नेपाली साहित्यमा आख्यानकृति (कथा, उपन्यास, लघुकथा, नाटक आदि) प्रकाशनमा ल्याएर पहिलोपटक प्रवेश गरेका आख्यानकारहरू (डेब्यु लेखक) का लागि खुसीको खबर । डेब्यु आख्यानकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ २०८० का लागि उत्कृष्ट १० आख्यानका कृतिहरूको सूची सार्वजनिक गरेका छौँ ।
यो पुरस्कारको राशि ५० हजार रूपैँया रहेको छ ।
यो सूची नयाँ लेखकहरूका २०८० सालमा प्रकाशन भएका मध्ये हामीलाई प्राप्त ३७ आख्यानकृतिबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आबद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भिक निर्णायकहरूको टिमले छानेको हो ।
छानिएका डेब्यु आख्यानकृतिहरूमा विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला‘, अनु विज्ञातिको लघुकथासङ्ग्रह ‘अक्षर रेखा‘, वसन्त बायुङ राईको उपन्यास ‘कठुवा‘, अतुल पोखरेलको उपन्यास ‘तेजस्विनी सदन‘, भागवत खनालको कथासङ्ग्रह ‘बाबा मेरो पीआर आयो‘, खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली‘, रविन्द्र केसीको कथासङ्ग्रह ‘सम्बन्धको दोबाटो‘, प्रज्ञाको उपन्यास ‘विषाणु ऋ’, सागर खड्काको उपन्यास ‘राइपाली भन्ञ्याङ‘ र डा. कुसुमाकर शर्मा गौतमको लघुकथासङ्ग्रह ‘हिउँको राप‘ रहेका छन् ।
यो प्रारम्भिक सूची हो । यही सूचीका आधारमा दोस्रो चरणमा पुरस्कारका लागि छोटो सूची सार्वजनिक गरिने छ । र, तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल आख्यानकृतिमध्ये उत्कृष्ट एकलाई ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ प्रदान गरिने छ ।
‘०८० सालभरमा नयाँ लेखकका ३७ भन्दा बढी नै आख्यानका कृतिहरू प्रकाशनमा आएका छन्, तर हामीले सोधखोज गर्दा नयाँ लेखकका ३७ कृतिहरू पुरस्कारका लागि प्राप्त गर्यौँ । केही लेखकहरूको पुरस्कारमा सामेल नहुने इच्छालाई सम्मान गर्दै प्रतिस्पर्धामा उहाँहरूलाई समावेश गराएनौँ ।’, पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ‘यो सूची तिनै उपलब्ध डेब्यु आख्यानका कृतिहरूबाट छानिएको हो ।’
कोइरालाका अनुसार यी १० वटा आख्यानका कृतिले नयाँ कथाकारहरू के लेख्दैछन्, र नेपाली आख्यान-साहित्यको भविष्य कस्तो छ भन्ने कुराको सङ्केत गरेको छ । ‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप अघिल्लो वर्षझैँ यसपटक पनि तीन विधामा ३ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’ प्रधानसम्पादक कोइरालाले भने ।
०७७ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रो वर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी दुई विधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्ति प्रियवन्दनाकृत ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो ।
०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीन विधामा क्रमशः प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’, हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’लाई प्रदान गरिएको थियो । अघिल्लो वर्षझैँ यस वर्ष पनि तीन विधाका उत्कृष्ट तीन डेब्यु कृतिलाई ५०-५० हजार राशिसहित सम्मान गर्न लागिएको हो ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादक तथा स्वतन्त्र निर्णायकहरूलाई जिम्मा लगाइने छ । उहाँहरू प्रदान गरेको अङ्कका आधारमा छोटो सूची सार्वजनिक गरिने छ ।’, साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले भने, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा विश्वास राख्नुहुन्छ । यही कारण यी १० वटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट समूह पूर्ण विस्वस्त छ ।’
‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’
‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को लामो सूची यसअघि नै सार्वजनिक गरी सकिएको छ । ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को लामो सूची वैशाख २० गते बिहीबार घोषणा गरिने छ ।
प्रस्तुत छ, २०८० सालका उत्कृष्ट १० डेब्यु आख्यानकृतिहरूको सूची:
१. अडिएका पाइला – विष्णु सापकोटा
क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गरेका विष्णु सापकोटाको पहिलो पुस्तक हो उपन्यास ‘अडिएका पाइला’ । उपन्यास प्रेममा आधारित छ जसमा जीवन–दर्शन तथा अध्यात्मको गहिरो प्रभाव भेटिन्छ । एक अनौठो प्रेमकथालाई सूक्ष्म रुपमा केलाइएको यो उपन्यास पढिरहँदा पाठकहरुले बौद्धिक विलासिता भरपूर गर्नेछन् ।
त्रिभुवन विश्वविद्यालयमा केही वर्ष अङ्ग्रेजी साहित्य प्राध्यापन गरेका सापकोटा हाल क्याम्बोडियामा कार्यरत् छन् । उनले लामो समयबाट समाज साहित्य तथा राजनीतिमाथि राष्ट्रिय दैनिकहरुमा निरन्तर लेख्दै पनि आएका छन् ।
३ सय ३४ पृष्ठमा फैलिएको उपन्यासलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
२. अक्षर रेखा – अनु विज्ञाति
निजामति सेवामा सेवारत कथाकार अनु विज्ञातिको लघुकथासङ्ग्रह हो ‘अक्षर रेखा’ । विज्ञातिका लघुकथाहरुमा समाजमा व्याप्त विकृति तथा विसङ्गतिप्रति तीखो व्यङ्ग्य भेटिन्छ ।
व्यक्ति तथा समाजमा देखिने द्वैध चरित्र, सोच, मानसिकता तथा व्यवहारमाथि सङ्ग्रहित लघुकथाहरुले विद्रोह बोलेका छन् । पात्रको मनोविज्ञानलाई केन्द्रमा राखी लघुकथा सिर्जना गर्नु विज्ञातिको विशेषता रहेको देखिन्छ ।
पुस्तकलाई हाम्रो लघुकथा केन्द्र, नेपालले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा ६२ शीर्षकमा लघुकथाहरु सङ्ग्रहित छन् ।
३. कठुवा – वसन्त बायुङ राई
वसन्त वायुङ राईको उपन्यास हो ‘कठुवा’ । किरात राईको साँस्कृतिक जीवनको एक अभिन्न अङ्ग हो कठुवा । पाहुना जाँदा कोसेली बोक्ने भाँडो काठको भाडोलाई कठुवा भनिन्छ । र, राईले कठुवालाई बिम्बका रुपमा टिपिएर उपन्यासमार्फत् उनले साँस्कृतिक पहिचानका पक्षमा आवाज बुलन्द बनाएका छन् ।
उपन्यासमा पहिचानको नवीन अस्तित्वका साथै भाषा, संस्कार र संस्कृतिलाई आख्यानीकरण गरिएको छ । मुख्यतः पूर्वी पहाडको किराती समुदायको कथालाई उपन्यासमा समेटिएको छ ।
२ सय ९६ पृष्ठमा फैलिएको उपन्यासलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।
४. तेजस्विनी सदन – अतुल पोखरेल
हित्यकार अतुल पोखरेलको पहिलो पुस्तक, उपन्यास हो ‘तेजस्विनी सदन’ । प्रेम, वासना र मनोविज्ञानको अन्तर्घुलन रहेको उपन्यासले वर्तमान समयको यर्थाथ चित्रण गरेको छ ।
उपन्यासमा पात्रहरुको विवशता, निराशा, महत्त्वकांक्षा तथा सम्बन्धहरुको सूक्ष्म चित्रर रहेको छ । पात्रहरुलाई पारस्परिक सम्बन्धको सूत्रमा बाँधेर अघि बढाउने सक्षमता उपन्यासकारको विशेषताको रुपमा प्रस्तुत भएको छ ।
५ सय ३९ पृष्ठमा फैलिएको उपन्यासलाई सिमल बुक पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।
५. बाबा मेरो पीआर आयो – भागवत खनाल
साहित्यकार भागवत खनालको कथासङ्ग्रह हो ‘बाबा मेरो पीआर आयो’ । खनालका कथाहरुमा नवीन घटनाक्रम, विविध चरित्र तथा व्यापक परिवेश भेटिन्छ । कथालाई चलचित्रझैँ पाठकको मस्तिष्कमा उतार्न सक्नु उनको लेखनको विशेषता रहेको पाइन्छ ।
उनका कथाहरु समाजिक छन्, तीनलाई नजानिँदो तवरले आउने लेखकको दार्शनिक पक्षले कथालाई परस्कृत बनाएका छन् । भाषा शैली र शिल्पी उनको शक्तिका रुपमा देखापरेका छन् ।
पुस्तकलाई विनीता खनालले प्रकाशनमा ल्याएकी हुन् । सङ्ग्रहमा २४ शीर्षकमा कथाहरु सङ्ग्रहित छन् ।
६. बुढीपोल्ली – खेम बतास
कविका रुपमा परिचित खेम बतासको पहिलो कथासङ्ग्रह हो ‘बुढीपोल्ली’ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका बतास हाल प्राध्यापन पेसामा संलग्न छन् ।
जातीय विभेद, लैङ्गिक असमानता तथा समाजिक कुरीतिका चपेटामा परेका मानिसहरुको नियति कथाहरुमा प्रतिबिम्बित छन् । कर्नाली तर्न नसक्ने तर महाकाली तर्न सक्ने नेपालीहरुको जीवनव्याथालाई बतासले दर्बिलोसँग कथाहरुमा प्रस्तुत गरेका छन् । यो कथासङ्ग्रहका माध्यमबाट बतासले डोटेली मौलिक संस्कृतिलाई विसंरचना गर्ने प्रयास गरेका छन् ।
पुस्तकलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा शीर्षकथासहित १२ थान कथाहरु सङ्ग्रहित छन् ।
७. विषाणु ऋ – प्रज्ञा
साहित्यकार प्रज्ञाको पहिलो उपन्यास हो ‘विषाणु ऋ’ । संस्मरणात्मक शैलीमा लेखिएको उपन्यासमा नारी मनोविज्ञान प्रस्तुत भएका छन् । म पात्रको विद्यार्थीकालीन भोगाइ, शिक्षण, प्रेम, बिछोड, मनका भावना तथा चाहनालगायत तत्त्वहरुको समीश्रण उपन्यासमा रहेको छ । साथै, अध्यात्म, मृत्यु–चिन्तन तथा नेपाली सामाजिक परिवेशको पृष्ठभूमिले उपन्यासलाई दर्बिलो बनाएको छ ।
नेपाल छँदा नेपाल कमर्श क्याम्पसमा प्राध्यापन गरेकी प्रज्ञा उच्च शिक्षाका लागि हाल अस्ट्रेलियामा छिन् ।
१ सय ६० पृष्ठमा फैलिएको उपन्यासलाई समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशनमा ल्याएको हो ।
८. सम्बन्धको दोबाटो – रविन्द्र केसी
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको पहिलो पुस्तक हो कथासङ्ग्रह ‘सम्बन्धको दोबाटो’ । सङ्ग्रहित कथाहरुमा हाम्रो समाजका व्याथाहरु फरक बान्कीमा प्रस्तुत भएका छन् । केसीका कथाहरुमा सामान्य मानिसका संवेदना तथा भावनाको गहिराइ भेटिन्छ । आफ्नै शैली र दर्शनमा उभिएर छरितो कथा लेख्नु केसीको विशेषता रहेको छ ।
राजनीतिशास्त्रमा स्नातकोत्तर केसी साहित्यका साथै समाजशास्त्र र अन्तर्राष्ट्रिय मामलामा समेत रुचि राख्ने गर्छन् ।
पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । सङ्ग्रहमा २१ थान कथाहरु सङ्ग्रहित छन् ।
९. राइपाली भन्ज्याङ – सागर खड्का
युवा साहित्यकार सागर खड्काको पहिलो पुस्तक हो उपन्यास ‘राइपाली भन्ज्याङ’ । उपन्यास बुद्धि र कुसुमको प्रेमकथा हो जो बालसखा हुन् । साथै, यो सैनिक बनी भरियाहरु अगाडि लगाएर गाउँ आउने सपना बोकेका बालसखाहरुको कथा पनि हो ।
उपन्यासमा प्रेम र बालइच्छा मात्रै छैन, समाज र सङ्घर्षको कथा पनि छ । अन्धविश्वास र हिँसाले पिल्सिएको समाजका कथा–व्यथा र सामाजिक असन्तुष्टिलाई बुद्धिका माध्यमबाट पाठकको हृदयसम्म पुर्याउन उपन्यासकार सफल देखिएका छन् । बाल्यकालीन स्मृति तथा बैँसालु बदामासीहरुको सुन्दर प्रस्तुतिले उपन्यास पठनीय बनेको छ ।
२ सय ७८ पृष्ठमा फैलिएको उपन्यासलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।
१०. हिउँको राप – डा. कुसुमाकर शर्मा गौतम
क्यानाडाको युनिभर्सिटी अफ अल्बर्टाबाट विद्यावारिधि गरेका डा. कुसुमाकर शर्मा गौतमको पहिलो पुस्तक हो लघुकथासङ्ग्रह ‘हिउँको राप’ । उनी पानी प्रशोधन विशेषज्ञसमेत हुन् ।
गौतमका लघुकथामा नेपालको पश्चिमी भेगको समाजिक परिवेश र आञ्चलिकता पाइन्छ भने सँगै क्यानाडाजस्तो विकसित मुलुकको जनजीवनको अन्तर्य पनि भेटिन्छ । सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरु नेपाल र क्यानाडाको दोभानमा उभिएका छन् ।
पुस्तकलाई साझा प्रकाशनले प्रकाशित गरेको हो । सङ्ग्रहमा ५९ थान लघुकथाहरु सङ्ग्रहित छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।