१. “ब” र “व” को उच्चारण भिन्नभिन्नै हुने भए तापनि प्रयोगकर्ताहरू यी दुई वर्णको प्रयोगमा निकै द्विविधामा परेको देखिन्छ । यस समस्याको मुख्य कारण “व”लाई पनि “ब” नै उच्चारण गर्नु हो । नेपाली जनजिब्राले यी दुई वर्णको उच्चारणको भेद ठम्याउन गाह्रो मानेको देखिन्छ ।
२. नेपाली भाषामा शब्दको उच्चार्य रूप र लेख्य रूप केही मात्रामा फरक-फरक हुने भएकाले समेत यस्तो समस्या देखिएको हो ।
३. यहाँ लेख्य रूपका सन्दर्भमा “ब” र “व”को प्रयोगमा हुने द्विविधा निवारणका लागि सानो प्रयास गरिएको छ ।
क. “ब”को प्रयोग
– नेपाली सबै धातु वा क्रियापदमा “ब” नै प्रयोग गरिन्छ ।
जस्तैः बन्नु, बस्नु, बग्नु, बिउँझनु, ब्याउनु, बिग्रनु, बढ्नु, बढाउनु, बढार्नु, बार्नु, बटार्नु, बजार्नु, बामे सर्नु, बाहिरिनु, बराल्नु, बेहोर्नु, बुझ्नु, बुझाउनु, बजाउनु, बज्नु, बिगार्नु, बिसाउनु, बेच्नु, बिकाउनु आदि (सबै) ।
– अधिकतर तद्भव शब्द र अन्य नेपाली मूल शब्दमा “ब” नै प्रयोग गरिन्छ ।
जस्तैः बुवा, बाबु, बा, बाउ, हजुरबा, बधाई, बाइ, बेहोरा, बैसाखी, बगर, घरबार, बारी, आइतबार, सोमबार, शनिबार, बाँस, बाधा, बाढी, बजे, बढी, बढ्ता, अबेला, अबेर, बाटुली, बास्ना, बास, बकुल्ला, बाच्छो, बच्चा, बेलायत आदि ।
– अधिकतर आगन्तुक (स्वदेशी र विदेशी) शब्दमा “ब” नै प्रयोग गरिन्छ ।
जस्तैः गरिबी, करिब, हिसाब, किताब, दरबार, बाकस, रजबार, बाज, धोकेबाज, कारबाही, कारोबार, बैङ्क, ब्यालेन्स, जरिबाना, कबुलियत आदि ।
– बे, बि, बद उपसर्ग लाग्दा बन्ने शब्दमा “ब”कै प्रयोग गरिन्छ ।
जस्तैः बेफाइदा, बेकार, बेनाम, बेपत्ता, बेइलमी, बेकदर, बेहोरा, बिजोग, बेकसुर, बेरुजु, बिछोड, बेहोस, बेताल, बदनाम, बदनियत, बदमास आदि ।
– सङ्ख्यावाचक विशेषणमा “ब” नै प्रयोग गरिन्छ ।
जस्तैः बीस (बिस), बाईस (बाइस), बाह्र, बाउन्न आदि ।
– नेपाली अव्यय जनाउन प्रयोग गरिने शब्दमा “ब” नै प्रयोग गरिन्छ ।
जस्तैः अब, तब, जब, बिस्तारै, बेग्लै, बेसरी (बेस्सरी), बित्तिकै आदि ।
– ब्रह्म शब्दसँग जोडिएर आउने शब्दमा “ब”को प्रयोग गरिन्छ ।
जस्तैः ब्रह्म, ब्रह्मा, ब्रह्माण्ड, ब्राह्मण आदि ।
– “ब”को प्रयोग हुने तत्सम शब्दहरू :
शब्द, बाल (बालक, बालिका, बालबालिका, बाल्यावस्था), ब्याज, बोध (सुबोध, सम्बोधन, अबोध), बद्ध (सम्बद्ध, आबद्ध), बृहत्, कुबेर, बकासुर (बक+असुर), प्रतिविम्ब, बाग, बल, आदि ।
– बुद्ध (सम्बुद्ध, प्रबुद्ध), बन्ध (सम्बन्ध, निबन्ध, बन्धन) आदि।
ख. “व”को प्रयोग
– “वि” उपसर्ग लाग्दा बन्ने सबै तत्सम शब्दमा “व” नै प्रयोग हुन्छ (तत्सममा बि उपसर्ग हुँदैन) ।
जस्तैः विज्ञान, विकास, विकेन्द्रीकरण, विवेक, विकार, विवश, विशेषण, विलाप, विलम्ब, विचार, विचलन, विवरण, विचरण, विदीर्ण, विकट, विपन्न, विकसित, विसङ्गति, विकृति, विनाश, विशेषज्ञ, विहार, विगत, विकराल, विषय, विवाद, विद्वेष, विद्वान्, विदुषी, विभूति, विकलाङ्ग, विमुख, विधा (सुविधा, द्विविधा), विभाजन, विधान, संविधान, विमल, विपरीत, विरुद्ध, विमुक्ति, विसर्जन, विज्ञापन, विमति, विशृङ्खला, विद्या (विद्यालय, विद्यार्थी), विभक्ति, विशुद्धि, विमान, विधायन (विधेयक, विधायक, विधायिकी परीक्षण), विक्रम, विवाह, विफल आदि ।
– “अव” उपसर्ग लागेर बन्ने तत्सम शब्दमा “व”कै प्रयोग हुन्छ ।
जस्तैः अवतार, अवहेलना, अवसान, अवकाश, अवधारणा, अवलोकन, पुनरवलोकन, अवसर, अवधि, अवयव, अवगत, अवनत, अव्यय, अवश्य, अवश आदि ।
– विद् र यससँग जोडिएका शब्दमा “व”को प्रयोग हुन्छ ।
जस्तैः वेद, वैदिक, आयुर्वेदिक, विद्वान्, विदुषी, आदि ।
– संयुक्त वर्ण “व्य” लागेका तत्सम शब्दमा “व” प्रयोग हुन्छ ।
जस्तैः व्यवहार (व्यावहारिक), व्यस्त, व्यक्ति (वैयक्तिक), व्यक्त, व्यवसाय (व्यावसायिक, व्यवसायी), व्यवधान, व्यास, वेदव्यास, व्यवस्था, व्याख्या, व्यापक, कर्तव्य, द्रष्टव्य, गन्तव्य, सम्भाव्य, अव्यय, व्यग्र, व्याप्ति आदि ।
– “स्व/श्व” प्रयोग हुने शब्दहरूमा “व” नै प्रयोग हुन्छ ।
स्वतः, स्वभाव, स्वाधीन, सर्वस्व, स्वतन्त्र, स्वर, स्वीकार (स्वीकृति), स्वस्थ, स्वास्थ्य, स्वावलम्बी, स्वचालित, स्वर्ग, श्वास, प्रश्वास, विश्व, स्वामी, श्वजन (कुकुर), स्वजन (असल), स्वेद (पसिना), श्वेत (सेतो), अश्वेत (कालो), अश्व (घोडा), ईश्वर, आश्विन, आश्वासन, आश्वस्त, आदि ।
– “वाद” र यससँग जोडिएर आउने तत्सम शब्दहरूमा “व”कै प्रयोग गरिन्छ ।
जस्तैः संविधानवाद, साम्यवाद, समाजवाद, संवाद, अपवाद, कर्मवाद, भाग्यवाद, यथास्थितिवादी आदि ।
– “वान्/वती/वत्”सँग जोडिएर आउने तत्सम शब्दमा “व”कै प्रयोग गरिन्छ ।
जस्तैः भगवान्/भगवती, विद्वान्, बलवान्, वीरवान्, गुणवान्, मूल्यवान्, रूपवान्/रूपवती, धनवान्, रसवान्, फलवान्, नाशवान्, भाग्यवती, सौभाग्यवती, विधिवत् आदि ।
– “वे”का रूपमा प्रयोग हुने तत्सम शब्दमा “व”को प्रयोग हुन्छ ।
जस्तैः सर्वेक्षण, सुपरिवेक्षण, वेग, वेला, अधिवेशन, प्रतिवेदन, वेश्या (वेश्यावृत्ति, वेश्यागमन), वेद, वेतन, वेश, स्वेद, वेदना, संवेदना, समवेदना, संवेदनशील, संवेग आदि।
– “सर्व”सँग जाडिएर आउने शब्दमा “व” नै प्रयोग गरिन्छ ।
जस्तैः सर्व (सबै भन्ने अर्थमा), सर्वजन, सार्वजनिक, सर्वस्व, सर्वदा, सर्वथा, सर्वत्र, सर्वज्ञ, सर्वनाम, सर्वनाश, सर्वहारा, सर्वदलीय, सर्वश्री आदि ।
– संयुक्त वर्ण “द्व” सँग जोडिएर आउने शब्दमा व कै प्रयोग गरिन्छ ।
जस्तैः द्वन्द्व, द्वार, द्वारा, द्वितीय, द्वित्व, द्विविधा आदि ।
– “व”को प्रयोग हुने अन्य तत्सम शब्दहरू :
वन, वरण (वातावरण, विवरण), वायु, संवत्, पूर्व, सचिव (सचिवालय), वर्तमान, कार्यान्वयन, सर्व (सर्वोच्च, सर्वस्व), भव (अनुभव), भाव (स्वभाव, प्रादुर्भाव, दुर्भाव), वर, वधू, वसुधा, वसुन्धरा, वास्तव, वास्तविक (ता), वास्तु, वस्तु, वसन्त, वार्षिक, वर्ष, वाचन, वीर, वीर्य, वाक्, देव, वाद्य, वाच्य, वाक्य, वाष्प, वार्ता (अन्तर्वार्ता), एवम्, शिव, विष्णु, वृक्ष आदि ।
– नेपालीमा “व” उच्चारण नै हुने केही शब्दहरू :
जस्तै : वरिपरि, वटा, ट्वाल्ल, झ्वाम्म, वारि आदि ।
– “व”कै प्रयोग हुने केही नेपाली शब्द (तद्भव, आगन्तुक) :
स्वाङ, वस्ती (थर), झ्वाट्ट, ठ्वासठ्वास्ती, छ्वासछ्वास्ती, बुवा, सवाल, नेवार, वकालत, सिँवाली, सुरुवाल, पसलवाला, बहालवाला, हवलदार, स्वाल्ल, स्वाद, हवस् (हस् भन्ने अर्थमा), वडा, वार्ड आदि ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।