प्रख्यात भनाइ छः अपोलोको चन्द्र चढाइ सानो पाइला भए पनि मानव जातिका लागि एउटा ठूलो फड्को हो । त्यसो भनिए पनि त्यो अब अन्तरिक्ष खर्बपतिहरूका लागि चाहिँ ठूलो फड्को बन्न पुगेको छ ।

जेफ बेजोस र रिचर्ड ब्रान्सनले गएका साता अन्तरिक्षमा पुगे, त्यहाँ रमाइलो गरे र फर्किए । त्यति मात्र होइन, सुरक्षित फर्किए पनि । यसले अन्तरिक्ष अब वैज्ञानिकको अध्ययन अनुसन्धान गर्ने गम्भीर विषय मात्र नरही, रमाइलो मनाउने ठाउँ पनि रहेको सन्देश प्रवाहित बन्यो ।

पृथ्वीमा अनेकन् समस्या छन्, ती समस्या समाधान गर्न सकिएको छैन तर चाहे १० मिनेटकै लागि सही एउटा नयाँ अनुभूतिसँग जोडिने अवसर ब्लु ओरिजिन र भर्जिन ग्यालेक्टिकाजस्ता कम्पनीले सिर्जना गरेका छन् ।

यो परिक्षण यात्रा सकिएसँगै अन्तरिक्षको जोशिलो अमाजनीकरण भएको छ । भनाइको अर्थ, जुन कुरा हिजोका दिनमा ठूला सरकारको हातमा यस्ता कुरा हुन्थे, अब त्यहाँ त्यो ठूला प्रविधि कम्पनीले पनि टाउको छिराएका छन् ।

जसले तपाईंलाई इन्टरनेटमा अनेक थरि बेचिरहेका थिए, अब तपाईंलाई चन्द्रमा र तारा बेच्ने अवस्थामा पुगे ।

अमाजन डटकका संस्थापक अझै पनि अमाजनको सबैभन्दा ठूलो अंशियार हुन् । अन्तरिक्षबाट फर्केर आएपछि गरिएको पत्रकार सम्मेलनमा उनले अन्तरिक्ष पर्यटन अब सबैका लागि खुला रहेको सन्देश दिए ।

१० मिनेट अन्तरिक्षमा पुगेर फर्किएको टिकट मूल्य १०० मिलियन डलर तोकिसकिएको छ । बेजोसको दाबी मान्ने हो भने रकेट चढेर अन्तरिक्षमा पुग्न चाहनेको संख्या दिनदिनै बढेको छ ।

एकताका स्पेस एक्सका प्रमुख कार्यकारी इलन मस्कले जेफ बेजोसको अन्तरिक्ष सपना हावादारी भएको भनी आलोचना गर्थे । उनी पनि बेजोसलाई बधाई दिन बाध्य भए । रिचर्ड ब्रान्सनले भलै पहिलो पटक अन्तरिक्षमा आफ्नो उडान भरे, उनले पनि बेजोसको रकेट अन्तरिक्षमा पुग्ला र फर्केला भन्नेमा शंका नै गरेका थिए । पछि उनले पनि बेजोसलाई बधाई दिनु पर्यो ।

अहिलेको यो अन्तरिक्ष गतिविधिले भने सन् १९९० ताकाको इन्टरनेटको तीव्र विकासको झल्को दिइरहेको छ । शुरुमा इन्टरनेट सरकारी सम्पत्ति थियो । केही सीमित शोध र संवादकर्ताहरुका लागि मात्र त्यो कामलाग्दो चिज थियो । पछि इन्टरनेटले जुन गति पक्डियो, त्यसपछिको २० वर्षमा के के मात्र परिवर्तन देखाएन ? यतिबेला अमाजन, फेसबुक, गुगल, एप्पलजस्ता कम्पनी सर्वशक्तिमान बनेर उदाएका छन् ।

ठूला व्यापारका लागि अन्तरिक्ष पनि सोही स्तरको यात्रा अघि बढाउला भन्ने अपेक्षा धेरैको छ ।

अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले अपोलो मिसन जत्रो ठूलो कार्यक्रम दशकौँदेखि घोषणा गर्न पाएको थिएन । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सन् २०२४ सम्म चन्द्रमामा पुनः पुग्ने घोषणा गरेका थिए । राष्ट्रपति जो बाइडेनले पनि चन्द्रमाको लक्ष्यलाई छाडेका त छैनन् तर उनले कुनै तिथिमिति भने हाललाई तोकेका छैनन् । चन्द्रयात्राको निर्धारित कार्यक्रम सम्पन्न भयो भने यसको फाइदा स्पेस एक्स र ब्लु ओरिजिनजस्ता कम्पनीले पनि लिन पाउने छन् । समस्या कहाँनेर छ भने सन् १९६० को दशकको जस्तो अपोलो मिसनका लागि जुन धनराशि जुटाइएको थियो, त्यस्तो स्रोत भने अहिले नासासँग छैन ।

यद्यपि पछिल्ला अन्तरिक्ष यात्रा र पर्यटनका कुराले भने यस क्षेत्रमा काम गरिरहेका सानाठूला सबैजसो कम्पनीमा तरङ्ग भने ल्याएको छ । कतिसम्म भने एक्सिओमजस्तो स्टार्टअप कम्पनीले पहिलो अन्तरिक्ष बिसौनी बनाउने लक्ष्यका साथ काम थालिरहेको छ ।

त्यसो त सन् १९९० को दशकमा नै अन्तरिक्षलाई व्यावसायिकीकरण गर्न थालिएको थियो तर यसको सबैभन्दा उच्च प्रतिफल भने यतिबेला देखिदैछ ।

सन् १९९६ मा एक्स प्राइज नामक गैरनाफामूलक कम्पनीले एक करोड डलर रकम जुटाएर पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष विमान बनाउने कार्यमा जुटेको थियो । यो कम्तीमा पृथ्वीभन्दा एक सय किलोमिटर माथिसम्म जान सकोस् र यसलाई दुई सातामा पुनः पृथ्वीमा नै ल्याउन सकियोस् ।

यस कार्यमा प्रगति हुन अझ समय लाग्यो । अन्तरिक्ष विमानका इन्जिनियर तथा भोयेजर नामक प्लेनका डिजाइनर तथा स्पेससिप वन नामक कम्पनीका सञ्चालक बर्ट रुटनले सन् २००४ मा यस्तो रकेटको डिजाइन गरे, जसले त्यो अन्तरिक्ष पर्यटनको सपनालाई लगभग साकार रुप बनाउन भूमिका खेल्यो । उनको यो सपना पूरा गर्नका लागि माइक्रोसफ्टका सहसंस्थापक पल एलेनले अर्बौं डलर खर्च गरेका थिए । पलको सन् २०१८ मा निधन भइसकेको छ ।

एक्स प्राइजका गतिविधिले सर रिचर्ड ब्रान्सनको रुचि जगायो । भर्जिन समूहका सञ्चालक ब्रान्सनसँग त्यसबेला अकुत सम्पत्ति जम्मा भइसकेको थियो । सन् १९९९ मा उनले अन्तरिक्षमा सम्भावना देखेर नै भर्जिन ग्यालेक्टिक कम्पनी खोलेका थिए । यसका लागि उनले एक्स प्राइजका धेरैजसो प्रविधि उपयोग गर्न भनेर स्पेस सिप वनको लाइसेन्स किने । उनको आँकलनमा तीन वर्षभित्रै अन्तरिक्ष यात्राका लागि बाटो तय गर्ला भन्ने थियो तर उनको सपना पूरा हुन १७ वर्ष लाग्यो ।

यतिबेला अन्तरिक्ष पर्यटनका लागि भनेर सयौँ स्टार्टअप कम्पनीहरु शुरु गरिएका छन् । ती कम्पनीले अन्तरिक्ष कार्यक्रमका लागि निकै सस्तो प्रक्षेपण प्रणाली विकसित गरेका छन् । पहिला कुनै रकेट अन्तरिक्षमा पठाउनु पर्दा निकै महँगो हुन्थ्यो, अब त्यो स्तरको महँगो छैन । पहिला अन्तरिक्षमा पठाइने उपग्रहहरु बडेमानका हुन्थे, अहिले हत्केलामा नै अटाउने उपग्रह बन्न थालेका छन् र ती पहिलेका उपग्रहभन्दा शक्तिशाली हुन थालेका छन् । यसमा नयाँ नयाँ अन्तरिक्षसम्बन्धी काम गर्ने स्टार्टअप कम्पनीको भूमिका रहँदै आएको छ ।

अहिले सोच्नेबित्तिकै रकेट उड्ने, अन्तरिक्ष पर्यटन गर्ने र फर्कने जुन प्रणाली विकसित भएको छ, त्यसका पछाडि पछिल्ला ३० वर्ष यस क्षेत्रमा अनवरत् काम गरिरहेका अनेकन् कम्पनीको ठूलो भूमिका छ ।

सन् २०२० मा मात्र अन्तरिक्षसम्बन्धी स्टार्टअप कम्पनीमा ७ खर्ब डलरभन्दा बढीको लगानी भएको छ । दुई वर्षअघि मुस्किलले ३ खर्ब डलर लगानी हुने गर्थ्यो ।

प्रथम अन्तरिक्ष दौडको पैसाको कुनै कमी थिएन । सन् १९७० को दशकमा भने लगानीको धारो नै सुक्यो । किनभने, त्यस बेलाको प्रतिस्पर्धी सोभियत संघ सुस्ताएपछि अमेरिकाले पनि यसतर्फ आफ्नो ध्यान पूर्ण रुपमा केन्द्रित गर्न सकेन । अमेरिकीहरूले चन्द्रमा चढाइ गरिसकेपछि ठाने, हामी नै विजयी हौँ र अब अर्को चढाइ गर्नुपर्ने कुनै उचाइ छैन । अर्कोतर्फ, अमेरिका अनेकन् घरेलु समस्यासँग जुझिरहेका बेला अन्तरिक्षजस्तो प्रतिफलविहीन मुद्दामा बढी केन्द्रित भइरहेको चर्को आलोचना भएपछि उसले आफ्नो गति कम गर्न थालेको थियो ।

यस पटक ? पहिला यो सरकारी चासोको क्षेत्र थियो । यतिबेला भने यो निजी चासोको क्षेत्र बन्न पुगेको छ । तर यो निजी चासोमा पनि धेरैको कर्के नजर लागिरहेको छ । जेफ बेजोसलाई अन्तरिक्षबाट पृथ्वीमा फर्कन नदिन इन्टरनेटमा हस्ताक्षर अभियान चुलियो । यसा लागि करिब १ लाख ८० हजार जनाले भाग लिएका थिए । अमेरिकी सिनेटर एलिजाबेथ वारेनले त ट्वीटरमा जेफ बेजोसले पृथ्वीका समस्यालाई ध्यान दिन र आफ्ना कर्मचारीलाई राम्रो तलब दिन सुझाव दिनसमेत भ्याइन् ।

सिएनएनसँगको अन्तरवार्तामा बेजोसले उनीमाथि गरिएका त्यस्ता टिप्पणीमा अधिकांशतः सत्यता नै भएको स्वीकार गरेका थिए । उनले भनेका थिए, ‘हामीले पृथ्वीका समस्यालाई पनि ध्यान दिनुपर्छ तर अन्तरिक्षको ध्यान पनि हटाउनु हुन्न । भविष्यबाट हामीले आँखा हटाउने खतरा मोल्नु हुँदैन । अबको भविष्य अन्तरिक्ष नै हो ।’

अर्का अर्बपति रिचर्ड ब्रान्सनले भर्जिन अर्बिट नामक अर्को कम्पनी स्थापना गरेका छन् । यसको काम भनेको ससाना सामग्रीहरूलाई अन्तरिक्षमा पुर्याउनु हो । अन्तरिक्षमा खर्बौं डलरको निर्माण कार्य भइरहेको हुन्छ । त्यसका लागि पृथ्वीबाट अन्तरिक्ष स्टेसनसम्म ती सरसामग्री पुर्याउनु यस्ता कम्पनीको ठूलो व्यापार हो ।

त्यसो त ब्रान्सनले त्यस्तो व्यापारका लागि उनले भर्जिन अर्बिट कम्पनी खोलेका हुन् कि होइनन्, स्पष्ट बताएका छैनन् । तर इलन मस्क र जेफ बेजोसले रकेटको सफल प्रक्षेपण र फिर्तीपछि अब आफ्नो व्यापारले पूर्ण आकार लिने घोषणा गरिसकेका छन् । उनीहरुले नासाका लागि आवश्यक पर्ने सबै किसिमका सामग्रीहरु अन्तरिक्षमा पुर्याउने र अन्तरिक्षबाट पृथ्वीमा ल्याउने कार्गोको काम गर्नेछन् ।

एक समय इलन मस्कको सपना थियो, उनी मंगल ग्रहमा एउटा बिरुवा पठाउन सकून् । त्यो विरुवा त्यहाँ हुर्कन्छ कि हुर्कन्न, त्यो जाँच्न चाहन्थे । यदि त्यो बिरुवा त्यहाँ हुर्काउन सकियो भने त्यहाँ मान्छे हुर्काउन (बाँच्न) कुनै गाह्रो हुने छैन भन्ने उनको विचार थियो । तर उनको निजी सपना पूरा गरिदिने कुनै कम्पनी थिएनन् । त्यसैले उनले सन् २००२ मा स्पेस एक्स कम्पनी स्थापना गरेका थिए ।

यतिबेला त उनी मंगल ग्रहमा विरुवा हैन, मान्छे नै पठाउने मनोबलमा उक्लिसके । उनी अहिले एउटा ठूलो तारेयान (स्टारसिप) बनाइरहेका छन् । त्यो तारेयानलाई मंगल ग्रहसम्म पुर्याउनका लागि जुन खर्च चाहिन्छ, त्यसका लागि उनले अर्को नाफामूलक कम्पनी स्थापना गरेका छन्, स्टारलिंक । यो इन्टरनेट सेटलाइट कम्पनी हो । संसारभरिका इन्टरनेट प्रदायकहरुलाई यसले इन्टरनेट बेच्छ र यसबाट आएको नाफा उनको मंगल सपनालाई भरथेग गर्ने गर्छ ।

उनले सोचेजस्तो भयो भने उनको यो कम्पनी अहिलेको गुगलजस्तो सशक्त कम्पनी बन्नेछ । अन्तरिक्षसम्बन्धी सबै स्रोत खोज्ने ठाउँ हुनेछ । यसले स्रोत उपलब्ध गराउँछ, चाहे त्यो सूचनाको होस् या अन्य ।

अहिले नै स्पेस एक्सका रकेटहरू नासाले प्रयोग गरिरहेको छ । नासाले अमेरिकी सेना तथा अमेरिकी सरकारका लागि आवश्यक पर्ने सरसामाग्रीहरू अन्तरिक्षमा पुर्याउनका लागि स्पेस एक्सका रकेट, क्याप्सुल तथा कार्गोहरू पठाउने गरेको छ । यसका लागि स्पेस एक्सले फाल्कन ९ नामक रकेटलाई पृथ्वीको अक्षमा पुर्याउने गरेको छ ।

नासाले केही समयअघि स्पेस एक्सले बनाएको तारेयान (स्पेससिप)को नमुना चन्द्रमासम्म पुग्नका लागि उपयुक्त हुनसक्ने भन्दै त्यसलाई स्वीकृति दिइसकेको छ । सोही गुणस्तरका विमानहरु ब्लु ओरिजिन तथा डाइनेटिक्स नामक अन्तरिक्ष कम्पनीले बनाइसकेका छन् । अबका केही वर्षमा अन्तरिक्ष पर्यटन मात्र होइन, चन्द्र पर्यटनका लागि यी कम्पनीहरूबीच हानाथाप हुने सम्भावना बढ्दै जान थालेको छ ।

(जुलाई २३, २०२१ को द न्यु योर्क टाइम्स इन्टरनेसनलमा प्रकाशित डेभिड स्ट्रेटफेल्ड र एरिन वुको रिपोर्ट ।)