नेपाली भाषा–साहित्यका ज्ञाता डा. देवीप्रसाद सुवेदीकृत ऋग्वेदकालीन उपन्यास ‘मनु’माथि अन्तर्क्रिया सम्पन्न भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा समालोचक प्राडा. लक्ष्मणप्रसाद गौतम, डा. रजनी ढकाल तथा पत्रकार सोमनाथ घिमिरेले पुस्तकमाथि परिचर्चा गरेका हुन् ।
पुस्तकमाथि चर्चा गर्दै प्राडा. गौतमले भने, ‘हाम्रो सभ्यताको जरासम्म पुग्न र आफ्नो भाषा–संस्कृतिलाई बुझ्न अहिलेको पुस्ताले यो उपन्यास पढ्नैपर्छ । साहित्यलाई हल्काफुल्का लेखाइ हो भनेर व्याख्या गरिरहेको अहिलेको समयमा उत्तरवैदिककालीन समाजका पात्र, समय र परिवेश पढ्दा पाठकले साँच्चिकै नौलो कल्पनाशीलताको महसुस गर्छन् ।’
नेपाली साहित्यमा माधवी लेखनको ४ दशकपछि ऋग्वैदिक सामाजिक उपन्यास ‘मनु’ प्रकाशन भएकोमा अर्की वक्ता डा रजनी ढकालले खुसी व्यक्त गरिन् । भनिन्, ‘वैदिक वाङ्मयमा हामी कति सम्पन्न थियौं र हाम्रो सम्पन्नताको आधारशीला किन खस्कियो भन्ने बुझ्न यो पुस्तक सहायकसिद्ध छ । मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले रोचक ढङ्गले चित्रण गरेको छ । त्यसैले अहिलेको पाठक पुस्ताले यो उपन्यास पढ्न जरुरी छ ।’
‘साहित्य मात्रै कोरा कल्पना होइन, यो इतिहास, संस्कृति र सभ्यताको द्योतक पनि भएकोले मनुभित्रको तक्षशिला स्कूलमा प्रवेश गर्नुपर्छ,’ उपन्यासबारे बोल्दै अर्का वक्ता पत्रकार सोमनाथ घिमिरेले भने ।
लेखक देवीप्रसाद सुवेदीले युवावयदेखि सोचिरहेको उपन्यास लेखेर पाठकलाई हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।