६० वर्षअघि पृथ्वीको अक्षमा एउटै मात्र मानव निर्मित वस्तुले पृथ्वीलाई परिक्रमा गर्ने गर्थ्यो । अहिले १०० ट्रिलियन (१० नील) अर्थात् १ मा १४ वटा शून्य थपेर जति संख्या हुन्छ, त्यति नै वस्तुले परिक्रमा गर्छ । मानिस निर्मित यी उपग्रह पृथ्वी नजिकैको अन्तरिक्ष (लो अर्थ अर्बिट) मा परिक्रमा गर्ने गर्छ । पत्याउनु भएन ? स्वयं वैज्ञानिकहरू पनि छक्क परिरहेका छन् । यी चालीस वर्षमा मान्छेले अन्तरिक्षमा कति धेरै सामान पठाइसकेछ !

गत मार्च ९ मा साइन्स पत्रिकाले विभिन्न देशका अनुसन्धाता वैज्ञानिकहरू मिलेर एउटा संयुक्त चिठ्ठी लेखेका छन् कि पृथ्वी नजिकै थुप्रिएका यी असंख्य फोहोर तह लगाउन गम्भीर भएर सोच्न जरूरी भइसकेको छ । उनीहरूले सबै समुदाय एक जुट भएर यो समस्या पछि विपत्ति नबनोस् भनी अहिले नै यसलाई सुल्झाउन काम गर्नुपर्ने उनीहरूको आग्रह छ ।

जहाँ अन्तरिक्ष फोहोर थुप्रिएको छ, त्यहाँ अहिले ९ हजारभन्दा बढी सक्रिय स्याटेलाइट छन् । तिनलाई अन्तरिक्ष फोहोरले जुनसुकै बेला दुर्घटनामा पारिदिने आशंका वैज्ञानिक समुदायको छ । साना भन्दा साना चिजबिज पनि पृथ्वीलाई २८ हजार २ सय किमि प्रतिघण्टाको दरमा घुमिरहेको हुन्छ । यो गति कुनै चिजमा ठोक्किनु भनेको बन्दुकको गोलीले हाने बराबरको शक्ति उत्पन्न हुनु हो ।

यी फोहोर अन्तरिक्षमा नै छाडिदिने हो भने र पृथ्वीलाई तिनले यसरी नै घुमिरहने हो भने केही वर्षभित्रै नयाँ मानव निर्मित उपग्रह पठाउनै गाह्रो हुने वैज्ञानिकहरूको तर्क छ । यस्तोमा एउटा नयाँ किसिमको सन्धि सम्पूर्ण वैज्ञानिक जगतले गर्नुपर्ने अनुसन्धाताहरूको छ ।

स्पेस ट्रयास प्रोब्लम भनिएको यो समस्यालाई केही वैज्ञानिकहरूले समुद्रमा गरिएको फोहोरसँग पनि तुलना गरिन थालिएको छ । समुद्रमा फ्याँकिने फोहोर र प्लास्टिकका कारण धेरै जीवजन्तुको अस्तित्व लोप भइरहेजस्तै अन्तरिक्षको फोहोरका कारण मानव जीवन नै सङ्कटमा पर्न सक्नेतर्फ वैज्ञानिकहरूले ध्यानाकर्षण गराएका हुन् ।

जुन गतिमा समुद्रमा मान्छेले जलचरका लागि बस्न अयोग्य बनाएको छ, सोही रफ्तारमा अन्तरिक्ष पनि फोहोर बनिसकेको उनीहरूको तर्क छ ।

मार्च २०२२ मा संसार भरिका नेताहरू भेला भएर वैश्विक प्लास्टिक सन्धिमा हस्ताक्षर गरेका थिए । उनीहरूले प्लास्टिकको फोहोरलाई समुद्रमा नफ्याँक्नेमा सहमति जनाएका थिए । ठीक यसैगरी अन्तरिक्षमा फोहोर अलपत्र नपार्ने बारेमा वैश्विक सन्धि गर्न ढिला भइरहेको तर्फ उनीहरूले विश्व समुदायको ध्यानाकर्षण गरेका छन् ।

यसको उपाय पनि उनीहरूले सुझाएका छन् । अन्तरिक्षमा पठाइने जति पनि सामग्री छन्, ती सामग्रीबाट निस्कने फजुलका सामानहरू (फोहोर) कम निस्कियोस् भनेर पहिलै सुनिश्चित गरिनुपर्नेमा उनीहरूको जोड छ । अन्तरिक्षमा पठाइएका फोहोरमध्ये आधाभन्दा बढी आफैँ नष्ट हुने किसिमको सामग्रीबाट निर्मित हुनुपर्ने वा त्यसतर्फ सोच्नुपर्ने, न्यूनतम फोहोरमा जोड दिनुपर्ने उनीहरूको माग छ । ती फोहोर पनि पृथ्वीमै फिर्ता ल्याउन सकिने वा पुनः प्रयोग गर्न मिल्ने हुनुपर्ने र जुन सरकारी वा गैरसरकारी संस्थाले सामग्री अन्तरिक्षमा पुर्याएको हो, त्यसलाई फिर्ता ल्याई फोहोर व्यवस्थापन गर्नुपर्ने वैज्ञानिकहरूको माग छ ।

अमेरिकाको अस्टिनस्थित युनिभर्सिटी अफ टेक्ससको अरोस्पेस इन्जिनियरिङकी सहायक प्राध्यापक तथा यस अभियानकी सहसंयोजक मोरिबा जाह भन्छिन्, ‘जुन गम्भीरता वैज्ञानिक समुदायले सामुद्रिक फोहोर व्यवस्थापनमा देखाएको छ, सोही तहमा अन्तरिक्षको मानव फोहोरका बारेमा पनि सोच्न जरूरी छ । जुन समस्या सामुद्रिक फोहोरले निम्त्याएको छ, भोलिका दिनमा अन्तरिक्ष फोहोरले त्योभन्दा बढी हानि निम्त्याउने हुनाले यसलाई गम्भीर भएर सोच्न ढिला भइसकेको छ ।’