साताका पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक शोभाराम ओलीकृत उपन्यास “सुलभ” प्राप्त भएकाे छ ।
सातौँ अध्यायमा विभाजित यस उपन्यास देशमा दशवर्षसम्म चलेको द्वन्द्वमा ज्यानसँग बाजी राखी होमिनु परेका पात्रहरूको जीवन्त कथा हो । त्यही द्वन्द्वको बाछिटाले हिर्काएर विवशतावश विदेसिनु पर्ने प्रवासी नेपालीहरूको शारीरिक तथा मानसिक सङ्घर्ष हो । लेखकले युद्ध र शान्तिको अर्थलाई सरल र सुन्दर तरिकाले उतार्न सफल भएका छन् । यसरी उपन्यासले पाठकलाई कहिले हाँसोको पहाडमा पुर्याउँछ कहिले आँसुको समुद्रमा डुबाउँछ ।
मेरो भनाइमा शाभाराम ओली लेख्छन्, “वर्गीय मुक्तिको निमित्त अहोरात्र खटिरहने किसान बुवा आमाहरू । सुनौले बिहानीको पर्खाइमा रहेका आधार इलाकाहरू । यस्तै यस्तै परिवेशका बीजहरूले मेरो मस्तिष्कसँग समागम गर्न थाले । परदेशको बसाइँमै अन्ततः मस्तिष्कले गर्भधारण गर्यो । यही गर्भलाई साहित्यिक शल्यक्रिया गरेपश्चात् जन्मिएका शब्दहरूको समूह हो सुलभ ।”
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ,
“नामअनुसारको मान्छे हुँदैनन् भन्थे तर हुँदा रहेछन् ।
कति गाह्रो हुँदो हो यी नाङ्गिएका बाटेबिरुवाहरूलाई यस्तो चिसोमा रात काट्न ?
बालुवामा पसिना खन्याउने हो भने हराभरा हुँदो रहेछ ।
भर्खर जुँगाको रेखी बस्ने तरखर गर्दै थिए । जनयुद्धमा होमिएँ । मर्न र मार्न तयार भएँ ।
अहिले हामी रातो सागरको अर्को कुनामा बसेर राता बाकसरू हेरिरहेका छौँ ।”
ए.डी.बी पब्लिकेशन प्रा. लि. ले बजारमा ल्याएको २ सय ६७ पृष्ठमा मौलाएको यस पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










