खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई दिने भएको छ ।

मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–साँस्कृतिक उपन्यास भएको प्रष्ठिानले बताएको छ । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबिचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।

१८० पुस्तकमध्येबाट यो कृतिलाई उत्कृष्ट ठहर्‍याइएको प्रतिष्ठानले विज्ञप्तिमा बताइएकाे छ । विज्ञप्तिअनुसार छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची) मा पन्ध्र र दोस्रो चरण (संक्षिप्त सूची) मा पाँच पुस्तक सार्वजनिक गरिएको थियो।

पद्मश्री साधना सम्मान बिसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय गरिएको छ ।

नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिने काम गरेकोले नेपाली चित्रकलामा वात्स्यायनको पुर्याएकाे योगदान विशिष्ट रहेकाले यो सम्मान उनलाई प्रदान गरिएकाे बताइएकाे छ ।

त्यस्तै, यस वर्षको पद्मश्री गौरव पुरस्कार शिक्षा क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई दिइने भएकाे छ । यो गत वर्षबाट प्रदान गर्न थालिएको पुरस्कार हो।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको रााशि तीन लाख रहेको छ ।

सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने छ ।