सिलगढ़ी । बुकएन्ट पब्लिकेसन, सालबारीमा आयोजित एक समारोहमा सिक्किम विश्वविद्यालयको नेपाली विभागकी प्राध्यापिका डा. शर्माको कृति ‘गोलसिमल’को विधिवत् लोकार्पण भएको छ।
“लोककथा भनेको मानव सभ्यता जतिकै पुरानो धरोहर हो । लोककथा समकालीन साहित्यको प्रवृत्ति हो। समकालीन र आगामी पुस्ताका लागि काम लाग्ने गरी सम्पन्न हिमाली लोककथाहरूलाई समेटेर डा. पुष्पा शर्माले गोलसिमल निकालेकी छन्। मूल नेपालीबाट अङ्ग्रेजीमा आउनु समय सापेक्ष पहल भएको छ,” डा. पुष्पा शर्माद्वारा सङ्कलित नेपाली क्षेत्रीय लोककथाहरू ‘गोलसिमल’को अङ्ग्रेजी अनुवाद संस्करणको लोकार्पण समारोहमा भाषाविद् व्याकरणविद् विद्वान् डा. गोकुल सिन्हाले आफ्नो सम्बोधनमा भनिरहेका थिए ।
लोककथाको ऐतिहासिक परम्परागत विवेचना गर्दै सिक्किम विश्वविद्यालयको नेपाली विभागका सह-प्राध्यापक डा. बलराम पाण्डेले गोलसिमल पुस्तकको समीक्षा गरे। “लोककथा सङ्कलन आफैमा चुनौतिपूर्ण छ। गोलसिमलमा नेपाली समुदायका चुनिएका लोककथाहरूको विकीर्ण प्रतिनिधित्व रहेको छ। समाज बिस्तार मानव मूल्यहरूबाट विमुख बन्दै गइरहेको बेला गोलसिमलले मानव समाजलाई स्मृतिको व्यापक संसारलाई पुनर्जीवित गराउने प्रायस गरेको छ,” डा. पाण्डेले भने।
“मेरी हजुरआमाबाट र अन्यान्य स्रोतहरूबाट सानैदेखि सुन्दै आएका लोककथाहरू सधैँ मेरा विशेष चासोका विषय बनेका हुन्। लोककथाले बोकेको सन्देश अत्याधुनिक युगमा पनि प्रासङ्गिक रहेको हुन्छ। हाम्रो नेपाली समाजको लोक परम्परा अति समृद्ध छ। यसलाई जगेर्ना गरेर राख्ने जिम्मेवारी हामी सबैको हो,” डा. शर्माले सर्जक सम्बोधनमा भनिन्।
समारोहमा ‘गोलसिमल एवं हिमाली लोककथा’ विषयमा एउटा रोचक विमर्श पनि राखियो। स्मृति प्रधानले सहजकर्ताको भूमिका निर्वाह गरेको उक्त विमर्श सत्रमा उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागाध्यक्ष एवं लोकआख्यान ज्ञाता डा. पुष्कर पराजुली, सिलगढ़ी महाविद्यालयको नेपाली विभागकी सह प्राध्यापिका एवं अनुवाद विशेषज्ञ डा. राजकुमारी दाहाल, डा. पुष्पा शर्मा र डा. सुरज गुरुङले स्रोत व्यक्तिको भूमिकामा अंशग्रहण गरेका थिए।
गायिका रजनी सुन्दासले लोकगीत प्रस्तुत गरेर आरम्भ भएको समारोहमा नङ चित्रकार अजय कुमार सरकारले गोलसिमलको तत्काल नङ-चित्र बनाएर दर्शकवर्गलाई मन्त्रमुग्ध पारेका थिए। गोलसिमल कृतिका चित्रकार एवं भूतपूर्व प्राध्यापक पङ्कज थापालाई सर्जक डा. शर्माले विशेष संवर्द्धना जनाएकी थिइन्।
कवि ज्ञानेन्द्र खतिवडा मुख्य अतिथि एवं उत्तरबङ्ग विश्वविद्यालयको नेपाली विभागका प्राध्यापक डा. घनश्याम नेपाल विशिष्ट अतिथि रहेको समारोहको सञ्चालन सुरज गुरुङले गरेका थिए।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।