वन विज्ञानको गोरेटो
पाल्पाको दोभान पुगेपछि हरेक पटक चौकी नजिक झरेर चिया खाने अनि बालापनको याद दिलाउने घुम्ती नहेरी बाटो काट्न सक्दिन । ओर्लेर हरेक पटक साथी धर्मको बारेमा सोध्छु अनि हिँड्छु । बुबाको सरकारी जागिरको सिलसिलामा म पनि सँगै त्यहाँ पुगेको थिएँ ।
मेरो कखरा पढाइ दोभानस्थित तिलोत्तमा प्राथमिक विद्यालयबाट सुरु भएको हो । सो विद्यालय अहिले माध्यमिक विद्यालय बनेको छ । सिद्धबाबा, दोभानको क्षेत्र भौगोलिक हिसाबले जोखिमयुक्त क्षेत्रमा पर्दछ र यस क्षेत्रमा वर्षेनि बाढी र पहिरो गइरहन्छ, त्यसै कारणले अहिले विद्यालयको ठाउँ पनि सारिएको छ । चुरे क्षेत्रमा पर्ने भएकाले सिद्धबाबादेखि दोभानभन्दा माथि भुतखोलासम्मको जंगलमा थाकलको घारी पाइन्थ्यो ।
हुन त थाकललाई नेपालमा मिचाहा प्रजातिको रूपमा पनि हेर्ने गरिन्छ । दिनभरि जंगल डुलेर पाकेको थाकल अनि पाकेको बयर खाइन्थ्यो । जंगल विचरणको त्यो सम्झना अझै छ । थाकल खान साथ दिने साथीसंगीहरूको सम्झना त झन् कुरै नगरौं । त्यति बेला तिनाउ खोलामा निर्माणाधीन अवस्थामा रहेको हाइड्रोपावरको संरचना र त्यसैको नजिक रहेको बगरको तर्साउने विशाल किरमिरे ढुंगाको सम्झना अझै ताजा छ । पछि २०३७ सालतिर त्यो विशाल किरमिरे ढुंगा रामपिथेकसको जीवाष्म रहेछ भन्ने प्रमाणित भएछ र अहिले त्यहाँ रामपिथेकस पार्क निर्माण गरिएको छ ।
हामीलाई कक्षा १ मा पढ्दा नै दोभानबाट बुटवल भ्रमणमा लागिएको थियो । त्यति बेला बुटवलमा काठमा आधारित प्लाइउड र सलाईका दुइटा कारखानाको भ्रमण गराइएको थियो, त्यो अझै सम्झनामा छ । नेपालमा सामुदायिक वनको अवधारणाले भर्खर पाइला सार्दै गरेको वर्ष २०४४–०४५ सालतिर पञ्चायती वन र पञ्चायत संरक्षित वनको प्रावधान आएको थियो । प्राकृतिक वन समूहलाई जिम्मा लगाउने काम पञ्चायत संरक्षित वनका रूपमा हुन्थ्यो भने नयाँ वृक्षरोपण सहितको वनको अवधारणा पञ्चायती वनमा थियो । सोही कार्य अन्तर्गत गोरखा जिल्ला अश्राङ गाउँ पञ्चायत वडा न. ७ अन्तर्गत थामडाँडामा वृक्षारोपणको कार्य सरकारी बजेट अन्तर्गत धमाधम चलिरहेको थियो । त्यो कार्यमा स्थानीय जनप्रतिनिधिका तर्फबाट मेरो बुबा सन्तमान श्रेष्ठले गर्नुभएको थियो ।
घ्याम्पेसालस्थित रेन्जपोस्टका रेन्जरले सो कार्यको अगुवाइ गर्नुभएको थियो र स्थानीय रूपमा वर्षौंदेखि सुन्तला खेती गरेर जिल्लामा नाम कमाइ सक्नुभएका स्थानीय नेता तथा समाजसेवी ईश्वर पाण्डेले खोटे सल्ला लगायतका अन्य बोटबिरुवाको नर्सरी स्थापना गर्नुभएको थियो । मलाई अझै पनि याद छ, म स्कुले जीवनमा रहँदै धेरै पटक असारको महिनामा बिरुवा लिन त्यो नर्सरीमा गइरहेको हुन्थें ।
त्यो समयको नर्सरी, नर्सरीमा हुर्केका बिरुवा, थामडाँडामा चलिरहेको वृक्षारोपणको कामले मनमा वातावरण संरक्षण र वन विज्ञानप्रतिको मोहकता थपेको हो भन्ने लाग्छ । वनस्पति विज्ञानको पढाइमा बिरुवाको वैज्ञानिक नाम अनि जलवायु परिवर्तनको ज्ञानले थप आकर्षण थपेको थियो ।
त्यो आकर्षण हेटौंडास्थित वन क्याम्पसको पढाइ सुरु गर्दाको पहिलो दिनको सम्झना अझै छ मलाई । क्याम्पस प्रमुख हुनुहुन्थ्यो– पृथुनरसिंह प्रधान । उहाँ पहिलो दिन परिचयात्मक कार्यक्रमसहित पहिलो कक्षा लिँदै क्याम्पसको वरपर डुलाउँदै बिरुवा चिनाउँदै हुनुहुन्थ्यो ।
एउटा बिरुवाको नजिक पुगेपछि मलाई नै इंगित गरेर सोध्नुभो– यो कुन बिरुवा हो ?
गाउँघरमा देखे जानेकै बिरुवा भएकाले मैले झट्ट भनें– चिलाउने ।
– अनि यसको वैज्ञानिक नाम भन त ?
फेरि मैले नै भनें – Schima wallichii ।
त्यस दिन मैले खुब तारिफ पाएँ । पछि शेषकान्त काफ्लेको किताब हेरेर हरेक रुख तथा अन्य प्रजातिको वैज्ञानिक नाम कण्ठस्थ गर्न र प्रजाति चिन्ने हुटहुटी कायम राख्न ठूलो प्रेरणाको काम गर्यो । अझै पनि वनजंगल डुल्ने र पार्कतिर घुम्ने समय पाउँदा बोटबिरुवाको प्रजातिको पहिचान गर्ने र सोको वैज्ञानिक नाम पहिल्याउन प्रयास गर्ने काम जारी नै छ । अहिले त घरपरिवारमा समेत त्यो क्रम चल्ने हुँदा बानी नै परिसक्यो ।
वन विज्ञानको यो गोरेटो सन् १९९० (विसं २०४७) मा भर्ना भएर सन् १९९३ (विसं २०५०) मा हेटौंडा क्याम्पसबाट प्रवीणता प्रमाणपत्र पास गरेर निस्किएसँगै निरन्तर छ । सन् १९९६ (विसं २०५३) मा भर्ना भएर सन् २००० (विसं २०५७) मा पोखरा क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेर निस्किएसँगै अझै अघि बढेको छ अनि काठमाडौं फरेस्ट्री कलेजको स्थापनासँगै हालसम्म कायम छ । बोटबिरुवा चिन्ने र चिनाउने काम चलिरहेको छ ।
सागरनाथ वन परियोजना अन्तर्गत रुख ढालेर गरिएको अभ्यास, स्थानीय जनमानससँगको छलफल, वनभित्रको सडकको डिजाइनको काम, नर्सरीको बेडको डिजाइन, गोरखामा गरिएको गह्रा सुधारको काम अनि काभ्रेस्थित भालेश्वर माध्यमिक विद्यालयमा बसेर सामुदायिक वन हस्तान्तरण लगायत वनको व्यवस्थापनको सामाजिक पक्षको अभ्यास गरेको सम्झना अझै ताजा छ । त्यो समयमा हामीले अभ्यास गराउनु हुने काभ्रेका रेन्जरहरू मधु न्यौपाने र प्रेम सापकोटा अनि गोरखामा चेन र रेन्जिङ रड चलाउन सिकाउने विन्दा जोशी र गिरिराज पन्थको साथ सहयोगको सम्झना अझै छ ।
भूगोल र भौगोलिक सूचना प्रणालीको अध्ययन माध्यमिक तह पढ्दै गर्दा दश कक्षामा ऐच्छिक र थप ऐच्छिक विषय रोज्नुपर्ने थियो । थप गणित रोज्नेले अर्थशास्त्र रोज्न नमिल्ने भएपछि कक्षा ८ मा पनि पढेको भूगोल थप ऐच्छिक विषयको रूपमा पढियो । त्यति बेला भूगोल अध्ययनका क्रममा पढेको ध्रुवताराको उचाइको मद्दतले अक्षांश निर्धारण गर्ने, देशान्तरको मद्दतले समय निर्धारण गर्ने, नेपालको नक्सा तयार गर्ने अनि विश्वको नक्सामा हावापानी लगायत जानकारी राख्ने कार्यले भूगोलप्रतिको आकर्षण कायम रह्यो ।
त्यो आकर्षणपछि वन विज्ञानको स्नातक तह पढ्ने क्रममा ऐच्छिक विषयको रूपमा भौगोलिक सूचना प्रणाली पढेपछि झन् अघि बढ्ने उत्साह मिल्यो । भूगोल विषयप्रतिको आकर्षणमा ऊर्जा थपिदिने गुरु भोजराज कोइरालालाई खुबै सम्झन्छु । उहाँ अझै पनि विद्यालय शिक्षामा नै गोरखामा तल्लीन हुनुहुन्छ ।
इन्टरनेसनल ट्रेनिङ सेन्टर (आइटिसी) नेदरल्यान्ड्समा पढ्ने इच्छा हुँदाहुँदै पनि निरन्तर प्रयासका बाबजुद छनोटमा परिएन । तथापि इन्डियन इन्स्टिच्युट अफ रिमोट सेन्सिङ (आइआइआरएस), देहरादुनमा सन् २००२ (विसं २०५९) मा भर्ना भएपछि सन् २००३ (विसं २०६०)मा आइटिसी नेदरल्यान्ड्समा गएर भौगोलिक सूचना प्रणालीमा स्नातकोत्तरको पढाइ सम्पन्न भयो ।
त्यस अध्ययन र सो पश्चात्को कार्यानुभवले वन, वातावरण लगायत अन्य प्राकृतिक स्रोतको व्यवस्थापन र विपद् व्यवस्थापनका लागि भौगोलिक सूचना प्रणालीको समुचित प्रयोग गर्नुपर्ने रहेछ भन्ने ज्ञान भयो । सो बमोजिम मेरा धेरै काम र प्राज्ञिक लेखहरूमा भौगोलिक सूचना प्रणाली, रिमोट सेन्सिङ लगायत अन्य भौगोलिक विश्लेषण विधिको प्रयोग गरेको छु । मेरा विद्यार्थीहरू, सहकर्मी साथीहरू र मूर्धन्य विद्वान्हरूको संगतमा सो कार्य जारी छ ।
====
वातावरण विज्ञानः एकीकृत विज्ञान
माध्यमिक तह पढ्दादेखिकै जलवायु परिवर्तन, तापमानमा वृद्धि, वर्षाको अनियमितता, अम्लीय वर्षा जस्ता विषय चासोको विषयहरू थिए । वन विज्ञान, भौगोलिक सूचना प्रणालीको अध्ययन अनि विविध विषयको कार्यानुभवपछि वातावरण विज्ञान एउटा एकीकृत विज्ञान हो र वातावरण विज्ञानको अध्ययनले समग्र वन, वातावरण, जलवायु परिवर्तन, विपद् व्यवस्थापन लगायत विषयको प्रत्यक्ष सम्बन्ध भौगोलिक सूचनासँग हुने बुझाइका साथ विद्यावारिधि अध्ययनका लागि काठमाडौं विश्वविद्यालयमा सन् २०११ (विसं २०६८) मा भर्ना भई सन् २०१५ (विसं २०७३) मा पढाइ सम्पन्न भयो । यस दौरान वनमा संचित रहेको कार्बन, माटोमा रहेको कार्बन, भू–उपयोग प्रणालीमा हुने परिवर्तनले गर्ने कार्बन उत्सर्जन, त्यसको वैश्विक तथा राष्ट्रिय नीति तथा दिगो विकास लक्ष्यमा योगदान, स्थानीय समुदायको जीविकोपार्जनमा पुग्ने टेवा, कृषि–वन प्रणालीको उपादेयता तथा विविध पक्ष समेटेर केही लेखहरू प्रकाशन गर्ने अवसर जुट्यो ।
वन विज्ञान शिक्षामा योगदान
नेपालमा वन विज्ञान शिक्षाको स्थिति आफ्नो प्रवीणता र स्नातक पढ्दाको अनुभव बेग्लै छ । पढ्ने चाहना राख्ने विद्यार्थीले समेत पढ्न नपाउने स्थिति रहेको थियो, त्यति बेला । सो कुरा प्रत्यक्ष भोगेको छु । मैले प्रवीणता र स्नातक दुवै दुर्गम कोटामा पढ्ने अवसर जुर्यो ।
धेरै पटकसम्म पनि प्रवेश परीक्षा दिएर पनि स्नातक पढ्न नपाएका वन प्राविधिकहरू बग्रेल्ती भेटिन्छन् । देशमा रोजगारीको सुनिश्चितता छैन, त्यो अर्को पाटो भयो । तर, कमसे कम पढ्ने उत्कट चाहना भएका विद्यार्थीले पढ्ने अवसरबाट त वञ्चित हुनु नपरोस् भन्ने हेतुले काठमाडौं फरेस्ट्री कलेजको स्थापना भएको दोस्रो वर्ष २०६२ देखि आबद्ध छु । समय मिलेको अवस्थामा हेटौंडा र पोखरा वन विज्ञानमा पनि मूलतः वन विज्ञानमा भौगोलिक सूचना प्रणालीको प्रयोगसँग सम्बन्धित विषयमा अध्यापन गर्ने अवसरको सदुपयोग गर्ने गरेको छु । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सम्बन्धनमा स्नातक तहको कार्यक्रमको संयोजकका रूपमा यस कलेजमा रहेर काम गर्दा नेपालको वन विज्ञान र प्रविधिको शैक्षिक अवस्थाको यथार्थ स्थिति नजिकबाट नियालेको छु ।
नेपालमा वन विज्ञान र सो को प्राविधिक ज्ञानलाई प्रसारित गर्ने अभिप्रायले त्रिविले प्रवीणता प्रमाण पत्र तह हटाएपछि सिटिइभिटीबाट डिप्लोमा इन फरेस्ट्रीको अध्यापन गराउने उद्देश्यले सो को पाठ्यक्रम विकासदेखि कार्यक्रम सञ्चालनसम्म योगदान गर्ने अवसर मिल्यो । सो कार्यक्रम सञ्चालन गर्ने काठमाडौं फरेस्ट्री कलेज नेपालकै पहिलो शैक्षिक संस्था हो ।
अहिले आएर सिटिइभिटीले विभिन्न प्रकार गरी देशभर ४० भन्दा बढी संस्थालाई सो कार्यक्रम सञ्चालन अनुमति दिएको छ । त्यस प्रकारको विकास एक हिसाबले राम्रो हो । त्यसमा केही कठिनाइहरू, विद्यार्थीको सङ्ख्या उल्लेख्य नहुनु, गुणस्तरीय शिक्षाको लागि संघ र प्रदेश तहमा खासै चासो नहुनु अनि अनुगमनको प्रणाली विकास नहुनु जस्ता प्रसङ्गले खिन्न बनाउने गर्छ । वन विज्ञान विषयमा स्नातक तहको पढाइ हुने निजी क्षेत्रको शैक्षिक संस्थाको हकमा पनि यो पहिलो हो । त्यो समयमा यसको आफ्नै कठिनाइ र अवसर थियो । हाल आएर विभिन्न विश्वविद्यालय र कलेजहरूले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । हाल मेरो आफ्नो समय र ज्ञानले भ्याएसम्म स्नातकोत्तर वन विज्ञान, स्नातक वन विज्ञान र स्नातकोत्तर तहको भौगोलिक सूचना प्रणालीमा अध्यापन जारी छ । वातावरण विज्ञानको अनुभवले अहिले आएर वन, वातावरण र प्राकृतिक सम्पदाको संरक्षण सम्बन्धी कोर्स अन्य विश्वविद्यालयहरूमा पनि समयलाई ख्याल गर्दै अध्यापन गर्ने गर्दछु ।
====
कामको खोजी र खोजमूलक काम
सन् २००४ मा नेपाल फर्केपछि मेरो पहिलो काम नै कामको खोजी भयो । वन विज्ञान र भौगोलिक सूचना प्रविधिको तालिम प्राप्त व्यक्तिको हैसियतले अरूको खोजी र आफ्नो खोजी नमिल्दा केही समय बेरोजगार युवाको धपेडी व्यहोर्ने मौका प्राप्त भयो । पछि नेपालको काम गर्ने आबहवामा भिज्दै गएपछि कामको खासै खाँचो भएन । भौगोलिक सूचना प्रणालीको तालिम, सो सम्बन्धी अनुसन्धानमूलक काम, कलेजमा प्राध्यापन, राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिने, जर्नलमा प्रकाशन गर्ने आदि काममा व्यस्त भइयो ।
सन् २००६ मा काठमाडौं फरेस्ट्री कलेज र सन् २०११ (विसं २०६८) मा इसिमोडमा छिरेपछि अनुसन्धानमूलक कामले अझै गति लियो । विद्यार्थीको अनुसन्धान र आफ्नो पेसागत अनुसन्धानले समयलाई अझै अघि बढायो । वन र भौगोलिक सूचना प्रणालीमा आधारित धेरै अनुसन्धानमूलक काम इजी टेक लगायत परामर्श सेवा प्रदान गर्ने संघ संस्थामार्फत् पनि अघि बढ्यो । त्यो क्रम अझै जारी छ ।
====
साहित्यको फराकिलो आकाश
सानै उमेरदेखि नेपाली साहित्य मेरो रुचिको विषय थियो । हरेक कक्षा उत्तीर्ण भएर नयाँ पुस्तक किनेर ल्याइसकेपछि नेपाली पुस्तकमा भएको सबै पाठहरू कविता, कथा, निबन्ध, नाटक तथा जीवनी दुईचार दिनमै पढेर सक्काउँथें । नेपाली साहित्यप्रतिको आकर्षण पढ्नुको श्रेय गुरु मुकुन्दप्रसाद भट्टराईलाई जान्छ । उहाँको कविता पाठ गर्ने मीठो शैली र कथाहरूलाई रोचक ढङ्गले प्रस्तुत गर्ने कलाले आकर्षण गरेको हो भन्ने लाग्दछ । माध्यमिक तह पढ्दै गर्दा गुरुलाई पद्य कविता लेख्ने शैली र तरिका सिकाई मागेको थिएँ । तर, सो पूरा हुन सकेन र अहिलेसम्म गद्यकविता लेखेर नै बसेको छु ।
कोर्सको पुस्तकका अलावा भेटिने हरेक कथा, उपन्यास, निबन्ध तत्काल पढिहाल्ने मेरो बानीले गर्दा गाउँमा भर्खर भर्खर स्थापना भएको ‘किसान पुस्तकालय’को सबैभन्दा धेरै पुस्तक पढ्ने नियमित पाठक थिएँ । हरेक दिन अतिरिक्त हुलाकमा धेरै दुरी पार गरेर आइपुग्ने पत्रिकाहरू गोरखापत्र, मधुपर्क, सोभियत भूमि लगायत अन्य मासिकहरू पढेर सिनित्त पारिन्थ्यो ।
सोही आकर्षणले नामको पछाडि ‘भावुक’ राखेर दुईचार कविता कोरेको याद छ, माध्यमिक तह पढ्दाखेरि नै । त्यति वेला मेरो नाम – भीमबहादुर श्रेष्ठ ‘भावुक’ थियो । पछि अस्थायी नागरिकतामा नाम अर्कै छ भन्ने थाहा भएपछि – हिमलाल श्रेष्ठ ‘भावुक’ मा फेरिएँ । मलाई ‘भावुक’ भनेर सम्झाइरहने मित्र मोहनकुमार श्रेष्ठ छन् किनकि मेरा कतिपय त्यति बेलाका रचना उनको सञ्चयनमा छ । मैले लेखेर हवाई पत्रिकामा छपाएको पहिलो ‘दीपावली’ शीर्षकको कविता मसँग छैन, उहाँसँग छ ।
हेटौंडामा प्रवीणता तह पढ्दै गर्दा पनि कविता कोर्ने काम चल्थ्यो । तर, उस्तो स्तरीय कविता बनेन सायद । छापिएर कतै आएन । उही कहिलेकाहीं क्याम्पसको कार्यक्रममा वाचन गरेको याद छ । स्नातक पढ्न पोखरा पुगेपछि वन विज्ञानको हाताभित्रै, हाताभन्दा थोरै बाहिर अनि पोखरेली साहित्याकाशको माहोलमा पुगियो ।
कवि ऋषि वस्ताकोटी, धनप्रसाद तामाङको संगतमा परेपछि क्रमशः पोखराको साहित्याकाशमा हुने विविध कार्यक्रममा सहभागी हुन थालियो । हौसिएर हरेक वर्ष ‘सिर्जना र असार’को दुई–तीन संस्करणमा सहभागी भएर सो कार्यक्रम सञ्चालन गर्ने अभिभारा पनि पुरा गर्न सकियो । क्याम्पसभित्र पनि ‘सिर्जना’, ‘विम्ब’, ‘प्रतिविम्ब’ र ‘प्रभात’ जस्ता वार्षिक प्रकाशनमा लेखहरू पठाउँथें र बेलाबेलामा लेख्ने, सुनाउने र प्रकाशनको काम चलिरहन्थ्यो ।
कहिलेकाहीं ऋषिजी र धनप्रसादजीसँग मिलेर आफैंआफैं कविता सुनाउने र सुन्ने गर्थ्यौं । ‘तिमी जून छोप्दिनौ जुना’ भन्ने धनप्रसादजीको कविता सुनेको अझै याद छ । ‘सिर्जना र असार’ कार्यक्रम सञ्चालनको दौरान हिमाली संरक्षण समूहको साथ सहयोग अतुलनीय छ । हिमाली संरक्षण समूहको अगुवाइमा पोखरा सार्वजनिक पुस्तकालयसँगको सहकार्यमा बालबालिकाहरूबीच कथा प्रतियोगिता गराएर सो मध्ये उत्कृष्ट कथाहरूको सँगालो ‘फूलबारी’ प्रकाशन गरिएको थियो । सो को सम्पादनको कार्य हामी तीन जना ऋषिजी, धनप्रसादजी र मैले गरेका थियौं ।
हरेक मंगलबार प्रकाशन हुने ‘जनादेश’ पत्रिका किनेर त्यसलाई पत्रिकाको कभर नदेखिने गरी उल्टो पट्याएर ल्याउने समयमा कतिपय प्रकाशन ‘पर्वतमाला’को नामबाट पनि भएको छ । उति बेला पोखरामा ‘आदर्श समाज’ र ‘राष्ट्रिय स्वाभिमान’ दैनिक अनि केन्द्रीय पत्रपत्रिका– महिमा, जनादेश, गरिमा आदिमा मेरा लेखहरू प्रकाशित भएका छन् ।
यिनै महत्वाकांक्षालाई समेट्दै २०६५ सालमा ‘युगीन कविता’मा केही कविताहरू संग्रहित गरेको छु । कविता, कथा–लघुकथा, आलेख, संस्मरण र समीक्षा लेखन मेरो कलम चल्ने विधा हो । सन् २०१९ को कोभिड महामारीपछि लघुकथामा अलिक हात बसेको छ । समीक्षा लेखन चाहिं सानैदेखिको मनभित्र गढेर बसेको विधा रहेछ – सानोमा ल्यु सुनको ‘चम्किलो रातो तारा’ पढेपछि, म्याक्सिम गोर्कीको ‘आमा’ पढेपछि र विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’, ‘तीन घुम्ती’ अनि ‘मोदिआइन’ पढेपछि लेखेको याद छ । तर, त्यो प्रकाशन भने भएको छैन ।
कोभिड २०१९ को दौरान ‘हिमाली संरक्षण समूह’ र ‘सिर्जना र असार समूह’लाई पुनः जीवन दिँदै केही भर्चुअल कार्यक्रम गर्ने कार्यमा सरिक भइयो र सो को प्रकाशन ‘माटो, मानव र सिर्जना’ स्मारिकाको सम्पादनमा सहभागी हुने मौका मिल्यो । सो कार्यमा डा. ऋषि बस्ताकोटी, डा. भरतमान श्रेष्ठ तथा धनप्रसाद तामाङको भूमिका अतुलनीय छ ।
जुन ५, २०२२ मा पर्यावरणीय साहित्य र वन तथा वातावरण विषय पढेका र साहित्यकर्ममा लागेका व्यक्तिहरूको समूह निर्माण गर्ने अभिप्रायले ‘वन तथा वातावरण साहित्यिक समूह’ सामाजिक सञ्जालका रूपमा सञ्चालनमा आएको छ । यसमा पनि डा. रोशन शेरचन, डा. भरतमान श्रेष्ठ, डा. ऋषि बस्ताकोटी लगायत अन्य सम्पूर्ण सदस्यहरूसँग सहकार्य गर्ने अवसर जुरेको छ ।
हाल आएर पोखरा, गोरखा, भक्तपुर, चितवन, काठमाडौं, दाङ लगायत देशैभरका र देशदेशावरमा रहनुभएका नेपाली साहित्यकर्मीहरूसँग सहकार्य गर्दै नेपाली साहित्याकाशमा विचरण गर्ने प्रयास जारी छ । पर्यावरणीय साहित्यको उत्कट चाहना २०५४–५५ मा गरिएको ‘सिर्जना र असार’ कार्यक्रम, ‘फूलबारी’ प्रकाशन, बेलाबेला ‘संरक्षण कवितायात्रा’मा सहभागी भएर र आफ्ना वन वातावरणसम्बन्धी लेखरचना तयार गर्दै जारी छ ।
(वन तथा वातावरण साहित्यिक समूहको संयोजनमा नेपाल वन प्राविधिक संघ र इन्डिगो इन्क प्रा. लि. द्वारा प्रकाशित ‘प्रकृति : सहअस्तित्वको खोजी’ नामक पुस्तकबाट ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।