साझा प्रकाशनको पुस्तक प्रदर्शनी सुरू भएको छ । पुस्तक प्रदर्शनीको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् ।

पुलचोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालयसँगै बिर्तामोड, धरान, विराटनगर, राजविराज, जनकपुर, भरतपुर, पोखरा, नुवाकोट, बुटवल, दाङ र प्रदर्शनीमार्गस्थित बिक्री कक्षमा पनि असोज ७ देखि २२ गतेसम्म प्रदर्शनी चल्नेछ ।

उद्घाटनपश्चात् मेयर आफ्नो पठनप्रतिको लगावबारे बताए । साहित्यप्रति लगाव रहेको बताउँदै मेयर महर्जनले रुचि भएको पुस्तक अध्ययन गर्दा छोड्नै नसक्ने र आफूभित्र रहेको पाठकलाई मेयर पदले खलबल्याउने बताए । उनले साझा प्रकाशनसँग सहकार्य गर्नेसमेत बताए ।

प्रदर्शनीमा साझा प्रकाशनमा लामो समय व्यतीत गरेका अधिकांश पुस्तकका कभर डिजाइनर ९२ वर्षीय कलाकार टेकवीर मुखिया तथा नेपाली लोक नृत्य क्षेत्रमा विशिष्ट योगदान गरेका भैरवबहादुर थापाको उपस्थिति थियो । भैरवबहादुर थापाले हालै साझा प्रकाशनबाट प्रकाशित पुस्तक भैरव अल्फा साइन्स नृत्यको व्याकरण भएको र अन्तर्राष्ट्रिय स्तरमै नयाँ विधाको पुस्तक भएको बताए ।

प्रदर्शनीस्थलमा चार रुपैयाँ २५ पैसादेखि दुई हजार ८०० रुपैयाँसम्मका पुस्तक बिक्रीका लागि राखिएका छन् ।  ५०० भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएको साझाले जनाएको छ ।