काठमाडौं / मदन पुरस्कार विजेता इतिहासकार भगिराज इङनामको कृति “लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह”को तेस्रो संस्करण प्रकाशित भएको छ ।

साझा प्रकाशनले यो कृतिको दोस्रो र तेस्रो संस्करण प्रकाशित गरेको हो ।

यस कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

आफ्नो कृतिको तेस्रो संस्करण प्रकाशित भएकोमा आफू हर्षित र उत्साहित भएको इतिहासकार इङ्नामले बताउनुभयो। उहाँले अहिले पनि आफू लिम्बूवानका खोज्न बाँकी कयौँ दस्तावेजहरूको खोजीमा ब्यस्त भएको बताउनुभयो ।

उहाँले हाल आफूले पाँच सय जति थप दस्तावेजहरू सङ्कलन गरी त्यसमाथि अध्ययन गरिरहेको पनि जानकारी दिनुभयो ।

इङ्नामको यसअघि “तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा” र “लिम्बू जातिको इतिहास” प्रकाशित छन् । नेपाल सरकारका अवकाश प्राप्त सहसचिव उहाँ हाल लिम्बूवान अध्ययन केन्द्र नामको अनुसन्धान संस्थासँग सम्बद्ध हुनुहुन्छ ।