साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई राजनीतिकर्मी राजेन्द्र महतोको पुस्तक ‘अधुरा क्रान्तिः सङ्घर्ष मातृभूमिका लागि’ प्राप्त भएकाे छ ।
पुस्तकमा महतोले आफ्नो राजनीतिक जीवन र मधेशमा उठेर राजनीतिक तथा समाजिक आवाजहरुले प्रस्तुत गरेका छन् ।
‘नेपालका मधेशी, जनजाति, आदिवासीलगायत सबै राष्ट्र अधिकार र पहिचान सम्पन्न नभएसम्म देशले उन्नति गर्न सक्दैन ।’, पुस्तकको निष्कर्षमा महतो लेख्छन्, ‘यो सत्यलाई नश्लीय सरकारले लुकाएर राख्यो । त्यसकारण हामी पछि पर्यौं । अन्धकारमा रुमलियौं । नेपाल देश नेपालका रुपमा राखिरहन यसलाई सबै नेपालीको बनाउनु पर्छ । यसको विकल्प छैन । अबको क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव छैन । तसर्थ परम्परागत औपनिवेशिक चिन्तन सोचको अन्त्य गरी देशको गौरव र वैभव प्राप्त गर्ने बाटोमा हिडौं ।’
त्यस्तै, आफ्नो राजनीतिक जीवन र मधेशमा उठेको विद्रोहको समवेत आवाजलाई हृदयबाट पस्किएका महतोको ‘अधुरा क्रान्ति’ले मधेशको मनोदशा अझ नजिकबाट बुझ्न सघाउने बताएको छ । पुस्तकमा प्रकाशकका तर्फबाट लेखिएको छ, ‘२०७२ को संविधानले मधेशको आवाजलाई समेट्न सकेन । मधेशमा सदियौँदेखि उठेको विद्रोहका आवाजहरु संविधान जारी गर्ने बेला सँघारमै छुटे । परिणामतः मधेश आन्दोलित भयो । मधेशको माटोमा उठेको पहिचानको आवाजलाई सिंहदरबारको सत्ताले बिटुल्याउन हरसम्भव प्रयास गरिरह्यो । परिवर्तनका हरेक आन्दोलनमा सर्वदा अग्रभागमा रहने मधेश आफ्ना हक, अधिकार र न्यायका लडाइँमा भने सधैँ एक्लो परिरह्यो । तर, राजेन्द्र महतो हार मान्न तयार छैनन् । सिंहदरबारले सुन्न नचाहेको आवाजलाई अझ टड्कारो तुल्याउँदै सुषुप्त अवस्थामा पुगेको मधेश विद्रोहलाई पुनःजागृत तुल्याउने नयाँ चरणको आन्दोलनमा छन् । ’
अक्षर काकाको सम्पादन रहेको पुस्तकलाई पाइन प्रकाशन गृहले बजारमा ल्याएको हो । ३ सय ८१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ७ सय ७० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।