गणेश खड्का

यो जगत्मा के-के हुन्छन् बाँचे देखिन्छ
कोको हाँस्छन् कोको रुन्छन् बाँचे देखिन्छ

बाघहरू दुलो पसे मुसा दरबार छिरे
भ्यागुताले आकाश छुन्छन् बाँचे देखिन्छ

आफ्नो कर्म-धर्म छोडी मान्छे बेइमान हुँदा
माहुरी पनि जालो बुन्छन् बाँचे देखिन्छ

कोही खाली पेट भर्न कोही महल जोड्न
किसिम तानाबाना तुन्छन् बाँचे देखिन्छ

अनेक देख्नु-भोग्नुपर्ने पापी संसारमा
चोर छोडेर साधु थुन्छन् बाँचे देखिन्छ

आफू रै’छु गोबर गणेश चण्डाल दुनियाँ
गाई बनाउन गधा धुन्छन् बाँचे देखिन्छ !!!

हाल : फ्रीगेट आइल्याण्ड, सेसेल्स ।