खोजी र अन्वेषण गर्नु मानिसको ‘बानी’ हो । यसका लागि ऊ जुनसुकै हदसम्म जान तयार हुन्छ । त्यसैले त मानिस त्यो खोजमा जुटेको छ, जसको कुनै हद छैन, सीमा छैन । जसको कुनै किनारा छैन, क्षितिज छैन । आखिर क्षितिजको अर्को किनारा नै नभएको त्यसतो के कुराको खोजमा मानिस जुटेको छ त ?
त्यो हो हाम्रो ब्रह्माण्ड ।

हाम्रो ब्रह्माण्ड कति वटा छन् ? यसमा कति आकाशगंगा छन् ? कति ताराहरु छन् ? अनि कति ग्रह र उपग्रहहरु छन् ?
यीमध्ये कुनै पनि प्रश्नको जवाफ हामीलाई थाहा छैन तर हामी ब्रह्माण्डको एउटा किनारादेखि अर्को किनारा कस्तो छ, कति टाढा छ भन्ने रहस्य जान्न चाहन्छौँ । संसारभरिका वैज्ञानिकलाई पनि यस किसिमको चाहनाले सताइरहेको छ ।

सौर्यमण्डल परको भोयेजर
नयाँ नौलो कुराप्रति मानिसको खोजीको चाहले संसारको सबैभन्दा महान् अन्तरिक्ष अभियानलाई जन्माएको थियो र त्यो महान् अन्तरिक्ष मिसनको नाम हो, भोयेजर ।

सन् १९७७ को अगस्त र सेप्टेम्बर महिनामा अमेरिकी स्पेस एजेन्सी नासाले दुई वटा अन्तरिक्षयान पठाएको थियो, भोयेजर एक र भोयेजर दुई ।

भोएजर दुईलाई २० अगस्तका दिन अमेरिकी अन्तरिक्ष केन्द्र केप कनावरलबाट अन्तरिक्षमा पठाइएको थियो । भोयेजर एकलाई भने ५ सेप्टेम्बरमा ।

४० वर्षपछि यी दुवै अन्तरिक्ष यान पृथ्वीबाट अर्बौं किलोमिटर टाढा पुगेका थिए । भोएजर एक त सौर्य मण्डलभन्दा पनि टाढा अर्थात् करिब २० अर्ब किलोमिटर टाढा पुगिसकेको छ । अर्को भोयेजरले भने ठीक विपरीत बाटो अपनाउँदै करिब १७ अर्ब किलोमिटरको यात्रा तय गरिसक्यो ।

यी यान कति टाढा छन् भने भोयेजर १ बाट पृथ्वीमा सन्देश आइपुग्न र पठाउन ३८ घण्टा लाग्छ । यसको रेडियो सिग्नल ६ सेकेन्डमा एक किलोमिटर दुरी तय गर्दा पनि यत्रो समय लाग्नु भनेको कति टाढा रहेछन् यी दुई भोयेजरहरु भन्ने थाहा हुन्छ । रेडियो सिग्नल प्रकाशको गति बराबर दौडाउँदा पनि यति समय लाग्छ भने यी कति टाढा होलान्, आफँै अनुमान लगाउनुहोस् !

यसैगरी भोयेजर दुईबाट पृथ्वीसम्म सन्देश आइपुग्न ३० घण्टा लाग्ने गरेको छ ।

रोचक कुरा चाहिँ ४० वर्ष पुराना यी भोयेजरले अहिलेसम्म काम गरिरहेका छन् । तिनले पठाएका एक एक सूचना पृथ्वीसम्म आइरहेका छन् । यी भोयेजरका पार्टपूर्जा पनि पुराना भइसके तर काम गरिरहेका छन् भन्दा अनौठो लाग्दैन त ? हुन पनि पुराना भएकैले यी भोयेजरले काम गर्ने शक्ति कमजोर हुँदैछ । प्रविधि पनि निकै पुरानो भइसक्यो । यी भोयेजरबाट आउने सन्देश पक्डनका लागि नासाले संसारभरि नै रेडियो सिग्नल केन्द्र स्थापना गरेको छ ।

यस मिसनमा सुरुदेखि नै जोडिएका वैज्ञानिक एड स्टोनले बिबिसीसँग कुरा गर्दै भनेका थिए, ‘भोयेजर एक ब्रह्माण्डको त्यो स्थानमा पुगिसकेको छ, जहाँ शून्यबाहेक केही छैन । त्यहाँ ठण्डी र चिस्यान अत्यधिक छ ।’ एड स्टोनले यस यान निर्माणताका सन् १९७२ मा नासामा काम गरेका थिए ।

यही भोयेजरका कारण विज्ञान जगत्ले ब्रह्माण्डका धेरै रहस्य पत्ता लगाएको थियो । वृहस्पति, शनि, अरुण र वरुणजस्ता ग्रहका बारेमा रोचक जानकारी फेला पारिएको थियो । यी विशाल ग्रहका चन्द्रमाका बारेमा पनि भोयेजर मिसनकै कारण जानकारी बटुल्न सम्भव भएको थियो ।

भोयेजर मिसनमा काम गरेका अर्का प्रख्यात व्यक्ति थिए, कार्ल सेगन । सेगनले भोएजर यानहरुबाट आउने सन्देशलाई ग्रामोफोनमा जोड्ने अभियानमा काम गरेका थिए ।

कार्ल सेगन पहिला अमेरिकाको कर्नेल विश्वविद्यालयमा एस्ट्रोफिजिक्स पढाउने गर्थे । पछि उनी नासामा काम गर्न थाले । उनी मंगल ग्रहमा जाने पहिलो मिसन भाइकिङको महŒवपूर्ण अङ्ग पनि बने । उनले बालबालिकाका लागि विज्ञानका कैयौँ रोचक पुस्तक लेखेका छन् । कैयौँ रेडियो र टेलिभिजन कार्यक्रम पनि उनले बनाए ।

भोयेजर यानहरुमा ग्रामोफोन लगाउनुको एउटा उद्देश्य चाहिँ एउटा आशा थियो । त्यो आशा के भने, धर्तीबाहेक ब्रह्माण्डको अर्को कुनामा सायद मानिसजस्तै बुद्धिमान प्राणी होला । यात्रा गर्दागर्दै जब कुनै अर्को सभ्यतासम्म हाम्रो भोयेजर पुग्छ, उसले मानव सभ्यताको एक झलक यी ग्रामोफोन रेकर्डमार्फत् पाऊन् सकून् भन्ने वैज्ञानिकहरुको चाहना थियो । सोही उद्देश्यले ती भोयेजरमा ग्रामोफोन जोडिएको थियो ।

यसको अर्थ, भोयेजर एउटा अन्तरिक्ष मिसन मात्र थिएन बरु सुदूर ब्रह्माण्डमा पठाइएको मानवीय सन्देश पनि थियो ।
यो ग्रामोफोन तामाको डिस्कबाट बनेको छ । यो कति बलियो छ भने करिब एक अर्ब वर्षसम्म यो टिक्छ र सहीसलामत रहिरहन्छ । यो भोयेजर यात्रा गर्दै जाँदा कुनै अर्कै सभ्यता भएको प्राणीले फेला पा¥यो भने यसमा भएको ग्रामोफोन रेकर्डमार्फत् उनीहरुलाई मानवीयता र मानवले गरेको प्रगतिको सन्देश दिनेछ भन्ने आशा वैज्ञानिकहरुको छ ।
नासाका वरिष्ठ वैज्ञानिक एड स्टोन भन्छन्, ‘भोयेजरलाई सन् १९७७ मै पठाउनुको खास कारण थियो । त्यस वर्ष सौर्य मण्डलका ग्रहहरुको स्थिति यस्तो थियो कि यी यान सबै जसो ठूला ग्रहहरु वृहस्पति (जुपिटर), स्याटर्न (शनि), युरेनस (अरुण) र नेप्च्युन (वरुण) हुँदै जान पाउँथे ।’

यस अभियानमा काम गर्ने लिन्डा स्पिलकर भन्छिन्, ‘ग्रहको स्थितिका कारण त्यस बेला नासामा काम गरिरहेका कैयौँका सन्तान जन्मिएका थिए । अचेल तिनलाई भोयेजर पिँढीका सन्तान भनिन्छ ।’

यी भोयेजर पठाइएको १८ महिनापछि अर्थात् भोयेजर १ र २ ले वृहस्पति ग्रह वरपर घुमे । दुवै स्पेसक्राफ्टले सौर्यमण्डलको यो सबैभन्दा ठूलो ग्रहको ज्यादै सफा र रोचक तस्बिर पठाए ।

मिसनसँग जोडिएका बेलायती वैज्ञानिक गेरी हन्टको धारणा छ, ‘भोयेजर यानहरुबाट आउने हरेक तस्बिरले जानकारीको नयाँ पत्र खोल्ने गरेको छ ।’

भोयेजर मिसनभन्दा पहिले सौर्य मण्डलमा भएका ग्रहहरुको धर्तीमा मात्रै ज्वालामुखी पाइन्छ तर भोयेजरले के पत्ता लगाए भने वृहस्पतिको एउटा चन्द्रमामा पनि ज्वालामुखी छ ।

भोयेजर मिसनले सौर्य मण्डललाई लिएर हाम्रा कैयौँ सोचलाई गलत प्रमाणित गरिदियो । पहिला हामीलाई लाग्थ्यो, समुद्र भनेको पृथ्वीमा मात्र छ तर अन्य ग्रहमा पनि समुद्र रहेछ भनेर जानकारी दिने यिनै भोयेजर हुन् । त्यति मात्र होइन, वृहस्पतिको चन्द्रमा युरोपामा पनि समुद्र छ भन्ने निष्कर्षमा पुग्ने जानकारी यिनै भोयेजरका कारण हात परेको हो ।

अहिलेको समयमा भोयेजर मिसनका वास्तविक तस्बिरहरुलाई लन्डनको क्विन मेरी कलेजको पुस्तकालयमा राखिएको छ किनभने नासाले ती तस्बिरको डिजिटल प्रति बनाएर राखिसकेको छ ।

गेरी हन्ट भन्छन्, ‘भोयेजर एकले शनिको चन्द्रमा मिमासको तस्बिर पठाउँदा सबै जना छक्क परेका थिए किनभने त्यस बेला स्टार वार्स फिल्मले देखाएको अन्तरिक्षको समय थियो । त्यसैले वैज्ञानिकहरुले मिमासलाई ‘डेथ स्टार’ भनी नामकरण गरेका थिए ।’

भोयेजरले तस्बिरहरुका माध्यमबाट शनि ग्रहको उपग्रह टाइटनमा ठूलो संख्यामा पेट्रोकेमिकल रहेको देखाएको थियो । त्यहाँ मिथेन ग्यासको वर्षा हुने गरेको पनि निष्कर्षमा पुग्न सहयोग पुर्याएको थियो ।

शनि ग्रहको सानो चन्द्रमा एनसेलाडस पनि रहेछ र त्यहाँ हाम्रो सौर्य मण्डलको जीवनको सबैभन्दा चाँडो मौसम परिवर्तन भइरहँदो रहेछ भन्ने कुरा पनि यही मिसनका कारण थाहा भयो । पछि क्यासिनी ह्युजेन्स मिसनले पनि सो कुराको पुष्टि गरेको थियो ।

‘शनिको चन्द्रमा आफैँमा बेग्लै किसिमको छ । भोयेजरका कारण हामीलाई शनिका अन्य चन्द्रमाका बारेमा बुझ्नका लागि नयाँ मिसन पठाउनुपर्छ भन्ने महसुस भयो,’ अर्की एक वैज्ञानिक एमिली एकडवालाको भनाइ छ ।

सन् १९८० को नोभेम्बरमा भोयेजर एकले शनिभन्दा अगाडि यात्रा सुरु ग¥यो । नौ महिनापछि भोयेजर दुईले अन्य ग्रहतर्फ यात्रा सुरु गर्यो । सन् १९८६ मा युरेनस ग्रह नजिक पुग्यो । यसले युरेनका १० वटा उपग्रह रहेको जानकारी पठायो र यो ग्रह ग्यासले बनेको रहेछ भन्ने पनि थाहा भयो ।

सन् १९८९ मा भोएजर दुई नेप्च्युन ग्रह नजिक पुग्यो । यसको चन्द्रमा ट्राइटनमा नाइट्रोजनको ठूलो मात्रा देखियो ।
यी दुवै भोयेजरले हामीलाई के सिकाए त ? यी यात्राले हामीलाई हाम्रो पृथ्वीमा जेजस्ता गतिविधि हुन्छन्, (मानवीय गतिविधि होइन) ती गतिविधि त सौर्य मण्डलका अन्य ग्रह र ती ग्रहका उपग्रहमा पनि हुँदारहेछन् भन्ने सिकाए ।

भोयेजरको खोजकै आधारशीलामा रहेर पछि अन्य कैयौँ अन्तरिक्ष मिसन सुरु गरिए । जस्तो शनिका लागि क्यासिनी–ह्युजेन्स मिसन स्पेसक्राफ्ट पठाइयो । वृहस्पति ग्रहका लागि ग्यालिलियो र जुनो यान पठाइयो । यतिबेला यस्तै खोजका लागि कैयौँ अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने संस्थाहरुले यान पठाउने योजना बुनिरहेका छन् ।

पछिल्लो समय भने युरेनस र नेप्च्युन ग्रहका लागि कुनै नयाँ मिसन चलाइएको छैन । त्यतिञ्जेलसम्मका लागि हामीले भोयेजरले पठाएका जानकारीबाटै काम चलाउनुपर्ने हुन्छ ।

मानव इतिहासमा यस्ता केही सीमित मिसन भएका होलान्, जसले यति धेरै जानकारी पठाएका होऊन् । भोयेजर भन्दा पहिला पनि यस्ता मिसन थिए, जसको नियन्त्रण कम्प्युटरको हातमा थियो । यी दुई भोयेजरको विशेषता भनेको के हो भने ती यानलाई पृथ्वीबाट कसैले पनि नियन्त्रण गर्दैन, न त कम्प्युटरले न त मानिसले । ४० वर्षपछि पनि यी दुवै यानले बिना कुनै नियन्त्रण आफ्नो यात्रा गरिरहेका छन् । यी दुवै यानले आफैँ नयाँ नौला कुरा सङ्कलन गर्छन् र आवश्यक पर्दा ब्याकअप सिस्टम चलाउँछन् ।

भोयेजर बनाउन प्रयोग हुने कैयौँ प्रविधि अझै प्रयोग हुने गरेका छन् । अचेल हामीले प्रयोग गर्ने मोबाइल फोन र सिडी प्लेयर भोयेजरमा त्यतिबेलै उपयोग भएका थिए । अचेलका स्मार्टफोनमा तस्बिर प्रोसेसिङ गर्ने जुन प्रविधि छ, त्यो भोयेजर विकास गर्दाताका खोजिएको प्रविधि थियो ।

भोयेजर मिसनको सबैभन्दा महान् क्षण त्यस बेला आयो, जब १४ फेब्रुअरी १९९० मा यसले आफ्नो क्यामेरा पृथ्वीतिर घुमायो र उसले पूरै सौर्य मण्डल र ब्रह्माण्डमा एउटा सानो नीलो प्रकाशको तस्बिर खिच्यो । त्यो सानो नीलो प्रकाश पृथ्वी थियो ।
पूरै ब्रह्माण्डमा यो एउटा सानो नीलो रङको टिमटिम गरेर देखिने ग्रहमा नै जिन्दगी हिँडडुल गर्ने गर्छ । यसबाहेक अन्य ठाउँमा अहिलेसम्म जिन्दगी हिँडडुल गरेको देख्न पाइएको छैन । कुनै पनि सानो खगोलीय घटनाले यस पृथ्वीमा भएका सारा प्राणीको प्राण हरण गर्न सक्छ । यस्तोमा भोयेजरका माध्यमबाट हाम्रो सभ्यताको निशानी सुदूर ब्रह्माण्डमा बाँचिरहनेछ ।
सन् २०१३ मा भोयेजर एक स्पेसक्राफ्ट सौर्यमण्डलबाट निकै टाढा पुग्यो । शून्यमा पुगेको यस स्पेसक्राफ्टले अझै पनि जानकारीहरु पठाइरहेको छ । केही समयपछि अर्को भोयेजर पनि सौर्यमण्डलबाट टाढा हुनेछ ।

ती दुवै स्पेसक्राफ्टमा अणुजन्य ब्याट्री हालिएको छ । चाँडै नै यी अणुबाट विद्युत निस्कन बन्द हुनेछ । हरेक चार वर्षमा यसबाट चार वाट कम बिजुली निस्कनेछ ।

भोयेजरका प्रोग्राम म्यानेजर सुजी डड भन्छन्, ‘हामीले ज्यादै सावधानीपूर्वक भोयेजर मिसनलाई जारी राख्नुछ । यसका पुराना भइसकेका यन्त्र बिस्तारै बन्द गरिँदैछन् । दुवै भोयेजरका क्यामेरा बन्द गरिसकिएको छ । अन्तरिक्षमा धुम्म अँध्यारो छ । त्यहाँ देखिन लायक केही बाँकी छैन । बरु बिजुली बचाएर चिसो ठाउँमा भोयेजरको तातोपन बचाउन राखिराख्नु उत्तम हुन्छ भनेर भोयेजरका सबै कुरा बन्द गरिएका हुन् ।’

आउँदो दस वर्षमा दुवै भोयेजरलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने हुन्छ । जुन दिन यसलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने हुन्छ, त्यस दिन मानवताका लागि ज्यादै दुःखद् दिन हुनेछ । त्यतिञ्जेलसम्म दुवै यानले ज्यादै रोचक यात्रा पूरा गरिसकेका हुनेछन् ।

रोचक के हुनछ भने दुवै स्पेसक्राफ्ट अन्तरिक्षमा सधैँ रहिरहनेछन् । सायद कुनै अरु नै सभ्यताका दूतले यो फेला पार्लान् । अनि, तिनले यी यानमा जडित ग्रामोफोन रेकर्डका माध्यमबाट मानवताको सन्देश पढ्लान् ।

भोयेजर मिसनका माध्यमले संसार अन्तरिक्षमा बाँचिरहेको छ । भोयेजर मिसनले खासमा भन्ने हो भने मानवतालाई नै अमर बनाएको छ ।

सन्दर्भ स्रोतहरु
आइज्याक इसिमोभ
रिचर्ड होलिङ्गम/बिबिसी
https://voyager.jpl.nasa.gov/mission/status/