दशर्क तथा स्रोताहरू चाहनाअनुसार सर्वनाम थिएटरमा मञ्चन भइरहेकाे नाटक ‘पूर्णविराम’को मञ्चन समय थप गरिएको छ ।

नाटकका लेखक तथा कलाकार सुरज पराजुलीले दर्शकहरूको इच्छा र मागअनुसार नाटकको मञ्चनको समय साउन ४ गतेसम्म थप गरिएको जनाएका छन् । पराजुलीले भने, ‘धेरै दर्शकहरूले इच्छा हुँदाहुँदै नाटक ‘पूर्णविराम’ हेर्न नपाएको अथवा हेर्ने चाहना व्यक्त गर्नुभएको हुँदा मञ्चनको मिति थपिएको हो ।

आरुष मगरको परिकल्पना तथा निर्देशनमा नाटक गत असार १७ गतेबाट मञ्चन भइरहेकाे छ ।  नाटकमा सगुन तामाङ, शू-गूँः, रिनेश बस्नेत, विवेक आचार्य, समाइरा श्रेष्ठ, मुकेश हमाल, समीक्षा पोडेल, मीना पूर्णिमा, असिम थारु, भूमिका थारू, विध्यक तिलक, बसन्तबहादुर खड्का, सरस्वती दाहाल, युवराज थापा मगर, निरबहादुर खपाङ्गी, सुरज पराजुली, सुदिश थापा मगर, सौगात त्रिपाठीलगायतको अभिनय रहनेछ ।

नाटक ‘पूर्णविराम’को मञ्च तथा पोस्टर रसिक राजले बनाइरहेका छन् भने भेषभूसा शितल थोकरले तयार गर्ने भएकी छिन् ।

निर्देशक आरुष मगरको अनुसार नाटक ‘पूर्णविराम’ आफैँमा एउटा खुला प्रश्न हो । बढ्दो पर्यावरणीय परिवर्तनले हामीलाई भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका प्रश्नको उत्तर नाटकले दिने प्रयास गरेको छ ।

राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पुरा गर्न कुन तहसम्मको कठिनाइ भोग्नुपर्छ भने कुरा नाटकमा प्रस्तुत गरिएको र मनोरञ्जनात्मक तथा वैचारिक पक्षलाई सुक्ष्म रूपले केलाइएको नाटकले दर्शकको मस्तिष्कमा विभिन्न प्रश्नको छाप छोड्ने निर्माण समूहको विश्वास रहेको छ ।

नाटकको मिडिया पार्टनरको रूपमा साहित्यपोस्ट रहेको छ ।