गैरआख्यान लेखेर नेपाली साहित्यमा पदार्पण गरेका डेब्यु लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ का लागि छोटो सूची जारी गरिएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा गैरआख्यान लेखेका पाँच लेखकका कृतिहरू समावेश छन् ।

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को छोटो सूचीमा जिग्मे लामाको ‘अमरभूमि’, राजेन्द्र कार्कीको ‘खाइराइड’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’, गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’ र डा. जगदीश चन्द्र बरालको ‘वन, समुदाय र म’ रहेका छन् ।

यसअघि ०८० सालमा प्रकाशित डेब्यु लेखकका साहित्यपोस्टलाई प्राप्त १९ गैरआख्यान कृतिहरूबाट ८ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच गैरआख्यान कृतिको छोटो सूची तिनै ८ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

यसअघि पुरस्कारको लामो सूचीमा गैरआख्यान कृतिहरू जिग्मे लामाको ‘अमरभूमि’, राजेन्द्र कार्कीको ‘खाइराइड’, आस्था भट्टराईको ‘फूलबारीको जुके गणतन्त्र’, उमाकान्त पौड्यालको ‘बुद्धकालीन समाज’, चन्द्रमणि गुरागाईँको ‘भीरगाउँदेखि भीमचौरीसम्म’, गोमविक्रमको ‘मगर संस्कृति, परम्परा र गरिमा’, डा. जगदीश चन्द्र बरालको ‘वन, समुदाय र म’ तथा कुञ्जल शुभेच्छु लुइटेलको ‘मैले पढेका किताब’ रहेका थिए ।

छोटो सूचीमा रहेका डेब्यु लेखकका पाँच गैरआख्यान विधाका कृतिहरूमध्येबाट सर्वोत्कृष्ट एकले ५० हजार रुपियाँ राशिको पुरस्कारका साथमा सम्मानपत्र पाउने छ ।

मूल्याङ्कन समूहका संयोजक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले पुरस्कारको छोटो सूचीमा अटाएका कृतिले नवोदित लेखकले कम चासो राखेको गैरआख्यान साहित्यको प्रतिनिधित्व गरेको बताए । उनले भने, “८ गैरआख्यान विधाका पुस्तकको लामो सूचीबाट छानिएका ५ पुस्तकले नेपाली गैरआख्यान साहित्यको भविष्यतर्फ संकेत गरेका छन् । नवोदित लेखकहरूको उल्लेखनीय चासो गैरआख्यानकारमा समेत दर्बिलो देखिनु सहरानीय कुरो हो । शैली, अध्ययन, विचार निर्माण, अनुभव, चिन्तनको आयतन र दृष्टिकोण तथा साधनालाई गैरआख्यान कृतिहरूले प्रतिनिधित्व गरेका छन् ।”

‘साहित्यपोस्ट उत्तम आख्यान र गैरआख्यान पुरस्कार’को प्रायोजन साहित्यपोस्ट व्यवस्थापन समूहले आफैँ गरेको हो । पुरस्कार प्रायोजन बारे प्रधानसम्पादक कोइराला भन्छन्, ‘साहित्यपोस्ट सञ्चालनमा यसै पनि ठुलो खर्च भइरहेकाे छ । त्यसमाथि यो पुरस्कारको प्रायोजन गर्दा नवपुस्तामा उत्साह बढ्छ भने यस्तो प्रभावकारी काम गर्न चुक्नु हुन्न भन्ने अभीप्रायमा साथ यी २ पुरस्कारको प्रायोजन हाम्रो समूहले गरेको हो ।’

‘साहित्यपोस्ट उत्तम काव्य र आख्यान पुरस्कार’को छोटो सूची यसअघि नै जारी गरिएको छ ।

अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तकको घोषणा गरिने बताइएको छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।

छोटो सूचीमा पर्न सफल पाँच गैरआख्यान कृतिः

१. अमरभूमि – जिग्मे लामा (नर बहादुर)

पच्चीस वर्षदेखि समाजिक विकासका कार्यहरुमा संलग्न हुँदै आएका ग्रामीण विकासविद् तथा बौद्ध ध्यानका अभ्यासकर्ता जिग्मे लामा (नर बहादुर) को यात्रा वृत्तान्त हो ‘अमरभूमि’ । लामाले पुस्तकमा दिगो सुख र अमरत्वको खोजी गरेका छन् ।

लामाले पुस्तकमा कर्णाली र कैलाश क्षेत्र हुुँदै देश तथा विदेशका विविध भूगोल, समाज तथा इतिहासको वृत्तान्त कहेका छन् । साथसाथै, अन्तर्मनको सुख तथा समृद्धिको खोज पुस्तकको केन्द्रमा रहेको देखिन्छ । गैरआख्यान अध्ययनका पारखीहरुका लागि पुस्तक गतिलो खुराकका रुपमा तयार भएको छ ।

पुस्तकलाई बुक्स हिमालयले प्रकाशनमा ल्याएको हो । १२ अध्यायमा सङ्ग्रहित पुस्तक ‘त्यो विशाल ताला’बाट सुरु भएर ‘मायावी जीवन’मा टुङ्गिएको छ ।

 

२. खाइराइड – राजेन्द्र कार्की

निबन्धकार राजेन्द्र कार्कीको पहिलो कृति हो व्यङ्ग्य–सङ्ग्रह ‘खाइराइड’ । विषयवस्तु, प्रस्तुति र बिम्बात्मक व्यङ्ग्यको प्रयोगले कार्कीका निबन्धहरु रसिला बनेका छन् । उनका व्यङ्ग्यहरु समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन् । उनका व्यङ्ग्य–निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो छ ।

कविता लेखनमा समेत सक्रिय कार्की हाल क्यानडालाई कर्मथलो बनाई लेखन कर्ममा समेत सक्रिय छन् ।

शीर्ष व्यङ्ग्यसहित ३१ शीर्षकका निबन्धहरु सङ्ग्रहित ‘खाइराइड’लाई फित्कौली अनलाइन मिडियाले प्रकाशनमा ल्याएको हो ।

 

३. बुद्धकालीन समाज – उमाकान्त पौड्याल

अनुसन्धानकर्ता उमाकान्त पौड्यालको पहिलो पुस्तक हो ‘बुद्धकालीन समाजः पालि त्रिपिटकको साक्ष्यमा) अनुसन्धान विधाको पुस्तकमा लेखकले बुद्धकालीन समाजका विविध पक्षहरुको रहस्योद्घाटन गर्दै बौद्ध धर्मका परिभाषिक शब्दहरुलाई सरल र सहज भाषाशैलीमा व्याख्या गरेका छन् ।

पालि भाषामा रहेका बुद्धका वचनहरुलाई प्रमाणिक तथा विश्वसनीय मानिन्छ । बुद्धकालीन समाजको ऐनाको रुपमा रहेको यो पुस्तकमा पालि भाषामा रहेका बुद्धवचनहरुलाई सङ्कलन गरी त्यसको व्याख्या गरिएको छ । पुस्तकमा बुद्धकालीन राज्यहरु, राज्यव्यवस्था, बुद्धका धार्मिक मन्तव्य, धार्मिक सम्प्रदाय, वर्णव्यवस्था, संस्कृतिलगायत कुराहरुलाई मिहीन ढङ्गले प्रस्तुत गरिएको छ ।

३ सय १ पृष्ठमा फैलिएको यो पुस्तकलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

 

४. मगर संस्कृति, परम्परा र गरिमा – गोमविक्रम

पत्रकार तथा साहित्यकार गोमविक्रम क्षेत्रीको अनुसन्धानमा आधारित पुस्तक हो ‘मगर संस्कृति, परम्परा र गरिमा’ । पुस्तकमा मगर जाति, संस्कृति र यसका गौरवशाली व्यक्तिवहरुका बारेमा उल्लेख गरिएको छ ।

पुस्तकमा मगर जातिका साँस्कृतिक पक्षहरु सोरठी, घाटु, पैसेरु, मारुनी र यसको अभ्यासलगायतका कुराहरु उल्लेख छ जुन आफ्नो संस्कृति र परम्परा बुझ्न नयाँपुस्ताका लागि महत्त्वपूर्ण रहेको देखिन्छ । साथै, मगर जाति तथा समुदायको इतिहास र संस्कृति बुझ्न चाहने सबैका लागि पुस्तक पठनीय छ ।

२१६ पृष्ठमा फैलिएको पुस्तकलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

 

५. वन, समुदाय र म – डा. जगदीश चन्द्र बराल

वनकर्मी डा. जगदीश चन्द्र बरालको अनुभूति तथा अनुभवजन्य संस्मरणात्मक पुस्तक हो ‘वन, समुदाय र म’ । पुस्तकमा लेखकले वन, समुदाय र आफूले गरेको सङ्घर्षको कथा प्रस्तुत गरेका छन् ।

पुस्तकमा नेपालको वन व्यवस्थापनको प्रारम्भिक अवस्था, सफलता, चुनौती, सङ्घर्ष, नीति–निर्माणका प्रक्रिया तथा वैदेशिक अनुभवलाई सरल भाषामा समेटिएको छ । वन, जल र जनावरका विषयमा रुचि राख्ने पाठक तथा नीतिनिर्माता र प्रशासकहरुका लागि पुस्तक महत्त्वपूर्ण बनेको छ ।

३ सय ५२ पृष्ठमा फैलिएको पुस्तकलाई सिमल बुक पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो ।