बिहान निकै हतार-हतार दौडिन्छ । के-को हतार हुन्छ उसलाई, कहाँ जानुपर्ने हुन्छ कुन्नि ? कसको आगो निभाउनु पर्ने हुन्छ, कुन ठाउँको कस्तो रोग बोकेर कुद्नु पर्ने हुन्छ होला खोइ ? एम्बुलेन्स र दमकल भन्दा छिटो-छिटो भाग्छ, भगौडे । बिहानै अलार्मलाई थर्काएर मलाई उठाउन भन्छ । ८ बजेको अलार्मको मुख पाँच मिनेटका लागि बन्द गरेको हुन्छु, साँढे नौ बजे बजाइदिन्छ । कति पापी हो, निर्दयी, लाज नभाको दुष्ट !! निद्राको हत्या गरेर अपराधी अझ मलाई अत्त्याउन थाल्छ । म सवा दस बजे हतार-हतार १० बजे अफिस पुग्ने गरी निस्किन्छु ।

यसपछि दैनिकीको जात्रा । अफिससम्मको यत्रा !! ए यात्रा । बरु संसद्मा सिट पाउन सकिएला अहँ तर गाडीमा पाइँदैन । मरे पाइँदैन ! च्यापा-च्याप, कोचा-कोच, खाँदा-खाँद !! मुला हाले सिन्की बनिसक्ने । साग हाल्ने गुन्द्रुक । टमाटर हाले त झन्, एकै छिनमा तयार हुन्छ स्वादिलो अचार । पसिनाको नुनसँग ट्वाक्क !! तपाईँलाई यो रेसिपी मनपरे मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला । बेल आइकन दबाउन नभुल्नु होला । टिडिङ्ग !! पछाडि सर्नु न ! ओ हेलो दाइ पछाडि सर्नु न ! जिन्दगीमा अगाडी बढ्ने त वातावरण नै छैन भन्या । आज फेरी दिनले मलाई चमेरा बनाउँछ । म झुन्डिन्छु !! मलाई अचार बनाउँछ, म खाँदिन्छु । मलाई चटनी बनाउँछ, म पिसिन्छु । बिचरा म । कठै ।

सिटमा गजक्क परेर बसेकाहरूको अनुहार हेर्छु, पुलुक्क । कोही फुस्फुसाई रहेका छन्, कोही खुस्खुसाईरहेका छन् । ए लौ न, मलाई नै पो हेर्दैछन् । वरपर हेर्छु सबै मलाई नै हेरेर खुस्स फुस्स गरिरहे झैँ लाग्छ । ला ! के भएछ ? नाकमा पाप्रा त फुरफुर गरिरहेको छैन । असहज मान्दै सुटुक्क कसैले नदेख्नेगरि नाक छाम्छु, सबै ठिकै छ । चित्त नबुझेर सुटुक्क चोर औँला खाँद्छु, केही भेटिँदैन  । आँखाका चिप्रा, कपाल, गाला सबैतिर खोज तथा अनुसन्धान कार्यक्रम चलाउँछु । कुनै खजाना फेला पर्दैन । कपडा पनि सुल्टै छन्  । कतै ध्वार्र परेको पनि देखिँदैन । मैले प्वार्र पारेको पनि होइन ।  आखिर किन हाँसिरहेका छन् त यी हाइनाहरु ?

मानौँ म कुनै सर्कस देखाइरहेको छु । या अगाडी उभिएर बडो मजाकिया तरिकाले चुटकिलाहरु सुनाइरहेको छु । कोही देख्न नसकेर होला, नाकका पुरा फुलाएर झ्याल बाहिर हेर्न थालिसके । यी सहरका मान्छेहरू एकैपटक बौलाएछन् कि क्या हो ? एक त ढिलो भइरहेको बेला थिलथिलो । अपराध नै थाह नपाइ जेल चलान भएको कैदी जस्तो हाल बन्दै थियो । बेहाल बन्दै थियो  । शरीर लल्याक लुलुक आँखा पल्याक पुलुक भइरहेको थियो । पिसाब च्यापे जस्तो भइरहेको छ । रक्तसञ्चार भन्ने शब्दबाट सञ्चार भन्ने शब्द कतै हराउँदै जाँदै थियो । वातावरण मेरो अधीनमा थिएन ।  मिनेट-मिनेट युगमा परिणत हुँदै थियो । बिहान ५ मिनेटमै घन्टौँ हुइँकिने समय अहिले कछुवा गतिमा परिणत भएको छ । अप्ठ्यारो परेको बेला या कसैलाई पर्खिँदा समय किन घिस्रिन्छ मलाई थाह छैन ।

आखिर के भइरहेको छ यहाँ ? झट्ट मलाई याद आउँछ एउटा कुरा चट्ट । आबुई ! कतै मेरो पाइन्टको फस्नर त खुल्ला छैन ? पोस्ट अफिसको ढोकाले धोका दिएको होला त ? गोप्य अङ्गको झ्यालखानाको झ्याल खुलेकै हो त ? लु सकियो ! खत्तम ! टाटा !! बाई बाई !! त्यही होला, पक्कै  पनि । लाजले मलाई भुतुक्कै बनायो । भुतुक्कैले मलाई लाज बनायो । चिसो हावा भित्र पसेर अझ यो कुरालाई पुष्टि गरिरहेको छ । निहुरिएर हेर्ने आँट पनि आइरहेको छैन । हात लगेर जाँच गर्न पनि कठिन भइरहेको छ । ती अनुहारमा आँखा डुलाउन सकस हुन थालिसक्यो । अब के गर्ने होला ? अब त निधारको पसिना बगेर त्यहीँ पुगेर विश्राम गर्न थाल्यो । जिस्काउन लाग्यो ।  थुक्क लाज पचेको नकचरो । कत्ति न हतार हुने बेइज्जतीलाई, तेरीमा मुर्दार ।

घरी-घरी यसो फस्नर तिर आँखा पुर्‍याउन खोज्छु, अहँ देखिए पो । अगस्त्य मुनिको जस्तो भुँडीले जति बल गरेपनि त्यहाँसम्म देख्न दिए त संसारको आठौँ आश्चर्य भइहाल्थ्यो नि । एउटा चेनले मेरो चैन चपाइरहेको छ । फुस्किएको फस्नरले मलाई फसाएर फुस्काइरहेको छ मेरो दिमाग । त्यो भागलाई घरीघरी सिटको ओझेलमा पारेर उभिन्छु तर ठेलेर फेरी देखाइदिन्छन् । सतर्क भएर म सिटलाई समाएर उभिन्छु, माथिको डन्डी समाउँदा के हुन सक्छ बुझिहाल्नु भयो होला । बोनसमा त्यसमाथि पेटका भुत्ला देखिन्छन्, अझ नाइटोको रुवा फ्याक्ट्री पनि देखिन सक्छ । बेरोजगार हुँदा नाइटोमा जम्मा भएको रुवा बेचेर ठुलो व्यापारी बन्छु भनेर नसोचेको भने होइन, अहिले लाज लाग्छ ।

घरी-घरी छटपटिँदै, घटघटी थुक निल्दै तिनीहरूको अनुहार हेर्छु । कोही अझै फुस्फुसाउदै छन् । घरीघरी पिसाब लागे जस्तो हुन्छ, घरीघरी पेट हुँडले जस्तो हुन्छ । हुँडलिएको त मेरो मन थियो ।  कोही फोनमा अरूलाई पनि सुनाउँदै छन् सायद । मै तिर हेर्दै बोल्दैछन् केरे । कोही ‘यो बौलाहा !‘ भन्ने ठानेर हेर्न छोडे सायद । दिन, महिना र वर्षहरू बितेपछि बल्ल-तल्ल आयो म झर्ने स्टेसन । एकपटक भगवान्लाई धन्यवाद भन्दिए  । भुक्क भएको मुटु ढुक्क भयो । चिसो भएको मनमा हिटर बल्यो । ताता भएका कान सेलाउनतिर लागे । हस्यांग फस्याङ गर्दै म फुत्त झरेँ । तिमेरलाई पख्लाउ अपराधी हो भन्दै मनमनै गाली गरेँ । गाडी हुंइकियो, म रन्किए । छिटो-छिटो खुट्टालाई लेफ्ट र राइट गर्न लगाएँ ।

गाडी अगाडी भएपछि वरिपरि पल्याकपुलुक हेरेर यसो चेन लगाउन खोज्छु, अरे चेन त चैनमा छ । ढोका त बन्दै छ, झ्याल त लागेकै छ । किन हीही गरे होलान् त ती हाइनाहरु ? मलाई नै हेरिरहेको जस्तो लागेको थियो, कसलाई हेर्दै थिए देख्न नसकेकाहरू ? सोच्दा-सोच्दै अफिस पुगेर बाथरुमको पानीले कालो भएको बाथरुमको दुई थरीको चप्पल खोलेर निकै बेर घट्नाबारे सोचेँ । म यसै नर्भस भएको हुँला, सायद उनीहरू आफ्नै तालमा हाम फालिरहेका थिए । आफ्नै कुराको छुरा चलाउँदै थिए, डाबर लाल दन्त मन्जनले माझेको दाँत आफ्नै कुनै कारणले देखाउँदै थिए ।

म पनि लास्ट साइको छु भन्या ! खत्तम छु ! बिना अर्थमा फतफताएछु ।