काठमाडौँ । गीतकार प्रकाश सुवेदीको नवीनतम सृजना ‘नआइदे याद’ भर्खरै सृजना र सेरोफेरो यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गीतमा राजकुमार बगरको संगीत छ भने साहस शाक्यको संगीतसंयोजन र अन्नु चौधरीको स्वर रहेको छ ।

म्युजिक भिडियोको निर्देशन र सम्पादन कुशल सम्पादकका रूपमा परिचित वीरेन्द्र भाट ‘विपिनले गरेका छन् । गीतको भाव र गहिराईलाई समेट्दै वीरेन्द्रले तयार गरेको दृश्य कथामा अजय रेग्मीको क्यामेरा सँगसँगै बगेको छ । सीता टेलिश्रृङ्खलाबाट चर्चामा आएकी नायिका समिया कार्कीको साथमा सुधिर श्रेष्ठ, र दीपेन्द्रराज गिरीको मुख्य अभिनयले गीतको भावनात्मक धड्कनलाई मूर्त रूप दिएको छ । सह अभिनयमा देवी पराजुली, टिकाराम पाण्डे, सरीता मगर, जयराम क्षेत्री, जेनिशा धनुके लगायतका कलाकारहरू रहेका छन् । भिडियोमा समावेश अंग्रेजी सबटाइटल साहित्यकार तथा समालोचक महेश पौड्यालको भाषिक कलाले सजिएको छ । जसले गीतकार सुवेदीको सुकृतिलाई अन्तर्राष्ट्रिय श्रोता दर्शकसम्म पु–याउन मद्धत गर्दछ ।

अक्सर आशा र चेतनाको स्वर बुन्ने सुवेदीले यसपटक भने बिछोडको गहिरो तानाबानामा मनको कथा लेखेका छन् । ‘नआइदे याद’ केवल एउटा प्रेमगीत मात्र नभई परिस्थितिबस उब्जने हरेक किसिमका बिछोडका अभिव्यक्ति हुन् ।

गीतको भावपक्ष

‘नआइदे याद’ मा अन्तर्मनको पीडा, बिर्सन खोज्दा पनि बिर्सिनै नसकिने असहज परिस्थिति र भावनात्मक संघर्ष गहिरो रूपमा प्रकट भएको छ । गीतका प्रत्येक हरफमा आत्मस्वीकृति प्रस्तुत गरेको आभास हुन्छ । गीतकार स्वयंलाई अब भावनामा भिज्नु व्यर्थ छ भन्ने महसुस भएर नै होला गीतका हरफहरुमा यसरी पोखिन्छन् ।

“नआइदे याद, नआइदे वर्षात व्यर्थैमा भिजाउन; नलाग्दे प्यास, नलाग्दे आश कलेजी बिझाउन”

यी दुई हरफ बिछोडको पीडाबाट उम्किन खोज्ने थकित आत्माको मौन निवेदन हुन्। “नआइदे” भन्ने शब्दमा निषेध होइन, आत्मरक्षाको याचना भेटिन्छ। अब ती यादहरू नआउन् जसले मनलाई फेरि भिजाएर भारी बनाउँछन् । ‘वर्षात्‌’ यहाँ केवल पानी होइन, स्मृतिको झरी हो, जसले शरीरभन्दा गहिरो गरी आत्मालाई भिजाउँछ । “व्यर्थैमा भिजाउन” भन्ने वाक्यांशले ती भावनात्मक वर्षाहरू अब अर्थहीन भइसकेका छन् भन्ने अनुभूति दिलाउँछ । त्यसपछि आउने ‘नलाग्दे प्यास’ र ‘नलाग्दे आश’ सर्जकको आत्मसंयमको स्वर हुन्, जहाँ प्रेमको तृष्णा र आशा दुवै पीडाको कारण बनेका छन् । ‘कलेजी बिझाउने’ शब्दले सम्पूर्ण अनुभूतिको निचोड प्रस्तुत गर्छ, गाथ नभई, हृदय गलाउने स्मृतिको जलन । यसरी, यी हरफहरू स्मृतिको वर्षाबाट मुक्त हुन खोज्ने मनको अन्तिम प्रार्थना हुन्, जसमा प्रेमको सौन्दर्यभन्दा बिछोडको मौन सौन्दर्य झल्किएको छ ।

गीतको पहिलो अन्तरामा प्रस्तुत गरिएका “आकाशको झरी छाताले छेक्छ मनैको छेकिन्न” जस्ता हरफहरू गहिरा रूपक हुन् । बाहिरी संसारलाई नियन्त्रण गर्न सकिए पनि भित्री भावनालाई छेक्न सकिँदैन भन्ने सन्देश यसमा स्पष्ट छ । “हियराभित्र बगेको आँसु आँखामा देखिन्न” हरफमा गीतकारले आत्मसंयम र मौन पीडाको सौन्दर्य कोरेका छन् । आँसु बाहिर नभई, भित्रै बगिरहेको छ । यो प्रतीकात्मक भाषाले गीतलाई काव्यिक गहिराइ दिन्छ, जहाँ वियोग केवल भौतिक भन्दा पनि आत्मिक अशान्ति हो ।

दोस्रो अन्तरामा गएर गीत एक प्रकारको स्व–मोचन तर्फ उन्मुख हुन्छ ।

गीतमा प्रस्तुत गरिएका हरफहरू एक गहिरो आत्मसंघर्षको ऐना हुन्, जहाँ गीतकार विस्मृतिको व्याकुल प्रयासमा रमाइरहेका छन् । ‘नदेखूँ भन्छु सपना पनि झझल्को नआओस्‌’ भन्ने पङक्तिले चाहेर पनि अतीतको छायाबाट मुक्त हुन नसक्ने मनोवृत्तिलाई सशक्त रूपमा प्रस्तुत गर्छ । बिर्सन खोज्दा पनि सम्झनाको तस्बिर आँखामा छाईरहने डर र अन्ततः “बिर्साउने कुनै ओखतीमुलो चाँडै नै भेटियोस्‌” भन्ने कामना यी सबै मानवीय संवेदनाका चरम अभिव्यक्ति हुन् । गीतमा प्रयोग भएका सरल शब्द र गहिरो भावनाले वियोग, स्मृति र आत्ममुक्तिको द्वन्द्वलाई एकैसाथ उजागर गरेको छ, जसले यसलाई केवल प्रेम–वियोगको कथा नभई स्मृतिसँगको संघर्षको रूप दिएको छ ।