्थित सिल्भर स्पुन रेस्टुरेन्टमा भएको कार्यक्रममा नेपाली राजदूतावास युएईका महामहिम राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो भने कार्यक्रमको सभापतित्व तनहुँ सेवा समाज युएईका अध्यक्ष सुदीप कार्कीले गर्नुभएको थियो ।
युएईमा रहेका साहित्यिक संस्थाहरूलगायत एनआरएनए युएई, नेपाली समाज युएई, जिल्लागत संस्था, वैचारिक संगठनमा आबद्ध विशिष्ट अतिथि, प्रमुख अतिथी र अतिथीहरूको विशेष उपस्थिति रहेको थियो ।
नेपाली राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रममा पानसमा दीप प्रज्वलन गर्दै राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको तस्वीरमा महामहिम राजदूतले माल्यार्पण गर्नुभएको थियो साथै उपस्थित विशिष्ट व्यक्तिहरू र उपस्थित स्रष्टाहरूबाट पनि फूलका गुच्छा तथा अबीर लगाई आदिकविलाई सम्झना गरिएको थियो।
कार्यक्रममा नेपाली राजदूतावास युएईका महामहिम राजदूत तेजबहादुर क्षेत्रीले हामी नेपाली विभिन्न जात धर्म संस्कृतिमा उनिएका फूल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसलाई आदिकवी भानुभक्त आचार्यले एक सूत्रमा बाँध्नका लागि रामायण लेख्नु भयो र हाम्रो नेपाली भाषालाई विश्वसामु स्थापित गर्न ठुलो योगदान पुर्याउनु भयो । अब आउने दिनहरूमा हामी सबैले आफ्नो भाषा र संस्कृतिलाई संरक्षण गर्न यस्ता साहित्यिक कार्यक्रमहरू गरिंदै जानुपर्छ । विश्वका कुनै कुनामा रहे पनि आफ्ना नानीबाबुहरूसँग नेपाली भाषामै कुरा गर्ने बानीको विकास गर्नु पर्छ । यस्ता साहित्यिक कार्यक्रमहरूका लागि नेपाली दूतावास जस्तोसुकै साथ सहयोग गर्न पनि तयार छ ।’
त्यसैगरी, तनहुँ सेवा समाजका सल्लाहकार तथा कार्यक्रमका संयोजक समेत रहनुभएका गजलकार टक गुरुङले भाषासम्बन्धी प्रकाश पार्दै भन्नुभयो, “भाषाले हाम्रो मनोविज्ञानको निर्माण गर्छ । भाषाले हाम्रो पहिचानको निर्माण गर्नुका साथै हाम्रो भावनालाई एकअर्कासँग जोड्ने मात्र होइन अभिलेखीकरणको काम पनि गर्छ । तत्कालीन समयमा शासकले बोल्ने भाषा र जनताको भाषा फरक फरक हुने गर्दथ्यो, ती फरक फरक भाषाहरूलाई सबैले बोलिने एउटै मातृभाषा नेपाली हुनुमा उहाँको ठूलो योगदानलाई हामीले कहिल्यै भुल्नुहुन्न ।’
त्यस्तै, कार्यक्रममा तनहुँ सेवा समाजकी वरिष्ठ उपाध्यक्ष कल्पना रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल, नेपाली जनप्रगतिशील मञ्च युएईका अध्यक्ष लक्ष्मण खनाल र नमस्ते ट्राभल्सका सञ्चालक एकेन्द्रबहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा युएईमा भित्रिएका चार पुस्तकहरूको लोकार्पण पनि गरिएको थियो । जसमा गजलकार तथा मुक्तककार रोमा लम्सालको मुक्तकसंग्रह “अन्तिम भेट”, गजलकार भोजराज घिमिरेको गजलसंग्रह “नाद”, सुधिर थापाको “आर्टटेक्चरल एण्ड कन्ट्रक्सन डाटा” र जिज्ञासु पौडेलको “ज्वालामुखी” मुक्तकसंग्रह रहेका थिए ।
सोही कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव २०८१ मा उत्कृष्ट २५ कविहरूभित्र पर्न सफल कवि तथा गजलकार श्री भवानी नेपाललाई सम्मान पनि गरिएको थियो।
कार्यक्रममा तनहुँ सेवा समाज युएईले हरेक वर्ष केही न केही नौलो कार्यक्रम गर्दै आउने क्रममा यसपालि अतिथी तथा स्रष्टाहरूलाई आदिकवि भानुभक्त आचार्यले प्रयोग गर्नुभएको टोपीजस्तै टोपीहरू प्रदान गरिएको थियो । प्रत्यक्ष उपस्थित भएर २९ जना स्थानीय स्रष्टाहरूले विभिन्न विधामा आफ्ना सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो । कवि निमेष गिरीको “वरिष्ठहरू” शीर्षकमा रहेको कविताले माहौल तताउनुका साथै वाहवाही पाएको थियो।
कार्यक्रमको सञ्चालन आयोजक समितिका महासचिव सुरेन भुजेल र कवि तथा गजलकार भवानी नेपालले गर्नुभएको थियो ।
“हाम्रो तनहुँ, हाम्रो शान, सहकार्य र सेवाको अभियान” भन्ने मूल नाराका साथ सन् २०१८ मा स्थापना भएको तनहुँ सेवा समाज युएईका अध्यक्षसमेत रहनु भएका कार्यक्रमका सभापति सुदीप कार्कीले कार्यक्रमको विसर्जन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 







