गणेश खड्का

भन्छन्- समुद्र शान्त, सन्तोषी र स्थिर छ
समुद्र शान्त, सन्तोषी र स्थिर छ
शान्त, सन्तोषी र स्थिर छ
सन्तोषी र स्थिर छ
र स्थिर छ
स्थिर छ

कुनै भङ्ज्याहालाई कसैले अर्ती दिंदा भनिदिन्छ –
मान्छे त समुद्रजस्तो शान्त, सन्तोषी र स्थिर पो हुनुपर्दछ त !

होइन रहेछ,
सगरमाथाको भूपरिवेष्टित देशबाट हेर्दा मात्र
समुद्र शान्त, सन्तोषी र स्थिर देखिएको रहेछ
जस्तो कि कुनै अग्लो रुखको टुप्पोबाट हेर्दा
कुदिरहेको नदी पनि सुतिरहेको जस्तो देखिन्छ l

एकै ठाउँमा बसिरहेर पनि
चार पाउ फालिरहने अक्टोपसजस्तो समुद्र
भित्री अङ्ग मात्र शान्त राखेर
बाहिरी सबै अङ्ग साह्रै चलायमान पार्दोरहेछ
मस्तिष्कमा असाध्यै सौम्य देखिने समुद्र
मनमा उत्तिकै चञ्चल र उच्छड रहेछ
विचरा समुद्र कुण्ठाग्रस्त मन लिएर विवश बाँच्दोरहेछ
जमिनको भीमकाय खाल्डोमा थुनिएको समुद्र
न भाग्ने कुनै बाटो छ, न जाने कहीँ ठाउँ छ
शान्त, सन्तोषी र स्थिर देखिनु त समुद्रको बाध्यता पो रहेछ!

पृथ्वीले आफ्नो गर्भमा
सृष्टि कालदेखि नै पालेर राखेको छिप्पिएको भ्रूण रहेछ समुद्र,
यौन कुण्ठा र उत्तेजनाले भित्रभित्रै जलिरहेको
नपुंसक लोग्नेकी लाटी स्वास्नीले
रहर दबाएरै समाजको अगाडि चित्त बुझाएजस्तो
समुद्र आफ्नै आँखाको अगाडि
माछा, अक्टोपस, लब्स्टर, प्राउन, पानी कछुवा…आदिले गरेको
सम्भोग हेर्दै आफ्नो यौनाङ्गको विद्रोह थाम्न नसकी
मुर्मुरिएर आगो हुँदोरहेछ !

कहिल्यै समुद्र नदेखेका र देवताहरुले समुद्र मन्थन गरेर
अमृत निकालेको पौराणिक कथा पढेका र सुनेकाहरुले मात्र
समुद्रलाई ठेकीभित्रको दही सम्झेका रहेछन्
यथार्थमा समुद्र यौन तृष्णाले खरिएको विकासे साँढेजस्तो हुँदोरहेछ
वीर्य थैली ओभर लोडले रन्केपछि आफ्नै वरिपरिका जीवात्माहरुको
सम्भोग क्रियाको डाहाले उम्लेर बेलगाम घोडाझैं उर्लिंदोरहेछ समुद्र
सुनामी, टाइफून र अन्यान्य डिजास्टरको
रुप धारण गरेर चकचकी गर्ने समुद्र
कामुकताले पागल भएपछि आँखै नदेख्दोरहेछ
त्यही भएर पो समुद्रले
टापुहरुका स्तन च्यापच्याप समातेर छिल्लिंदै भाग्दोरहेछ !

यस्तो लाग्छ,…
समुद्र उखुम सेक्सी हुनपर्छ
भियग्रा र यार्सागुम्बाभन्दा हजारौं गुणा बढी यौनवर्धक
सी क्युकम्बरको नियमित सेवनले अरु सप्पै प्राणीभन्दा
हजारौं गुणा बढी पावरफुल हुनुपर्छ समुद्र सम्भोगमा
र त आफ्नो तटमा
नाङ्गो हनिमून मनाउनेहरुको खुल्ला सम्भोग हेरेर
भावावेगमा जलन र उत्तेजनाले राँकिदै,
छाल उरालेर चार पाउ फाल्दै
बिकिनीमा स्नोर्केलिङ र डाइभिङ खेल्न आएका
कुइरेनीहरुको गुप्ताङ्गमा
झ्यापझ्याप वेभले हानेर सुसाउँदै दगुरेर जाँदोरहेछ समुद्र
अनि पsssर पुगेर एकान्तमा हस्तमैथुन गरिसकेपछि पो बल्ल
जगतको आँखाअगाडि
शान्त, सन्तोषी र स्थिर हुँदोरहेछ समुद्र… !

इटहरी-४, सुनसरी-नेपाल
हाल: फ्रिगेट आइल्याण्ड, सेसेल्स