नेपाली साहित्यमा संस्कृत साहित्यको सर्वत्र प्रभाव पाइन्छ। वास्तवमा नेपाली साहित्यले आदिबीज नै संस्कृत वाङ्‌मयबाट प्राप्त गरेको हो। नेपाली भाषाको स्रोत नै संस्कृत भाषा भएको वा लौकिक संस्कृतबाट हाँगा फाटेर नेपाली भाषा भएको र आधुनिक नेपाली भाषाको शब्द भण्डारमा संस्कृत मूलको तत्सम र तदभव शब्दहरूको प्रचुरता रहेबाट यी दुई भाषा- साहित्यमाझको अन्तर सम्बन्ध र निकटता प्रस्ट हुन्छ।
नेपाली साहित्यको सुरूवात संस्कृत वाङमयका विभिन्न पद्य-गद्यमूलक रचना वा कृतिको अनुवादबाट भएको हो। नेपाली साहित्यको सबै विधामा, यसको दर्शन-सिद्धान्तमा, लोकसाहित्यमा, कोश-व्याकरणमा, भक्ति साहित्यमा, अनुवाद साहित्यमा र यसको तीनवटै साहित्य कालमा संस्कृत साहित्यको व्यापक प्रभाव पाइन्छ। हाम्रो धार्मिक आस्था र मान्यता सबै वेद-वेदादि, पुराण, श्रीमदभागवतगीता, रामायण, महाभारत जस्ता प्राचीन संस्कृत वाङमयका ग्रन्थहरू सम्बन्धित रहेको छ। त्यसैले नेपाली साहित्यको जुन निकटता संस्कृत साहित्यसित छ, त्यतिको निकटता अन्य भाषा साहित्यसित अवश्य छैन।
नेपाली साहित्यको पृष्ठभूमि पूर्णतः संस्कृत साहित्यबाट प्रभाव-प्रेरित छ। नेपाली साहित्यको पृष्ठभूमि पूर्णतः संस्कृत वाङमयका विभिन्न ग्रन्थहरूको पूर्ण वा सारानुवादमा केन्द्रित रहेको देखिन्छ। प्राथमिक र माध्यमिककालीन नेपाली साहित्य पर्याप्त मात्रामा र आधुनिक नेपाली साहित्य आङ्शिक रूपमा संस्कृत साहित्यबाट प्रभाव -प्रेरित देखिन्छ। आधुनिक कालमा नेपाली साहित्यमा संस्कृत साहित्यको प्रत्यक्ष प्रभाव नपाइए तापनि संस्कृत वाङमयका जीवन्त पात्र- पात्राहरूलाई मिथक र प्रतीकका रूपमा भने प्रशस्त मात्रामा प्रस्तुत गरिएको पाइन्छ। नेपाली भाषामा यथाप्राप्त प्राचीनतम ग्रन्थ भास्वती-को नेपाली अनुवादलाई मानिन्छ, त्यसलाई कुनै अज्ञात व्यक्तिले सन् 1343 मा संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेको अन्वेषक जग्दीशचन्द्र रेग्मीले बताएका छन्। यसरी नै बेनामीको स्वास्थानी व्रतकथा सन् 1610 र बेनामीकै खण्डखाद्य (सन् 1601) संस्कृतबाट नेपाली भाषामा अनूदित प्राचीन नेपाली वाङमय मानिन्छ, जसले नेपाली साहित्यको पृष्ठभूमि निर्माण गर्न महत्त्वपूर्ण सहयोग गरेको छ।
नेपाली साहित्यको विभिन्न विधामा संस्कृत साहित्यको प्रभाव प्रशस्तै पाइन्छ। जस्तै-

1. नेपाली पद्य साहित्य वा कवितामा संस्कृत साहित्यको प्रभाव
नेपाली पद्य वा कविता साहित्यमा संस्कृत साहित्यको प्रत्यक्ष वा परोक्ष प्रभाव पाइन्छ। नेपाली भक्तिसाहित्यअन्तर्गत कृष्ण भक्ति धारामा वसन्त शर्माको कृण्णचरित्र होस् वा विद्यारण्य केशरीको गोपिकास्तुति वा वीरशाली पन्तको सरस प्रेमावती होस् सबै कृति संस्कृतको बृहत् काव्य श्रीमद्भागवतगीताका विभिन्न स्कन्धबाट नेपालीमा अनुवाद भएको हो। यसरी नै सुब्बा होमनाथ केदारनाथको महाभारत विराट पर्व, कृष्णप्रसाद रेग्मीको देवी भागवत, मोतीराम भट्टको गजेन्द्रमोक्ष र प्रह्लाद भक्ति कथा, शम्भुप्रसाद ढुंगेलको महाभारत केही पर्वको अनुवाद, शिखरनाथको बृहत् कृष्ण चरित्र, चिरञ्जीवी पौडेलको श्रीमद्भागवत अनुवाद संस्कृतबाट नेपालीमा अनुवाद भएका कृष्णभक्ति धाराका उल्लेखनीय कृतिहरू हुन्। यसरी नै रामभक्ति धाराअन्तर्गत भानुभक्त आचार्यको आध्यात्म रामायण, रघुनाथ भट्टको सुन्दरकाण्ड रामायण र परवर्तीकालीन होमनाथ खतिवडाको नृसिंहचरित्र, कृष्णप्रसाद रेग्मीको सत्यहरिश्चन्द्र लगायत रमाकान्त बरालको अनुदित रामायण, भोजराज भट्टराईको आनन्द रामायण, हेम वल्लभको आग्नेधुर रामायण, होमनाथ, केदारनाथ र शिखरनाथको रामाश्वमेध रामायण पनि राम भक्तिधाराका महत्त्वपूर्ण कृति मानिन्छन् भने आधुनिककालमा आएर लक्ष्मीप्रसाद देवकोटाका शाकुन्तल महाकाव्य होस् वा रावण जटायु युद्ध खण्डकाव्य वा तुलसीबहादुर छेत्रीको कर्णकुन्ती वा जगदीश शमशेर ऱाणाको नरसिंह अवतार सबै कृतिको आदिस्रोत संस्कृत साहित्य नै हो।

2.नेपाली गद्याख्यानमा संस्कृत साहित्यको प्रभाव
नेपाली गद्याख्यान लेखन परम्परा पनि पूर्ण रूपले संस्कृत साहित्यबाट प्रभावित छ। संस्कृतका रामायण, महाभारत पुराण लगायतका ग्रन्थहरूको अनूदित वा रूपान्तरित रूप नै नेपाली गद्याख्यानको आधारभूमि हो। भानुदत्तका हितोपदेशको मित्रलाभ (सन् 1776) र दशकुमार चरित(सन् 1818), विजयानन्दका महाभारत आदिपर्व र शल्यपर्व (सन् 1829), सिंहवीर नायकको लङ्काकाण्ड (सन् 1831), राजा दैवज्ञ उपेन्द्रध्वजको रामायण लङ्काकाण्ड (सन् 1855), पदमदास भक्तको वायुपुराण केदारकल्प (सन् 1878) जस्ता कृतिहरू संस्कृतबाट सोझै नेपालीमा अनुवाद भएका गद्याख्यानहरू हुन् भने आधुनिककालमा आएर कृष्ण धरावासीको ‘राधा’ जस्तो उपन्यास पनि संस्कृत साहित्यकै मिथकीकरण हो।

3.नेपाली नाटकमा संस्कृत साहित्यको प्रभाव
नेपाली साहित्यमा नाटक लेखनको प्रारम्भ संस्कृत नाटकहरूको अनुवादबाट भएको हो। शक्तिबल्भव अर्यालले आफैँले संस्कृतमा लेखेर नेपालीमा अनुवाद गरेको हास्यकदम्ब (सन् 1798) नाटक नेपाली साहित्यको प्रथम लेख्य नाटक मानिन्छ । यसरी नै भवानीदत्त पाण्डेद्वारा अनूदित विशाखादत्तको मुद्राराक्षस (सन् 1835), मोतीराम भट्टले संस्कृतबाट नेपालीमा अनुवाद गरेका शाकुन्तल (सन् 1886), प्रियदर्शिका (सन् 1890), पद्मावती, रत्नावली साथै कालिदासको अभिज्ञान शाकुन्तललाई पहलमान स्वाँर, लेखनाथ पौड्याल, शम्भुप्रसाद ढुङ्गेल, चक्रपाणि चालिसे, भवभूतिको उत्तरराम चरितमलाई कालिदास पराजुलीले, भासको स्वप्नवासवदत्तलाई अर्जुन शम्शेरले विभिन्न समयमा संस्कृतबाट नेपालीमा अनुवाद गरेका छन् भने आधुनिक कालमा आएर लेखिएको बालकृण्ण समका प्रह्लाद, ध्रुवजस्ता नाटकहरूको आधारभूमि पनि संस्कृत साहित्य नै हो।

4.नेपाली समालोचना साहित्यमा संस्कृत साहित्यको प्रभाव
नेपाली साहित्यका अन्य विधामा जस्तै नेपाली समालोचनाको क्षेत्रमा पनि संस्कृत साहित्यको प्रशस्त प्रभाव पाइन्छ। संस्कृत साहित्यशास्त्रका रीतिवाद,अलङ्कारवाद, ध्वनिवाद, रस सिद्धान्तजस्ता सिद्धान्त र महाकाव्य खण्डकाव्य चप्पुकाव्य लगायतका सिद्धान्त प्रशस्त मात्रामा नेपाली समालोचनामा प्रयोग भएको पाइन्छ। नेपाली समालोचक डिल्लीराम तिम्सिनाले राजशेखरको काव्यमीमांसा (सन् 1973), कोमलप्रसाद अधिकारीले कविराज विश्वनाथको साहित्यदर्पणलाई गोविन्दराज भट्टराईले भरतमुनिको नाट्यशास्त्रलाई नेपालीमा अनुवाद गरेको पाइन्छ भने केशवप्रसाद उपाध्यायको साहित्यप्रकाश घटराज भट्टराईको संस्कृतका अमर साहित्यकार चुडामणि खनालको संस्कृत साहित्यको परम्परा जस्ता कृतिहरू नेपाली समालोचना साहित्यका अमूल्य ग्रन्थहरू हुन्, जो संस्कृत साहित्यशास्त्रसित सम्बन्धित छन्।

5.नेपाली साहित्यमा संस्कृत दर्शनको प्रभाव
नेपाली साहित्यका विभिन्न विधामा प्राचीन कालदेखि नै संस्कृतको दर्शनको प्रभाव पाइन्छ । पूर्वीय अर्थात् संस्कृतका दर्शनिकहरूहरूले प्रशस्त मात्रामा आस्तिक दर्शनहरू मूलतः सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शनले ईश्वर, आत्मा, जगत्, मन, जीवन, इहलोक, परलोक, कर्म, सृष्टि, स्थिति, लयजस्ता अनेक विषयमा सूक्ष्म चिन्तन गरेका छन् । यी दर्शनले चिन्तन गरेका विषयलाई नेपाली साहित्यका प्राथमिककालीन स्रष्टादेखि हालसम्मका धेरै सर्जकले कुनै न कुनै रूपमा आफ्ना रचनामा समेटेको पाइन्छ। नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्धजस्ता सबैजसो विधामा पूर्वीय अर्थात् संस्कृतको दर्शनको प्रभाव र छाप परेको देखिन्छ ।आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत अनेक स्रष्टाका कृतिहरूमा पूर्वीय अर्थात् संस्कृतको दार्शनिक चिन्तन पाइन्छ।

यसरी नेपाली साहित्यका प्रायशः विधामा संस्कृत साहित्यको प्रभाव पाइन्छ भने नेपाली साहित्यका त्रिरत्न लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण समको लेखनमा संस्कृत साहित्यको प्रशस्त प्रभाव पाइन्छ। यसरी नै शक्तिबल्लभ अर्याल, सुन्दरानन्द बाँडा, रामभद्र पाध्य, कुलचन्द्र कोइराला, कोमलप्रसाद अधिकारी, चक्रपाणि चालिसे, खेमराज केशवशरण, कालिदास पराजुली, हरिनाथ ढुङ्गेल, वासुदेव शर्मा लुइँटेल जस्ता साहित्यकारहरूले संस्कृत र नेपाली साहित्यमा समानन्तर रूपमा कलम चलाएर संस्कृत र नेपाली साहित्यको निकटता र घनिष्टतालाई पुस्टि गरेका छन्।

(डा. पुष्पा शर्मा सिक्किम विश्व विद्यालयको नेपाली विभाग प्रमुख हुनुहुन्छ ।)