अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा भएको त्रिदिवसीय आठौँ विश्व सम्मेलन फागुन २५ देखि २७ गते (तदनुसार मार्च ८ देखि १०) सम्म पोर्चुगलको राजधानी लिस्बोनमा सम्पन्न भएको छ । प्रवासमा नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा सक्रिय अनेसासको सम्मेलनमा पोर्चुगलबाहेक पनि युरोप, अफ्रिका, अमेरिका र एसियाका विभिन्न देशबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो दिन फागुन २५ गते शुक्रबार महिला सम्मेलन आयोजना थियो । अनेसास पोर्चुगलकी अध्यक्ष सबी श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली साहित्यमा महिला हस्ताक्षर र महिला सहभागीताका बारेमा चर्चा भएको थियो ।

दोस्रो दिन शनिबार, कार्यक्रमको पहिलो सत्रमा स्वागत र विभिन्न स्रष्टाहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजिन राई र नवरत्न पुरस्कार पाउने माया गुरुङ र संगीता स्वेच्छा लगायतका सर्जकहरू थिए ।

त्यसपछिको दोस्रो सत्रमा, तिन कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । अनेसास केन्द्रीय समितिका अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा भएको सो कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टीका अध्यक्ष पदम विश्वकर्मा, स्थानीय संघ-संस्थाका प्रतिनिधिहरू र अनेसासका सल्लाहकारहरू लगायतले भाषा साहित्यको महत्त्वबारे मन्तव्य राखेका थिए ।

त्यसै गरी, बेल्जियमका डिल्लीराम अम्गाईंले ‘युरोपमा नेपाली साहित्य’, बेलायतकी संगीता स्वेच्छाले ‘विश्व मञ्चमा नेपाली साहित्यको चुनौती र अवसर’ तथा अमेरिकाका मोहन सिटौलाले ‘नेपाली साहित्यको विश्व-बजार’ शीर्षकमा आ-आफ्ना कार्यपत्रहरू सारांशमा प्रस्तुत गरेका थिए । त्यस्तै, पोर्चुगलका यादव देवकोटाको संयोजनमा काव्य गोष्ठीको नाममा एक छोटो ‘टक शो’ पनि प्रहसित गरिएको थियो । कार्यक्रममा थोकमा डेढ दर्जन पुस्तकहरूको विमोचन समेत गरिएको थियो ।

कार्यक्रमको तेस्रो दिन २७ गते आइतबार काव्यिक यात्राका रूपमा लिस्बोन भ्रमण गरिएको थियो ।

युरोपमा धेरै नेपालीहरूको प्रवेशद्वारको रूपमा रहेको र ५० हजारभन्दा बढी नेपालीहरूको बसोबास रहेको पोर्चुगलमा आयोजित यस विश्व सम्मेलनले खासगरी युरोपमा रहेका नेपाली सर्जक र साहित्यप्रेमीहरू बीच साहित्यिक अभियानमा अभिरुचि जगाउने, नेपाली साहित्यको विश्वव्यापीकरण गर्ने र अनेसास अभियानलाई विस्तार गर्ने उद्देश्य लिइएको थियो ।

अनेसासको यो विश्व सम्मेलनले चार महादेशका झण्डै एक सय प्रतिनिधिहरूलाई एकै ठाउँमा जम्मा भएर साहित्यिक मन्थन गर्ने अवसर जुटाइ दिएको थियो । सम्मेलनमा पोर्चुगलबाहेक अमेरिका, क्यानडा, नेपाल, भारत (सिक्किम, दार्जिलिङ र सिलगढी), कतार, सेसेल्स, बेलायत, बेल्जियम, पोल्याण्ड, जर्मनी, डेनमार्क र फ्रान्सबाट सहभागिता रहेको थियो ।

सम्मेलन साहित्यिक मन्थन, अन्तर्क्रिया र विविध आयामबारे गहन विचार-विमर्शभन्दा पनि भेटघाटको अवसरको लागि एक मञ्च, मानसम्मान र गीत-गजल गानका रूपमा नै बढी केन्द्रित रह्यो । प्रवासी नेपाली साहित्यको विकास र डायस्पोरिक साहित्य, अनि यसको मानक परिभाषाबारे समसामयिक साहित्यमा उठेका अनेक सवालहरूबारे सम्मेलनमा खासै कुनै छलफल नै भएन । त्यसै गरी सामान्यतः सम्मेलनहरूपछि विश्व घोषणा गर्ने चलन पनि त्रिदिवसीय सम्मेलनमा समयाभावले ‘पछि’ गर्ने गरी थाँती नै रह्यो । कतिपय सहभागीहरूले सम्मेलन अवधिमा ३/४ पटक आफ्नो विचार व्यक्त गर्ने अवसर पाएका थिए भने अफ्रिका महादेशका प्रतिनिधिहरू लगायत दर्जनौंले कुनै एउटो कार्यक्रममा पनि आफ्नो अभिव्यक्तिको मौका पाएनन् ।

त्यसै गरी, साहित्यको विश्व सम्मेलनमा पोर्चुगल समेतको जिम्मेवारी पाएको फ्रान्स स्थित नेपाली दूतावासबाट पनि कुनै प्रतिनिधित्व हुन सकेन ।

यद्यपि, नेपाली भाषा साहित्यलाई गैरआवासीय नेपालीहरूबीच संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यमा निश्चित रूपमा यो सम्मेलन फलदायी रह्यो । पश्चिम युरोपेली देशहरूमा अनेक चुनौतीहरूबिच रहेर पनि पोर्चुगलको नेपाली समुदायले नेपाली भाषा साहित्यको जगेर्नामा सम्पन्न गरेको यस विश्व सम्मेलनले प्रवासको नेपाली साहित्यिक अभियानमा एक इँटा थपेको छ । खासगरी अनेसास पोर्चुगलका महासचिव एन. बी. अन्जानको कार्यक्रम संयोजन र सम्पन्न गर्न खेलेको भूमिकालाई विश्वका चार महादेशबाट आएका प्रतिनिधिहरूले सराहना गरेका थिए ।

यसरी, एक प्रकारले कार्यक्रम प्रवासी नेपालीहरूको साहित्यिक अभियानमा एक खुड्किलो चढ्न सफल त रह्यो, तर अर्को तर्फ एक प्रशंसनीय साहित्यिक प्रयास गुणात्मक दृष्टिले ‘गुमेको मौका’ बन्न पुग्यो ।

स्वभावतः प्रवासमा आयोजना गरिने यस्ता कार्यक्रमहरू खर्चालु हुने र व्यवस्थापनको दृष्टिकोणले पनि चुनौतीपूर्ण हुन्छन् । अनेक चुनौतीका माझ पनि कार्यक्रम  सम्पन्न गरेर अनेसास पोर्चुगलले प्रवासी नेपाली भाषा साहित्यको आदान प्रदानमा टेवा पुर्‍याएको छ । त्यसै गरी अनेसास अभियानका आगामी कार्यक्रमहरू परिष्कृत हुँदै जाने र गुणात्मक बन्ने आशा गर्न सकिन्छ ।

लिस्बोनबाट पंचम अधिकारी