म अहिले रङ्गमञ्चमा जे जति गरिरहेको छु या गर्ने कोसिस गर्दैछु त्यसमा मेरा गुरु अशेष मल्लको ठुलो हात छ । उनले मलाई रङ्गमञ्च मात्र सिकाएनन् जीवन पनि सिकाए । अँ साँच्ची अशेष मल्लसँग मेरो पहिलो भेटको कसरी भयो भन्ने कुरा थोरै जोड्न चाहन्छु ।

एउटा कवि गोष्ठीमा कविता सुनाउनका लागि चन्द्रपुर, रौतहट जानुपर्ने थियो । कवि असीम सागरले बारम्बार फोन गरिरहेका थिए । किनभने मैले ढिला गरिरहेको थिएँ । बल्लतल्ल बल्खुको सुमो पार्क पुगेँ । त्यहाँ पुगेपछि पहिलो पटक अशेष मल्लसँग मेरो भेट भयो । उनले निकै समयदेखि चिनेको झैँ गरी ‘ल ढिलो गर्नेलाई सजाय, कान समाएर उठबस गर’ भन्दा म छक्क परेँ । लाज पनि लाग्यो । तर ढिला गर्नुको सजाय त भोग्ने पर्‍यो भन्ने ठानेर एक दुई पटक उठबस गरेँ ।

चन्द्रपुर पुगेर फर्कंदासम्ममा अशेष मल्लसँग निकै राम्रो सम्बन्ध बनिसकेको थियो । मैले रङ्गकर्ममा रुचि देखाएपछि उनले नै सर्वनाममा नाट्य प्रशिक्षण हुने जानकारी दिएका थिए । त्यसपछि हाम्रो भेट भई नै रह्यो तर यसरी उनका स्मृतिहरूलाई शब्दमा उतार्ने गरी भेट भएको थिएन । यो भेटघाटमा उनले आफ्नो जीवन र नाटकसँग सम्बन्धित विभिन्न घटनाहरू सुनाए । पहिलो घटना बालकृष्ण समसँग भएको भेट रहेको छ ।

० ० ० ०  

काठमाडौंमा पहिलो दर्शक बालकृष्ण सम

विभिन्न घटनाहरू मध्ये २०३३ सालको एक घटना उनी बिर्सन सक्दैनन् । अशेष मल्लद्वारा लिखित पहिलो नाटक ‘तुवाँलोले ढाकेको बस्ती’ देखाउन ३०/४० जनाको नाट्य समूह धनकुटाबाट काठमाडौं आएको थियो । ‘त्यो बेला धनकुटाबाट काठमाडौं आउनु भनेको न्युयोर्क अथवा पेरिस जानु जत्तिकै थियो ।’ बिगत्को त्यो यात्रालाई स्मरण गर्दै उनी भन्छन्, ‘धनकुटाबाट धरान नै पनि हिँडेर जानुपर्थ्यो । यातायातको राम्रो व्यवस्था थिएन । सिधा काठमाडौं जाने बस पाइँदैन थियो । जनकपुर हुँदै आउनु पर्थ्यो ।’ यसरी लामो यात्रा गरेर नाट्य समूह काठमाडौं आयो र प्रज्ञा भवनमा उक्त नाटक प्रस्तुत गरियो । त्यसबेला उनी १९/२० वर्षका भर्खरका केटा थिए ।

नाटकको पहिलो दिनको पहिलो सो प्रस्तुत गर्न स्टेजको भित्रपट्टि लुगा लगाएर उनको समूह तयार भएर बसिरहेको थियो । अशेष मल्ल नाटकका नायक थिए । उनी केही ठाउँमा फाटेको गाउँले पहिरन लगाएर बसिरहेका थिए । यत्तिकैमा एकजना अग्लो मान्छे आएर ‘यहाँ धनकुटाबाट आएका कलाकार को हुन् ?’ भन्ने प्रश्न राखे । मल्लले ‘हामी नै हौँ’ भन्ने उत्तर दिए । अग्लो मान्छेको मुखबाट ‘म बालकृष्ण सम हो’ भन्ने उत्तर सुन्नासाथ उनी आत्तिए । उनलाई सगरमाथा नै आफ्नो अगाडि खडा भएको जस्तो लाग्यो । उनले हत्त न पत्त ढोग गरे । समले उनलाई शुभकामना दिँदै ‘म टिकट काट्न जान्छु’ भन्दा अशेषले ‘हजुरले किन टिकट काट्नु पर्‍यो र ?’ भने । समले उनलाई ‘नाटक सित्तैमा हेर्नु हुँदैन’ भनी बताए । काठमाडौंमा आफ्नो पहिलो दर्शकको रूपमा बालकृष्ण सम पाएको कुरालाई अशेष आफ्नो सौभाग्य बताउँछन् ।

० ० ० ०

विजय मल्लको थर्काइ र हरिभक्त कटुवालको हौसला

बेलुका नाटक सकियो । सबैले बधाई पनि दिए । तर एकजनाले उनलाई ‘तिमीले लेखेको होइन नाटक ?’ भन्दै प्रश्न गरे । उनले प्रतिउत्तरमा ‘हो’ भन्ने जवाफ दिए । त्यसपछि उक्त व्यक्ति ‘यस्तो थोत्रो नाटक पनि लेख्ने हो ?’ भन्दै रिसाए । ‘यसले नेपाली नाटकको इतिहासलाई ५० वर्ष पछि धकेलिदियो,’ उनले भने, ‘यस्तो गाउँले नाटक गर्ने हो ? के छ यो नाटकमा ? अहिले नाटक कहाँ पुगिसक्यो ।’

अशेष एकछिनमै कालो निलो भए । यस्तो भन्ने व्यक्ति विजय मल्ल थिए । त्यसबेला अशेष आफूलाई पनि नाटक कस्तो हुनुपर्छ भन्ने ज्ञान नभएको बताउँछन् । यद्यपि बिजुली, बाटो नभएको गाउँमा बसेर उनले यस्तो नाटक कसरी लेखे होलान् । न उनले कसैको नाटक पढेका थिए, न हेरेका नै थिए । काठमाडौंको त्यत्रो हलमा विजय मल्लले त्यसो भनेपछि उनलाई निकै चिन्ता लाग्यो । उनी निराश पनि भए । कसैले उनीहरूको यो संवाद परबाट नियालिरहेको थियो । ती व्यक्तिले अशेषलाई च्याप्प समाएर ‘होइन नाटक राम्रो छ । प्रयास गर्दै गर ।’ भन्दै ढाडस दिए ।

अशेषको नाट्य समूह न्युरोडको लजमा बस्ने गर्थ्यो । उनको समूह कमलादीबाट त्यसतर्फ अगाडी बढ्यो । ती व्यक्ति पनि उनलाई सम्झाउँदै उनको समूहसँगै हिँडे । को रहेछ उक्त व्यक्ति भनेर बुझ्दा हरिभक्त कटुवाल रहेछन् । बाटोमा कुरा गर्दै जाँदा उनले धेरै कुराहरू सम्झाए । यसैबिच हरिभक्तले भनेका केही कुरा अशेषलाई अझै पनि सम्झना आइरहन्छ । ‘अब नयाँ पिँढी आउनुपर्छ’ हरिभक्तले भने ‘अब अशेष मल्लले यो हरिभक्त कटुवालको काँधमा चढेर माथि उठ्नुपर्छ ।’

विजय मल्लले उनलाई आधुनिक नाटक लेख्न सुझाव दिएका थिए । उनलाई यो कुराले निकै समयसम्म चिमोटिरह्यो । उनलाई लागिरह्यो ‘आखिर के हो आधुनिक नाटक भनेको ?’ अहिले उनलाई ‘विजय मल्लले त्यसो नभनेको भए म त्यही धारको नाटक मात्र गर्ने थिएँ होला । मोडर्न आँट गर्ने सेन्स आउँदैन थियो होला ।’ जस्तो लाग्छ ।

० ० ० ०

मजाकिया भूपी

केही समयपछि पढाइका लागि उनी काठमाडौं नै बस्ने भए । काठमाडौं बस्दै गएपछि उनको धेरै साहित्यकारसँग संगत भयो । काठमाडौं बस्ने क्रममा उनलाई सबै भन्दा आदर लाग्ने केदार मान बेथित, बासु शशी र भूपी शेरचन थिए । भूपी शेरचनलाई अशेषले पहिला देखि नै रुचाउँथे ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा पढ्ने समयमा उनको एउटा समूह थियो । त्यसबेला उनी बिए पढ्दै थिए । महेन्द्र मोरङ पूर्वाञ्चलमा बिए पढाइ हुने एउटा मात्र कलेज थियो । कलेजमा हजारौँ विद्यार्थी अध्ययन गर्थे । त्यसमध्ये कविता लेख्नेहरूले १२/१५ जनाको एउटा समूह बनाएका थिए । कृष्ण भूषण बल, विष्णु विभु घिमिरे, इन्दिरा प्रसाईँ, महेश प्रसाईँ, नारायण तिवारी लगायत ३० का दशककरहरूले उक्त समूह बनाएका थिए ।

उनी भन्दा अगाडिको पुस्तामा दुइटा धार थियो । एउटा मोहन कोइरालाको धार र अर्को भूपी शेरचनको धार । मोहन कोइरालाको धार अमूर्त खालको थियो भने भूपीको सरल तथा सहज थियो । उनीहरूलाई भूपीले छोयो । भूपी भनेको आदर्श जस्तो थियो ।

भूपीसँग अशेषको भेट गजब तरिकाले भयो । प्रज्ञामा नाटक देखाएपछि उनी धनकुटा फर्किएनन् । उनले टियुबाट नेपालीमा एम ए गर्ने निर्णय लिए । कीर्तिपुर क्याम्पसको अडिटर्यम हलमा नयाँ विद्यार्थीलाई पुराना विद्यार्थीले स्वागत कार्यक्रम आयोजना गरे । त्यो हल देखेपछि उनी चकित परे । उनलाई ठुलो चिज प्राप्त गरे जस्तो भयो । किनभने उनलाई नाटक गर्न चाहिने ठाउँ मिल्ने सम्भावना थियो । उनले सपना देख्न थाले । उनी त्यहाँको विद्यार्थी जो थिए । म यहाँ नाटक गर्छु, कवि गोष्ठी गर्छु भन्ने लाग्यो । उनी सिधै क्याम्पस चिफकहाँ गए ।

क्याम्पस चिफसामु आफ्नो कुरा राख्दै उनले भने, ‘म यहाँको विद्यार्थी हो । यो हलमा म केही गर्न चाहन्छु ।’ चिफले ‘के गर्छौ ?’ भन्दा उनले नाटकहरू गर्न चाहन्छु, कहिलेकाहीँ कवि गोष्ठी गर्छु भन्दै आफ्नो चाहना व्यक्त गरे । चिफले मन्जुरी मात्र दिएनन् ‘खाजा खर्च म मिलाइदिन्छु’ भन्ने कुरा समेत गरे ।

नाटक गर्न समय लाग्ने भएकाले उनले कवि गोष्ठी गर्ने निर्णय लिए । यसको लागि कविहरूलाई ल्याउनुपर्‍यो । तर, उनले कविहरूलाई चिनेका थिएनन् । नाम टिपेर उनी हरेक कविको घरमा आफैँ गए । माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, केदार मान बेथित, बासु शशी, मोहन कोइराला जस्ता नाम चलेका कविहरूको घरमा उनी पुगे ।

यस क्रममा उनी भूपी शेरचनको घरमा पनि पुगे । पहिलो भेटमै उनले राम्रो प्रतिक्रिया दिए । त्यसपछि भूपी शेरचनसँग पारिवारिक सम्बन्ध नै बनेको उनी सुनाउँछन् । उनले अभिभावक जस्तो व्यवहार गरे । भूपी निकै मजाकिया किसिमका थिए । २४ घण्टा हाँसिरहने गर्थे । उनी बारम्बार ‘मलाई धेरै रोग छ’ भन्थे । तर उनी डाक्टरलाई देखाउन जान चाहँदैन थिए । भूपी भन्थे, ‘जँचाउन जाँदा डक्टरले १० वटा रोग देखाइदिन्छ । बेकारमा साइकोलोजीकली असर गर्छ । जे सुकै होस् ।’

‘भूपीसँग १ घण्टा भेट्यो भने आधा घण्टा टुक्का भन्ने गर्नु हुन्थ्यो ।’ अशेष भूपीलाई सम्झँदै भन्छन्, ‘यो कुराको अनुमान नै छैन दाइ भन्यो भने अनुमान त हनुमानले पनि गर्न सक्दैन भन्ने कुरा गर्नु हुन्थ्यो ।’ यस्तो भन्न भूपी माहिर थिए । हरेक शब्दमा उनी टुक्का जोड्ने गर्थे । गम्भीर कुरामा पनि उनी मजाक गर्थे । आफू बिरामी परेर अन्तिम अवस्थामा हुँदा उनले मजाक गरेको अशेष सम्झन्छन् ।

यो भूपीको मृत्युभन्दा केही दिन अगाडीको कुरा हो । उनी वीर अस्पतालमा भर्ना भएका थिए र अशेष सधैँ जसो पुग्ने गर्थे । उनको निधन हुनुभन्दा १/२ दिन अघि अशेष बसिरहेका थिए । भूपी मुखमा अक्सिजन लगाएर सुतेका थिए । हातमा सलाइन थियो । नृवेन्द्र पुरुष यादी भन्ने एकजना कवि त्यही बेला प्रवेश गरे । ‘दाइ नमस्कार दाइसँग त भेटघाट नै भएन’ उनले भने । सास फेर्न गाह्रो भइरहेका भूपीले मास्क खोलेर लामो सास फेर्ने गर्थे । त्यस्तो अवस्थामा पनि अड्की अड्की ‘भेटघाट ? भेटघाट ? अब एकदुई दिनमा आएको भए घाटमा मात्र भेट हुन्थ्यो ।’ भनेका थिए । मृत्युको नजिक रहेका भूपीले त्यस्तो बेलामा पनि मजाक नगरी छोडेनन् ।

० ० ० ०

मितव्ययी रङ्गमञ्च

काठमाडौंमा आएर अशेष विश्व विद्यालयमा बसे । तर, उनको उद्देश्य पढ्नु भन्दा पनि ठुलो साहित्यकार, नाटककार, निर्देशक हुने थियो । जुन सपना धनकुटामा पूरा हुन सक्दैन थियो । विश्व विद्यालयमा बस्दा उनले धेरै नाटक लेखे र मञ्चन पनि गरे । विश्व विद्यालयमा होस्टलको पैसा तिर्न पर्दैन थियो तर खाने खर्च हप्ताको १५ रुपैयाँ जति जुटाउनु पर्थ्यो । १५ रुपैयाँ भयो भने २ छाक खाने बन्दोबस्त हुन्थ्यो । यद्यपि त्यो समयमा १५ रुपैयाँ कमाउन कठिन थियो । गोरखापत्र र रेडियो नेपालले आफूलाई बचाएको उनी बताउँछन् । ‘गोरखापत्रमा एउटा कविता छापिएको १५ रुपैयाँ दिइन्थ्यो ।’ उनी भन्छन्, ‘रेडियो नेपालबाट शनिवारको साढे १ बजे प्रसारण हुने रेडियो नाटक निकै चर्चित थियो । त्यहाँ मेरो पहिलो नाटक ‘घरभित्रका आकाश’ प्रसारित भयो । एउटा नाटकको ३० रुपैयाँ आउँथ्यो । कलाकारलाई चाहिँ १५ रुपैयाँ दिन्थ्यो ।‘ जसले उनलाई महिनाभरि पुग्थ्यो । त्यसपछि उनले धेरै नाटकहरू लेखे ।

तर पढाइ सकिएपछि समस्या देखा पर्न थाले । आर्थिक समस्याले गिजोल्यो । एम ए सकिएपछि प्रमाण पत्र लिन जाँदा दिइएन । उनको १५००/२००० जति पैसा तिर्न बाँकी रहेछ । अब कहाँबाट ल्याउने त्यत्रो पैसा भनेर उनी निराश भए । उनी चिन्तित भएर पुतलीसडकमा हिँडिरहेका थिए । अचानक एउटा घरको झ्यालबाट ‘ए अशेष !’ भन्ने कसैको आवाज आयो । यसो हेर्दा झ्यालमा जगदीश घिमिरे पो रहेछन् ।

घिमिरेले ‘कहाँ हिँडेको माथि आऊ, तिमीलाई खोजिरहेको थिएँ’ भन्दै बोलाए । कोठामा यादव खरेल र कवि हेम हमाल पनि रहेछन् । तीन जनाले कम्याट भन्ने एउटा संस्था खोलेका थिए । जसले विभिन्न सञ्चारका काम गर्ने रहेछ । अशेषलाई देख्ने बित्तिकै ‘तिमीलाई कयौँ दिनदेखि खोजिरहेका थियौँ’ उनीहरूले बताए । ‘किन खोज्नुभयो दाइ मलाई ?’ अशेषले जिज्ञासा राखे । उनीहरूले ‘परिवार नियोजनको रेडियो नाटक लेख्नुपर्ने, एउटाको २०० रुपैयाँ आउँछ । ल लेख ।’ भनेपछि अशेष निकै खुसी भए । ४०/५० वटा नाटक लेख्नु पर्ने थियो । उनी त्यहीँ रहेको एउटा टेबलमा सुरु भइहाले । केही दिनमा उनले नाटकहरू लेखिसके र पैसा बुझाएर सर्टिफिकेट लिए ।

सर्टिफिकेट लिएर त्यहाँको चौरमा उनी पल्टिए । उनको अघि एउटा ठुलो प्रश्न चिन्ह खडा भयो । ‘धनकुटा फर्किऊँ कि काठमाडौं बसूँ ?’ उनी दोधारमा परे । यहाँ बसूँ भने न गडफादर, न साथी, न पैसा थियो । धनकुटा फर्किऊँ भने करियर सबै समाप्त हुन्छ भन्ने डर थियो ।

यहाँ बालकृष्ण सम, विजय मल्ल जस्ता धरोहरसँग कसरी प्रतिस्पर्धा गर्नु ? जस्ता प्रश्नले अशेषलाई केही दिनसम्म छट्पट नै भयो । उनी रातभरि सुत्दैन थिए । नाटक गर्न हल चाहिन्थ्यो । तर, हलको भाडा महँगो थियो । त्यसमाथि प्रकाश, सङ्गीत लगायत विभिन्न खर्चिला कुरा पनि थिए । चिन्तित रहेका अशेषलाई एकदिन ‘नाटक गर्न के हल नै चाहिन्छ त ? प्रकाश तथा सङ्गीत नै चाहिन्छ त ?’ भन्ने लाग्यो ।

‘सरल तथा सहज किसिमको जहाँ पनि गर्न सकिने नाटक हुन सक्दैन र ?’ भन्दै उनले प्रश्नको उत्तर आफैँसँग खोजे । र मितव्ययी रङ्गमञ्चको अवधारणा उनको मनमा आयो । ‘नाटकले नै स्टेज सिर्जना गर्छ र त्यस्तो सिर्जना गरेको ठाउँमा हामी नाटक गर्छौँ भन्ने विचार आयो ।’ उनी भन्छन्, ‘यसको मतलब चौतारीमा पनि नाटक हुन्छ । सडकमा पनि नाटक हुन्छ । सानो कोठामा पनि नाटक हुन्छ ।’ त्यही किसिमको नाटक उनले लेख्न थाले । साथीहरू मिलेर विद्यालयको सानो कोठामा, सडकमा नाटक गर्न थाले ।

केही समयपछि साझा प्रकाशनबाट यस्ता नाटकहरूको सङ्ग्रह ‘सडकदेखि सडकसम्म’ छापियो । उनले साझा पुरस्कार पनि पाए । सङ्ग्रह देशभरि पुग्यो । यस्ता नाटक देशभरि हुन थाले । हल, प्रकाश या सङ्गीतको अभावमा कोही रोकिनु परेन । यस्तो नाटकको एउटा लहरै चल्यो ।

० ० ० ०

पहिलो कृति मुक्तक सङ्ग्रह

हालसम्म अशेष मल्लका २४/२५ वटा कृतिहरू प्रकाशित भएका छन् । उनको रुचिको विषय भनेको कविता हो । उनी कवितालाई दुःखको साथी भन्ने गर्छन् । नाटककारको रूपमा परिचित भए तापनि उनलाई कथा पनि उत्तिकै मन पर्छ । उनका ३ वटा कथासङ्ग्रह नै छन् । उनी मुक्तक पनि उस्तै लेख्थे । कुनै बेला उनका मुक्तक विद्यार्थीहरूलाई कण्ठै हुन्थ्यो । उनको पहिलो कृति नै मुक्तक सङ्ग्रह हो । गगन विरही भन्ने साथीले अशेषको मुक्तक सङ्ग्रह ‘अज्ञात प्रदेशहरूमा’ प्रकाशित गरेका थिए । त्यो २/३ दिनमा हारालुछ नै भयो । १००० प्रति बिक्री भएपछि १५/१६ दिनमा दोस्रो संस्करण निस्कियो । ‘त्यतिबेला मुक्तकको एउटा लहर जस्तै आएको थियो ।‘ उनी भन्छन् ‘कवि गोष्ठीहरूमा या कुनै कार्यक्रमहरूमा मुक्तक भन्ने चलन थियो ।’

० ० ० ०

धनकुटाबाट काठमाडौंसम्म

धनकुटाबाट नाटक काठमाडौंसम्म लिएर आउनुमा एउटा ठुलो पागलपन थियो । धनकुटाको एक विद्यालयको सानो हलमा उनीहरूले ‘तुवाँलोले ढाकेको बस्ती’ भन्ने नाटक प्रस्तुत गरेका थिए । त्यो बेला धनकुटामा बिजुली थिएन । पेट्रोम्याक्स प्रयोग गरेर नाटक देखाउनु पर्थ्यो । स्पट लाइट देखाउनु पर्‍यो भने तोरीको तेलको टिनको डब्बामा प्वाल पारेर त्यहाँभित्र पेट्रोम्याक्स राखेर कागजको गोलो बनाएर स्पट लाइट बाल्ने गर्नुपर्थ्यो । कपडा पसलमा पाइने झिलझिले कागजलाई निलो रङ्ग्याएपछि रातको दृश्य रातो बनाएपछि अर्को दृश्य गर्दै बनाउनु पर्थ्यो ।

यो त भयो प्रकाशको जोहो । ध्वनिको लागि पनि उनले निकै मिहिनेत गरेका थिए । गाउँमा रेडियो भए तापनि टेप रिकर्डर थिएन । त्यसको बारेमा धेरैलाई थाह थिएन । सुशील कर्माचार्य भन्ने उनका काकाले टेप रिकर्डर किनेर ल्याए । उनले ‘ल नाटकमा प्रयोग गर’ भन्दै अशेषलाई प्रयोग गर्ने अनुमति दिए । ‘तैले जे बोलिस् त्यही आउँछ’ भन्दै त्यसको विशेषता पनि बताए । अशेष छक्क परे । बिहानको दृश्यमा ‘कुखुरा काँ’ गरेको आवाज राख्नुपर्‍यो भनेर उनी आफ्नो कुखुराको खोरमा बिहान ३ बजेदेखि टेप रिकर्डर खोलेर बसिरहन्थे । २/३ दिनपछि बल्ल कुखुराले ‘कुखुरी काँ’ गर्‍यो र त्यो आवाज उनले नाटकमा प्रयोग गरे । यस्तो सुनेर दर्शकले निकै बेर थपडी बजाएका थिए ।

नाटकमा पहिलो पटक टिकट सिस्टम राखिएको थियो । नाटक हेर्न १० पैसा, ५ पैसा तिर्नुपर्थ्यो । गाउँ गाउँबाट मानिसहरू आएर नाटक हेर्न थाले । एडभान्स बुकिङ पनि भयो । ‘१५/२० दिन नाटक चलेपछि हामीलाई प्रसिद्ध नाटककार प्रसिद्ध कलाकार भयौँ जस्तो लाग्यो ।’ उनी भन्छन्, ‘त्यसपछि काठमाडौं जाऊँ देखाउन भन्ने सल्लाह भयो ।’

यद्यपि काठमाडौं भनेको कहाँ हो ? काठमाडौं गएर कहाँ देखाउने ? भन्ने थाह थिएन । ३०/४० जनाको समूह २ दिन लगाएर धरान पुग्यो । पैसा नभएका कारण धरानमा नाटक देखाए । विराटनगर हुँदै ठाउँ-ठाउँमा नाटक देखाउँदै पैसा भेला पर्दै काठमाडौं आए ।

नाटकको एउटा रमाइलो प्रसङ्ग पनि छ । नाटकमा तिहारको दृश्य रहेको थियो । जसमा लोकगीत र लोक नृत्यहरू समावेश थियो । त्यसमा समावेश भएको एउटा गीत थियो ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनोकामना’ । त्यो गीत त्यति बेलाको चर्चित लोकगीत हो । नाटकका निर्देशक अशेषका गुरु उपेन्द्र दुखी थिए । उनी आफैँ गाउने र नाच्ने गर्थे । उक्त गीत र नाच धनकुटामा निकै हिट भयो । नाटक सकिएको केही वर्षपछि अचानक रेडियोबाट त्यही गीत आउन थाल्यो । अर्कैले गाएको थाह पाएपछि उनी छक्क परे । यद्यपि लोकगीत लोकले गाउने गीत हुनाले कसैको व्यक्तिगत नहुने उनी बताउँछन् ।

काठमाडौं आएपछि सत्यमोहन जोशी लगायतले केही नसोची ‘ल नाटक गर’ भने । आएको पैसाबाट खर्च कटाएर ५०/५० गर्ने सर्त सहित नाटक देखाउने अनुमति दिइयो ।

० ० ० ०

उपेन्द्र दुखीको पिटाइले देखाएको बाटो

उनी सानो हुँदै देखि नाटक गर्ने गर्थे । उपेन्द्र दुखी धनकुटाको नाम चलेका कलाकार/निर्देशक थिए । उनी धनकुटामा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिरहन्थे । जसमा नाटक पनि हुन्थ्यो । एउटा सांस्कृतिक कार्यक्रममा उनले अशेषलाई ‘ल एउटा प्रहसन तयार गर’ भने । त्यसबेला अशेष ७/८ कक्षामा पढ्थे । उनले बाल सुधार सङ्घ खोलेका थिए । टोलभरिका केटाकेटी संस्थामा आबद्ध थिए ।

उपेन्द्र दुखीले सांस्कृतिक कार्यक्रमको लागि १५ मिनेटको प्रहसन देखाउन भनेपछि उनी खुसी भए । संस्थामा रहेका १५/२० जना सबैलाई खेलाउन पाइने भइयो भनेर मक्ख परे । सबैलाई समेट्न सकिने कथा उनले सोच्न थाले ।

यसको लागि उनले बिहीबारे हाटको कल्पना गरे । जब प्रहसन देखाउने पालो आयो । धेरै मान्छे भएकाले गज्याङमज्याङ भयो । त्यो प्रहसनले नाटक मात्र बिथोलिएन कार्यक्रम नै बिथोलियो । त्यसपछि उपेन्द्र दुखीले पिटेको उनी अझै सम्झन्छन् । ‘अब देखि तँलाई कहिले पनि मौका दिन्न । तैंले गर्दा सारा कुरा बिग्रियो’ भन्दै उपेन्द्र निकै रिसाए । आफ्नो गल्ती महसुस गरेर अशेष निकै रोए, माफ पनि मागे । त्यो घटना नघटेको भए राम्रो नाटक गर्ने तिर जान सक्दिन थिएँ होला जस्तो उनलाई लाग्छ । त्यसपछि कसरी राम्रो गर्न सकिन्छ भन्ने तर्फ उनले ध्यान दिन थाले ।