काठमाडौँ | काठमाण्डौ नयाँ बानेश्वरस्थित के एण्ड के इन्टरन्यासनल कलेजको सभाहलमा नेपाल विज्ञान पत्रकार मञ्चको आयोजनामा ‘प्रकृति: सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ |

वन तथा वातावरण साहित्यिक समूहको संयोजनमा इन्डिगो इन्क र नेपाल वन प्राविधिक संघको संयुक्त प्रयासमा प्रकाशन भएको उक्त पुस्तकमा २७ जना वनकर्मी तथा वातावरण क्षेत्रका लेखहरू समावेश गरिएको छ | सम्पादक मण्डलमा डा. रोशन शेरचन, डा. हिमलाल श्रेष्ठ, डा. ऋषि बास्ताकोटी, डा. भरतमान श्रेष्ठ र कमला रुपाखेती रहेका छन्  |

बालिका मादेनले सञ्चालन गर्नुभएको सो अन्तरसंवाद कार्यक्रम सहजकर्ता मिलन बुढाथोकीले लेखक तथा सम्पादक रमेश भुषाल, कवि तथा साहित्यकार चेतनाथ कणेल ‘हरित’ र कथाकार विना थिङ तामाङसँग पुस्तकको विविध पक्षमा परिचर्चा गरेका थिए |

उक्त कार्यक्रममा रमेश भुषालले वन प्राविधिकहरूले यस प्रकारको कृति निकाल्नु सह्रानीय कार्य भएको उल्लेख गर्दै पुस्तक प्रकाशनका क्रममा कतिपय पक्ष अझै सुधार गरेर आगामी प्रकाशनलाई अझै सरल, आम पाठकको रुचीलाई आकर्षित गर्ने र लेखकहरुले लेख्न खोजेका कुरा मुखरित हुने गरी प्रकाशन गर्न सकिने बाटो खुल्ला रहेको उल्लेख गर्नुभयो | यसका साथै कतिपय अवस्थामा धेरै लेखकहरुको आफ्नो आफ्नो शैली र अनुभूतिहरु समेटिएकाले यस पुस्तक एक किसिमको विविधतायुक्त देखिने बताउनुभयो ।

अर्का वक्ता बिना थिङले कृति यो रुपमा आउनु तारिफयोग्य विषय भएकाे र वनकर्मीहरुले पेशागत जिम्मेवारी र नियामक निकायमा नियम पालना गराउने काम गर्नुभएकोले आम पाठकले वनको विभिन्न ओहोदामा रहने अधिकारीहरुप्रति फरक दृष्टिकोण रहने भए पनि यस प्रकारको आत्मबोधसहितको संस्मरणात्मक लेख आउनुले फेरिँदै गरेको परिवेशको सङ्केत गर्ने बताउनुभयो | अझै विश्वमा नै नाम चलेको सामुदायिक वनको अनुभव र अनुभूति आएको भए, जनावर र बोटबिरुवासँगको मात्र नभएर समुदायसँगको अन्तरसम्बन्धको आएको भए अझ परिस्कृत कृति आउनसक्ने उहाँकाे मत थियो |

अर्का वक्ता चेतनाथ कणेलले आफु पनि वन प्राविधिक भएको र साहित्यको माध्यमबाट पनि आफ्ना अनुभव र भावना मुखरित गर्न सकिन्छ भन्ने अभियानमा रहेको बताउँदै कृतिभित्र समेटिएका कतिपय नियमित साहित्य लेखन गर्नुहुने र केही लेखकहरुले आफ्नो अनुभव तथा अनुभूतिलाई लेख्ने जमर्को गरेको बताउनुभयो । लेखनलाई उहाँले पर्या लेखन र पर्या साहित्यको रुपमा हेर्न सकिने बताउनुभयो ।

वक्ताहरुले आगामी प्रकाशनहरुका लागि विषयको एकरुपता, शब्द सिमा, लेखनको ढाँचा अनि कृतिको नामले ओगटेको भाव सबै लेखहरूमा ल्याउन सके राम्रो हुने सुझाव दिनु भयो |

वन तथा वातावरण साहित्यिक समूहका सदस्य तथा यस पुस्तकका सह-सम्पादक डा. हिमलाल श्रेष्ठले यो पुस्तक आउने बेलासम्मको नालीबेलीसहित पर्यावरणीय साहित्यमा पहिलो प्रयास भएकाे बताउनु भयो । साथै, अन्तरसंवादमा आएका सुझावहरु मनन योग्य रहेकाले आगामी प्रकाशनमा जिम्मेवारीका साथ अङ्गीकार गरिने बताउँदै कार्यक्रम समापन भएको जानकारी गराउनुभयो |