काठमाडौँ, चैत १३ / बहुविधाका चर्चित लेखक गोविन्द गिरी प्रेरणाको पहिलो उपन्यास ‘उत्खनन’ पहिलो संस्करण प्रकाशित भएको ३४ वर्षपछि साझा प्रकाशनले दोस्रो संस्करण प्रकाशित गरेको छ । पहिलो संस्करण पनि साझा प्रकाशनले नै प्रकाशनमा ल्याएको थियो ।
लामो समयदेखि बजारमा उपलब्ध नभएको यो उनको उपन्यास साझा प्रकाशनले झण्डै एक दशकअघिबाट दोस्रो संस्करण प्रकाशन गर्न निर्णय गरेता पनि साझा प्रकाशन आफैं गम्भीर आर्थिक तथा व्यवस्थापन सङ्कटमा परेर पुस्तक प्रकाशनमा सुस्तता आएको थियो ।
वरिष्ठ समालोचक कृष्णचन्द्र सिंह प्रधानको महत्त्वपूर्ण भूमिका रहेको यो उपन्यास २०४५ सालमा प्रकाशन हुने बित्तिकै चर्चामा आएको थियो । उपन्यासमा उत्खनन काठमाडौं, उत्खनन हेटौंडा र उत्खनन भैरहवा गरी तीन खण्ड रहेका छन् ।
उपन्यासले २०३६ सालदेखि करिब एक दशकसम्मको कालखण्डको नेपालको स्थितिलाई चित्रण गरेको छ ।
साझा प्रकाशनले यो उपन्यास आफ्ना शाखा, प्रशाखा र बिक्रेता एजेण्टहरू मार्फत देशभर उपलब्ध हुने जनाएको छ ।
कृतिका लेखक गोविन्द गिरी प्रेरणाले ढिलै भए पनि दोस्रो संस्करणको प्रकाशनपछि लामो समयदेखि यस उपन्यास खोजी गर्ने तथा चासो लिने पाठकहरूलाई सहज उपलब्ध हुने खबरले खुशी लागेको बताउनुभएको छ । २०८ पृष्ठको यस कृतिको मूल्य रु ४५० रहेको छ ।
स्मरणीय छ, प्रेरणाको यसै वर्ष प्रकाशित ”सुश्री पारिजात” अहिले नेपाली साहित्यकारहरू र पाठकबीच निकै चर्चामा रहेको छ ।
प्रेरणा साहित्यपोस्टको स्थापनाको दिनदेखिकै नियमित लेखक तथा स्तम्भकार समेत हुनुहुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।