साहित्यकार सरुभक्तका ५ वटा मुक्तक सङ्ग्रहलाई एउटै कृतिभित्र समेटेर प्रकाशन गरिएको छ । आयोजक मुक्तक मञ्च, केन्द्रीय समितिका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’ ले कृतिको लोकार्पण गर्नुभएको हो ।
यसअघि प्रकाशित ३ वटा तथा नयाँ २ वटा मुक्तकसङ्ग्रह समेटिएको ‘सरुभक्तका मुक्तक’ नामक कृति पोखरामा सार्वजनिक गरिएको हो । कृति नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाले प्रकाशन गरेको हो ।
सरुभक्तका दार्शनिक मुक्तकहरूले आफूलाई आकर्षण गर्ने गरेको वात्सायनले बताउनुभयो । निरन्तर साधना र अध्ययनले सरुभक्तलाई आजको सरुभक्त बनाएको भन्दै उहाँले पोखरा मात्र नभई सिङ्गो नेपाली साहित्यकै गौरव गर्नलायक साहित्यकारका रूपमा आफूले सरुभक्तलाई चिनेको बताउनुभयो ।
सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ नामक मुक्तक सङ्ग्रह वि.सं. २०३५ मा प्रकाशन भएको थियो । पोखराकै पहिलो मुक्तक सङ्ग्रहका रूपमा परिचित उक्त कृतिसँगै हजार बुद्धहरू (२०६१) र प्रेमयात्रा (२०६७) सहित पूर्व प्रकाशित ३ कृति र ‘जीवनयात्रा’ र ‘समययात्रा’ गरी दुई नयाँ कृति सो पुस्तकमा समावेश गरिएका छन् ।
मुक्तककार सरुभक्तले मुक्तकसँगको आफ्नो सम्बन्ध गाढा भएको भन्दै अब मुक्तकले नै लेखाउने अवस्थामा पुगेको अनुभव सुनाउनुभयो । भन्नुभयो, ‘लेख्दिनँ भन्छु तर मुक्तकले नै मलाई मुक्तक लेखाउँछ ।’ उहाँले नेपालभरि मुक्तकसम्बन्धी अनेकौँ गतिविधि सञ्चालन हुँदै आएको बताउँदै आगामी दिनमा अन्तर्राष्ट्रिय मुक्तक गोष्ठी आयोजना गर्न मुक्तकसम्बन्धी संस्थाहरूसँग प्रस्ताव गर्नुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तका यसअघि आख्यान, नाटक, कवितालगायतका झण्डै ४ दर्जन कृति प्रकाशित छन् ।
साहित्यकार तीर्थ श्रेष्ठले सरुभक्तका मुक्तकको विशाल सङ्कलन प्रकाशन हुनुलाई ‘ऐतिहासिक कार्य’को संज्ञा दिनुभयो । टिकटमा मुक्तक कार्यक्रम शुरु गर्दादेखि हालसम्मका मुक्तकहरूलाई एउटै सङ्ग्रहमा समेटेर प्रकाशन गरिनु समग्र नेपाली मुक्तक क्षेत्रकै गौरवको कुरा भएको उहाँको भनाइ थियो । उहाँले मुक्तक कसैले यही संरचनामा लेख भन्न नहुने बताउँदै त्यस्तो तानाशाही प्रवृत्तिलाई कसैले नमान्ने तर्क गर्नुभयो ।
कृतिका सम्पादक डा. रूपक श्रेष्ठले सरुभक्त जस्तो दिग्गज स्रष्टाका मुक्तकहरूको सम्पादन गर्ने क्षमता आफूले नराख्ने बताउँदै आफू केवल सङ्कलक भएको धारणा राख्नुभयो । उहाँले सरुभक्तका मुक्तकहरूको सङ्कलन प्रकाशन गरेर सरुभक्तको मुक्तक मात्रै प्रकाशन गरेको नभई सिङ्गो नेपाली मुक्तकको इतिहासको संरक्षण गर्ने प्रयास गरेको बताउनुभयो । कृति प्रकाशनबाट प्राप्त रकमबाट मुक्तकसम्बन्धी पुरस्कार स्थापनाका लागि खर्चिने उनले जानकारी दिनुभयो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले चार हरफको रचना भनेर मुक्तकप्रति नकारात्मक दृष्टि राख्नेप्रति असन्तोष व्यक्त गर्दै सिङ्गो महाकाव्यले दिन सक्ने भाव एउटै मुक्तकले दिन सक्ने जिकिर गर्नुभयो । प्रतिष्ठानकै संस्थापक महासचिव रमेश पौडेलले सरुभक्त मुक्तक मन पराउनेहरूका लागि पवित्र धाम भएको बताउनुभयो । पागल बस्ती नामक उपन्यासका लागि २०४८ को मदन पुरस्कार विजेता सरुभक्तले अन्य विधा लेख्न नजानेर मुक्तकमा लागिरहेका नभई मुक्तकप्रतिको लगाव र यसको शक्तिका कारण लेखिरहेको पौडेलको तर्क थियो ।
नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरलेले स्वागत तथा सचिव नवीन भण्डारीले सहजीकरण गर्नुभएको कार्यक्रममा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले कृतिभित्रबाट केही मुक्तक वाचन गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।