‘भ्रमण एउटा महान शिक्षा हो ।’ – विवेकानन्दले भनेका छन् । म यो भनाइसँग सहमत छु । मेरा प्रमुख रुचिहरुमध्ये भ्रमण पनि एक हो। आफ्नै देश पूरा घुम्न नभ्याएको मान्छे देशान्तरका केही अलौकिक र सुन्दर स्थान घुम्न पाउँदा कहिलेकाहीँ आफूलाई भाग्यमानी पनि ठान्छु । सेसेल्स देश आफैँमा एक अनौठो नाम हो । सेसेल्समा जागिर खाने भन्दा कसैले पत्याएका थिएनन् सुरुमा। ‘यो संसारमा सेसेल्स भन्ने देश पनि छ र ?’ भन्थे सबै । म आफैँलाई पनि सपनाजस्तो लागेको देशमा विगत १२-१३ वर्षदेखि बनीबुतो गरिरहेछु। सन् २००८ मा पहिलोपटक सेसेल्स झर्दा जम्मा ३ जनामात्र नेपाली देखियो, त्यही पनि आफूसमेत गरी । अहिले त लगभग १५ सयको तथ्याङ्क देखाउँछन् एनआरएनए सेसेल्स अध्यक्ष आरपी पन्त । राजधानी भिक्टोरियाबाट दूरदराजको टापूमा आफू भएकोले नेपालीको वास्तविक सङ्ख्या र पहिलो आगमनको बारेमा पत्तो पाउन गाह्रो थियो । अहिले कुरो बुझ्दा सन् २००६ देखि नै नेपालीहरु फाट्टफुट्ट छिर्न थालेका रहेछन् सेसेल्स । भौगोलिक रुपमा पूर्वी अफ्रिकी मुलुक । तर, यहाँका बासिन्दा आफूलाई अफ्रिकी भन्न त्यत्ति नरुचाउँदारहेछन् । ‘हामी सेसेल्वा हौँ, छुट्टै आइल्याण्ड कन्ट्रिका मान्छे’ भन्छन् । हुन पनि यहाँका मान्छेको समग्र रङरूप हेर्दा अफ्रिकाजस्तो पटक्कै नलाग्ने । एसियन, अफ्रिकन, युरोपियन सबैखाले मान्छेहरुको साझा घर रहेछ सेसेल्स । सुपरमिक्स कलेवरमा सुसज्जित एउटा सुन्दर क्यानभासजस्तो ।

पहिले फ्रान्स त्यसपछि ब्रिटिस क्राउन कोलोनीबाट सन् १९७६ मा स्वतन्त्र भएको सानो देश स्वर्गको एउटा टुक्राझैं लाग्छ। पर्यटन व्यवसायको चमत्कारिक विकासले राष्ट्रिय समृद्धिको शिखर चढ्दै गरेको। आफूसँग भएका प्राकृतिक स्रोत र साधनको समुचित सदुपयोग गर्न सक्यो भने देश कसरी माथि उठ्दोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण सेसेल्स हो, जसको जिउँदो साक्षी म आफैँ भएको छु । सँगै सम्झिन्छु आफ्नो देश, त्यत्रो प्रचुर सम्भावना भएर पनि कुनै कुराको सदुपयोग छैन, सिर्फ दुरुपयोग । खराब राजनीति र यसका अयोग्य खेलाडीहरुले नेपालका सबैखाले सम्भावनाहरु ध्वस्त पारिरहेका छन् । मन कटक्क दुख्छ । आफ्नो देश पनि यसरी सिँगार्न पाए हुन्थ्योझैं लाग्छ । तत्काल आफैँ अग्रसर भएर केही गर्न सक्ने अवस्था पनि देख्दिनँ । साधन, स्रोतको हिसाबले एउटा धनी देशको गरिब नागरिक प्रतित हुन्छु आफैँ ।

हरेक काम, कुराको एउटा उचित समय आउँदोरहेछ । यति लामो सेसेल्स बसाइमा घुम्नु पर्ने ठाउँ थुप्रै रहेछन् । मनमा इच्छा भएर पनि समयले अनुमति दिइरहेको थिएन । राजधानी भिक्टोरिया सेसेल्सको सबैभन्दा ठूलो र मुख्य आइल्याण्ड माहेमा पर्छ । त्यहाँबाट ३५ माइल टाढा फ्रिगेट आइल्याण्डमा बस्छु । बोटमा डेढ घण्टा, प्लेनमा २० मिनेट अनि हेलिकप्टरमा १५ मिनेट लाग्छ । एउटा प्राइभेट आइल्याण्डको बसाई लगभग कुनै अघोषित जेलजस्तो हुँदोरहेछ । फ्रिगेट आइल्याण्ड पूरैमा जम्मा एउटा लक्जरी पाँचतारे रिसोर्ट होटेल छ । यहाँको समग्र परिवार भनेकै यसका स्टाफ र अतिथि हुन् । असम्बन्धित कसैलाई पनि अनुमतिबिना प्रवेश छुट छैन । हप्तामा तीनपटक रिसोर्टको आफ्नै स्टाफ बोट चल्छ, राजधानी माहे आइल्याण्ड र यदाकदा प्रालिन, लाडिग आइल्याण्डको लागि पनि । एम्प्टी लेगको संयोग परे प्लेन र हेलिकोप्टर पनि चढेर ओहोरदोहोर गर्न पाइन्छ । आफ्नो छुट्टीको अवसर पारेर मौका छोप्नुपर्छ आइल्याण्डबाट बाहिर निस्किन । खासगरी वार्षिक बिदा मनाउन घरदेश जाँदा मात्र राजधानी टेक्न पाइन्छ । विशेषगरी विदेशी कामदारलाई यो प्रक्रियाले पछ्याइरहेको हुन्छ । स्थानीयहरू त हप्तैपिच्छे आऊजाऊ गर्छन् । राजधानी भिक्टोरिया भएको मुख्य आइल्याण्ड माहेका केही भाग त घुमेको छु, विभिन्न अवसरमा । लाडिग आइल्याण्ड पनि केहीपटक पुगेको छु, कम्पनीको अफिसियल भ्रमणका बेला । दोस्रो ठुलो आइल्याण्ड प्रालिन भने आंशिक स्पर्शले चित्त बुझाउनुपर्ने अवस्थालाई पूर्णता दिने चेष्टा पुरानो हो । उचित समय र अवसरको पर्खाइमा वर्षौं बितिसक्दा बल्ल योपटक साइत जुरेर आयो ।

त्यसो त सेसेल्सका ११५ वटा टापुहरू जम्मै घुम्ने रहर छ । तर, एउटा कामदार भिसाधारी रहरेले भन्नेबितिक्कै पूरा गर्न नसक्ने रहरहरु हुन् यी । सेसेल्समा गैरआवासीय नेपाली संघको स्थापना सन् २०१८ हुँदाताका नै यसका प्रथम सेसेल्स अध्यक्ष आरपी पन्तसँग भेट्ने, भ्रमण गर्ने सल्लाह भएको हो। त्यो पूर्व नै हाम्रो भर्चुअल भेट नाइजेरियाबाट कवि तथा एनआरएनए भाषा, साहित्य विभाग प्रमुख हिक्मत थापाले गराइदिनुभा’थ्यो । पन्तजीसँग डिजिटल निकटता र मित्रता घनिष्ट हुँदै जाँदा योपटक सेसेल्सका मुख्य दुई ठुला आइल्याण्डको भ्रमण सफलीभूत भयो । त्यसो त २०२० सेप्टेम्बरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको अफ्रिका च्याप्टर गठन गर्ने क्रममा भेटिएका मनोज बिक जो प्रालिन आइल्याण्डमा कार्यरत छन्, उनको सदासयता र योगदान पनि अतुलनीय छ । मेरो रहरमा पन्तजीको प्रयास अनि मनोजजीको मन मिसिएपछि एउटा महत्त्वपूर्ण भ्रमणको श्रीगणेश भयो ।

सदाझैँ वार्षिक बिदामा घर जान पाइएन । बाटोमा तगारो लाइदियो पापी ‘कोरोना’ले। बल गरेर जान्छु नै भनेको भए मिल्थ्यो होला, तर यो भयावह माहारीको चपेटामा जोखिम मोलेर यात्रा गर्न मनले मानेन। वर्षेनी दसैँ, तिहार भेट्दै घर जाने रहर योपटक कोरोना कहरमा बन्दी भयो । आमाको ममता र अर्धाङ्गिनीको मायाले पनि चाडबाड र भेटघाट भन्दा जीवनरक्षाकै पक्षमा सहीछाप गरे । नानीहरुको उमङ्गलाई नि अर्को सालको झन् ठुलो आशा देखाएर थमथमाउनुपर्यो । आफूलाई पनि खासै गुनासो लागेन । ‘कोरोना भाइरस’ले पूरै ब्रह्माण्ड नै आतंकित भइरहेको बेला म एक्लो नाथेको स्वकीय इप्सा गौण लाग्यो। अझ कोरोनाको व्यापारिक आक्रमणमा परेर कम्पनीले असी प्रतिशतभन्दा बढी स्टाफ कटौती गर्दा आफ्नो त जागिर धन्न जोगिएको छ । यतिबेला त्यसैलाई अहम् भाग्य सम्झेर चित्त बुझाउनुपर्ने अवस्था जो थियो । पब्लिक होलिडे र अफडेमा काम गरेको सञ्चित बिदा टन्नै थियो । तिनलाई सदुपयोग गर्ने उपयुक्त अवसर पनि थियो यो बहुप्रतिक्षित भ्रमण । यति भएपछि बल्ल भ्याकेशसको सट्टा मिनीभ्याकेसनले स्थान पाएको हो।

२७ नोभेम्बर २०२०,शुक्रबार:

एलिजाबेथ भ्युटावरदेखि भिक्टोरिया क्लक टावरसम्म

बिहान साढे छ बजे हिँड्नुपर्ने बोट, छ बजेर बिस मिनेट जाँदै हिँड्यो हामीलाई बोकेर। सबै प्यासेन्जरहरु समयमै आइपुगे भने निर्धारित समयसम्म पर्खिँदैन बोट, अगाडि नै बाटो तताइहाल्छ । मेरो छेउको सिटमा छ तुशान्त पेरेरा । गेस्ट सर्भिसमा कार्यरत श्रीलङ्के सहकर्मी।

सामान्य प्यासेन्जर ब्रिफिङ्पछि क्याप्टेन बेट्रन्डले जहाज दौडाउन सुरु गर्यो । युवा हब्सी केटो, जोशले हाँक्छ । धन्न आज समुद्र शान्त छ, र ‘सी सीक’ हुने खतरा छैन। नत्र मलाई त धङ्धङ्गे लागेर भाउन्न छुट्न थालिहाल्छ । डेकह्याण्ड हारोल्ड चिसो लेमोनेड र पानी बाँड्दै मेरो छेउमा आइपुग्यो र एकतमासले हाँस्यो । भन्यो, ‘तिमी पनि आज निस्कियौ ?’ म आइल्याण्डबाट हत्तपत्त बाहिर ननिस्किने स्टाफमा पर्छु नि त !

हारोल्डले खुसी भएर थम्सअप गर्दै थप्यो, ‘गुड, हो…यसरी बेलाबेलामा बाहिर घुम्न जानुपर्छ, नत्र यो जेलजस्तो आइल्याण्डमा पागल भइहालिन्छ नि!’

हारोल्डको कुरामा सहमति जनाउँछु । आज प्यासेन्जर खासै धेरै छैनन् । तल्लो तला, माथ्लो तला, भित्र क्याबिन, मन लागि बसेका छन् यात्रुहरू । बोटबाटै पन्तजी र लोप्चनजीलाई फोन गरें । पन्तजीको त्यो दिन डयुटी परेकाले साथी समित लोप्चनजी मलाई जेट्टीमा लिन आउने कुरा थियो । गफ गर्दागर्दै ठ्याक्कै डेढ घन्टामा बोट इडेन आइल्याण्डको जेट्टीमा पुगेर रोकियो । सेप्टेम्बरदेखि अप्रिलसम्म सेसेल्सको समुद्र असाध्यै शान्त हुन्छ । बिहानको रङ्गीन घाममा तालझैँ चुपचाप निलो समुद्र कति खुलेको थियो, बयान गरिसाध्य छैन । समुद्र रफ हुँदा बोटले उचाल्ने र पछार्ने गरेर खपिसक्नु हुँदैन । आज त बोट चिप्लेटी खेलेर थाहै नपाइ माहे आइपुगेजस्तो पो भयो ।

इडेन आइल्याण्ड मानवनिर्मित टापू हो । व्यापारिक प्रयोजनको लागि बनाइएको उक्त आइल्याण्डमा भाडाका अपार्टमेन्ट, सुपरमार्केट र कमर्सियल कम्प्लेक्सहरू छन्, जो मुख्य आइल्याण्ड माहेसँगै एउटा पुलमार्फत जोडिएको छ । सुन्दरता, व्यवसाय र चहलपहलको दृष्टिले इडेन आइल्याण्ड सेसेल्सकै प्रमुख र आकर्षक केन्द्रविन्दु मानिन्छ आजकल ।

हाम्रो बोट स्टेबर-५२ बन्दरगाहमा पार्किङ् भइसकेपछि तुशान्त र म आ-आफ्ना झोला बोकेर उत्रियौँ । लोप्चनजीलाई फोन गरेँ, १५ मिनेटमा आइपुग्छु भन्नुभो । इडेन आइल्याण्डमा पर्खिने जानकारी बोलेर फोन राखेँ । तुशान्त भिक्टोरिया टाउनमा बैङ्कको कामले जाने, समय अझै बाँकी भएकाले मलाई पछ्यायो । फ्रिगेट आइल्याण्डको सिटी अफिस नपसी हामी सिधै इडेन आइल्याण्डतर्फ मोडियौँ । हाम्रो म्यानेजिङ डाइरेक्टर हिल्टन हास्टिङ्स अफिसियल कामले केही दिनदेखि सिटी अफिसमै थिए । इडेन आइल्याण्डबाट बग्गीमा आउँदै रहेछन्, गेटमै भेट भयो । अचम्म मान्दै मलाई सोधे, ‘कति समयपछि आइल्याण्डबाट बाहिर निस्केको ?’

मैले भने, ‘ठ्याक्कै एक वर्षपछि !’

आँखा तन्काएर फेरि बोले, ‘मान्नुपर्छ तिम्रो प्यासनलाई । लौ इन्जोय गर !’

मैले धन्यवाद ज्ञापन गरेँ । त्यसपछि उनी फ्रिगेट आइल्याण्डको सिटी अफिसतिर लागे, हामी इडेन आइल्याण्डको मूल गेटतिर लम्कियौँ ।

सेसेल्सको एउटा गज्जब विशेषता छ, कतिबेला घाम लाग्छ, कतिबेला पानी पर्छ पत्तै नहुने ! एकैदिनमा सत्र खाले मौसम देखिन्छ । झ्यार्र पानी पर्न थाल्यो ।

लोप्चनजीको फोन आयो, अन्डरग्राउण्ड कार पार्किङ् लटमा बोलाउँदै आफ्नो हुलिया भन्नुभयो । फोनमा बोल्दै हामी तल झर्यौं । देखियो- खैरो क्याप, खरानी रङ्गको भेस्ट र आर्मी कलरको हाफ पाइन्टमा सजिएको एउटा वयस्क फोनमा बोल्दै हाम्रो बाटो हेरिरहेको। मैले अन्दाज लगाइहालेँ, लोप्चनजी नै हो।  हात उठाएँ । अन्दाज सही भएछ । हात मिलायौँ । फोनमा कुरा भए पनि हाम्रो पहिलो औपचारिक भेट भएकाले विस्तृत चिनजान गर्यौँ ।  तुशान्तसँग पनि परिचय गराइदिएँ। निलो कारको ढोका खोल्दै लोप्चनजीले भित्र बस्न आग्रह गर्नुभो । म अगाडिकै सिटमा बसेँ । तुशान्त पछाडि । इडेन गेटबाट बाहिरिएपछि हाम्रो कार भिक्टोरियातर्फ लाग्यो।

सेसेल्सको राजधानी हो भिक्टोरिया । सानो छ तर सफा, चिटिक्क परेको सामुद्रिक तटमा ।  कोरोना, जनजीवन र बाध्यात्मक परिस्थितिको आपसी अनुभव बाँड्दै हामी भिक्टोरिया क्लक  टावरमा आइपुग्यौं । तुशान्त त्यहीँ उत्रिने भयो । उसलाई छोडेर हाम्रो कार अघि बढ्यो जेट्टीतर्फ । सेसेल्सको दोस्रो ठुलो आइल्याण्ड प्रालिनबाट मनोज बिक र पुरुषोत्तम अधिकारी पनि आउँदै थिए। उनीहरूलाई त्यहीँ भेट्ने कुरा थियो ।  हामी आउँदै गरेको जानकारी पाइसकेका उनीहरु केही कदम अगाडि बढ्दै रहेछन् ।

भर्चुअल्ली त प्रशस्तै कुरा भएकै हो । तर, भौतिक भेट भने पहिलो नै थियो उनीहरुसँग पनि । हात मिलायौं, खबर आदानप्रदान गर्यौँ ।  मास्क त सबैले लगाएका थियौँ, तर त्यत्ति पर्वाह गरेनौँ । हातमा स्यानिटाइजर  दल्न पनि बिर्सेछौँ । पछाडिको सिटमा मनोजजी र पुरुषोत्तजी बसिसकेपछि हाम्रो कार बन्दरगाहको छेउ पुगेर भिक्टोरिया नै फर्कियो । भित्री भिक्टोरियाको ‘बेउ भालोन’ भन्ने ठाउँमा पुगेपछि कार चलाइरहेका लोप्चनजी रोकिए । उनको निवास त्यहीं रहेछ । राती ड्युटी जानुपर्ने भएकोले त्यहाँभन्दा उता जान नसक्ने, कोठामा गएर आराम गर्ने बताए । उनको कुरा स्वाभाविक थियो । पन्तजीको अनुरोधमा मलाई रिसिभ गर्न मात्रै आएका रहेछन् लोप्चनजी । ‘अब हामी छुट्टिउँ, पुरुषोत्तम सर चलाउनुस् गाडी, भोली भेटौंला !’ यति भनेर  लोप्चनजी कारबाट उत्रिए ।  नमस्कार गरेर आफ्नो बाटो लागे । नमस्कार फर्काएर हामी कारमै रह्यौँ । पुरुषोत्तमजीले कार चालकको कार्यभार सम्हाले ।

मूलत: सेसेल्स क्रिस्चियन धर्मावलम्बीहरुको देश हो।  तर, यहाँ अन्य धर्ममा आस्था राख्नेहरुको पनि बसोबास छ । सबै धर्मप्रति समान व्यवहार र स्वतन्त्रता छ । भिक्टोरिया सहरको मध्यभागमा एउटा हिन्दु मन्दिर छ । मैले योभन्दा पहिला पनि केहीपटक आएर दर्शन गर्ने अवसर पाइसकेको छु। ठ्याक्कै अगाडि ठुलो कार पार्क छ । सडकले छुट्याएको छ कार पार्क र मन्दिर । वारि कार पार्क पारि मन्दिर। पुरुषोत्तमजीले त्यहीं लगेर हामी सवार कार बिसाए । “अब एउटा गणेशलाई लिएर अर्को गणेशको दर्शन गर्न जाऔं है !” भन्दै मन्दिरतर्फ अघि बढे । हामीले पछ्याएयौँ । बाहिरै जुत्ता खोलेर त्यहाँ व्यवस्थित धारामा हातमुख धोईवरी मन्दिर प्रवेश गर्यौँ । मुख्य द्वारछेउमै नाम दर्ता पुस्तिका र तापक्रम नाप्ने डिजिटल थर्मोमिटर  राखिएको रहेछ । प्रक्रिया पूरा  गरेर दर्शन गर्यौँ । कोभिड महामारीको कारण मास्क त अनिवार्य थियो नै । एउटा गज्जबको सुबिधा भनौँ या व्यवस्था रहेछ त्यहाँ । भक्तजनहरुको लागी सित्तैमा प्रसाद बुफेट राखिएको रहेछ ।  खिर, लड्डुलगायत विभिन्न मिस्टान्न भोजन ‘टेक अवे’ बक्समा आफैँ पस्केर इच्छानुसार लिएर जान पाइने ।

दक्षिण भारतीय पूजारीलगायत केही स्वयंसेवकहरु छेवैमा बसेर मुसुमुसु हाँस्दै आधा हिन्दी र आधा अङ्ग्रेजीमा केही न केही बोलीरहेका हुन्थे तिर्थालुसँग । सेसेल्समा रहेका भारतीय समुदायले कस्तो राम्रो काम गरेका ?  राजधानीको मुटुमा त्यत्रो भव्य हिन्दु मन्दिर बनाएका, भिसा लगाएर पुजारी ल्याएका, प्रसाद निःशुल्क बाँडेका।  यद्यपि, स्वेच्छिक दान पेटिका भने देखिन्थ्यो त्यहाँ पनि अन्त जस्तै । भक्तजनले चढाएको दक्षिणा-भेटी पनि हुँदो नै हो अलिअलि त ।

फूल-प्रसाद लिएर हामी बाहिरियौँ । पुरुषोत्तमजीले कार उकालो लाए ।  सेसेल्स ट्रपिकल आइल्याण्ड हो ।  समथरभन्दा चुरे पहाड बढी छन् यहाँ । हिन्दु मन्दिरबाट उकालो लागेको गाडी साँघुरो सडकमा चेपिँदै अघि बढिरहेको छ। नाकै ठोकिने उकालोमा गाडी नै उत्तानो पल्टेलाकी भन्ने भयले जगजगी हुँदै बडेमान चट्टानी पहाडको फेदीमा अवस्थित एउटा सामान्य नेपालीजस्तो घरमुनि पुगेर हाम्रो कार रोकियो । भोजपुरको हिले भन्ज्याङमाथिको भिरखर्क  डाँडा सम्झेँ मैले । बाटो उस्तै थियो, धरानको फुस्रेबाट भेडेटार जाँदाको याद आयो ।

रोकिएको कारबाट हामी उत्रिसकेपछि पुरुषोत्तमजीले अगाडिको चक्कामुनि पाँच किलो जतिको ढुङ्गा घुसारेर घरको कम्पाउण्डतर्फ लम्के । हामी पनि सँगसँगै लम्कियौँ। मलाई त त्यो कारको पो माया लागेर आयो  एक्कासी । कतै चिप्लेर उँधै बगीजालाकी भनेर । सेसेल्समा कार हायरिङ् गज्जब लाग्यो । एक दिनको ४००-५०० सेसेल्स रुपियाँ तिरेपछि छानीछानी कार भाडामा पाइने रहेछ । मेरै भ्रमण सहज र सुगम बनाउनका निम्ति कारको व्यवस्था गर्नुभएको रहेछ पन्तजीले ।

बरन्डामा लस्करै मिलाएर राखिएका जुत्ताको ताँतीबाट एउटा जुत्ताभित्र हात घुसारेर चाबी निकाली घरको दैलो खोले मनोजजीले । सायद पन्तजीबाट प्राप्त लोकेसन सङ्केत हुनुपर्छ । ठ्याक्कै नेपाली शैलीको घर । बाहिरबाट हेर्दा सामान्य तर भित्रको डिजाइन आकर्षक लाग्यो । त्यसो त यहाँका अधिकांश घरहरुका भित्री भाग पर्यटकीय दृष्टिकोणले बनाइएका हुन्छन् । गैरआवासीय नेपाली संघ सेसेल्सको सम्पर्क स्थान समेत भएकाले पन्त निवासमा नेपाली राष्ट्रिय झण्डासहितको बैठक कोठाले नेपालीपनको न्यानोपन दिलाउँथ्यो। सेसेल्समा पहिलोपटक नेपाली झण्डा देख्दा म पनि एक्लै रहेनछु जस्तो लाग्यो । अघि मन्दिरबाट ल्याएको प्रसाद ग्रहणपश्चात मनोजजी भान्सामा लागे, पुरुषोत्तमजी फोनमा अलमलिए, म भने बाहिरबाट देखिने मनोरम दृश्यपानमा भुलेँ ।

मास्तिर अग्लिएको अजङ्ग पहाडले नेपाल बिर्साउने । फेरि तल्तिर फैलिएको अथाह समुद्रले म कहाँ छु कहाँ लाग्ने । कस्तो अचम्मको भौगोलिक अवस्थिति ! बिचमा उभिएको छु । एउटा आँखाले भू-परिवेष्ठित देश नेपाल देख्छ, अर्को आँखाले सामुद्रिक मुलुक सेसेल्स । मोबाइलको क्यामेरामा दृश्यांकन गरिसकेपछि घरमा भिडियो कल गर्छु । घुमाईघुमाई त्यहाँका दृश्य देखाउँछु । फुसफुसे कुहिरोसहितको पहाड देखेर आमा भन्नुहुन्छ- ‘हिले भन्ज्याङमाथिको छिन्तालुङ डाँडा जस्तै र’छ नि नानी !’ समुद्र हेरेर लक्ष्मी भन्छे- ‘आहा कति निलो !’ पानीजहाजको लर्कोबाट एक-एक वटा ल्याइदिन माग गर्छन् बाबु-नानीहरु ।

खाना पाकेछ । भित्रबाट साथीहरुको बोलावट भयो । पकाउने मनोजजी, पस्किने पुरुषोत्तमजी । तितेकरेला भनेपछि म हुरुक्कै । मनोजजीको पाककला उत्कृष्ट लाग्यो । फ्रिगेट आइल्याण्ड, पाँचतारे होटेलको स्टाफ क्याफेटेरियामा कन्टिनेन्टल खानाले दिक्क भएको मेरो जिब्रो आज नेपाली स्वादमा रमायो । थपी-थपी खाएँ ।

खाना खाइसकेपछि आजको पहिलो भ्रमण तालिका बनायौं । म अनभिज्ञ थिएँ, पन्तजी ड्युटीमा । साथीहरु अलिक माहेमैत्री भएकोले उनीहरुकै पदचाप पछ्याउनु थियो । सायद पन्तजीकै फोन सल्लाहमा ‘भेन्स टाउन’ जाने निधो स्वरूप बाहिर निस्कियौं । अघि पार्किंङ गरिराखिएको निलो कार उकालो लाग्यो । चालकमा पुरुषोत्तमजीले नै निरन्तरता पाए । सेसेल्सका पहाडी घरहरु बनाइएका होइनन् कि भित्तामा टाँसिएका जस्ता लाग्छन् । तर जहाँ-जहाँ घर छन्, त्यहाँ-त्यहाँ मोटरबाटो पुगेकै हुन्छन् । घरहरुचाहिँ असाध्यै आकर्षक डिजाइनका ।

साँघुरो नागबेली सडक एक्कासि एउटा घना जङ्गलभित्र पस्यो । अघिसम्म देखिएको समुद्र हरायो । झ्याउ पलाइसकेका बुढा रुखहरु ढलेको यत्रतत्र देखिन्छन् । मनमनै लोभ लाग्यो- नेपालमा भए कत्ति दाउरा काटिन्थ्यो होला ! किशोरावस्थामा कालीखोला र मालबाँसे दाउरा काट्न भालेको पहिलो डाँकसँगै गाउँ नै हूल बाँधेर गइन्थ्यो । मन उःबेलामा पुगेर रोमान्चित बन्यो । यहाँ त हरियो रुखमात्र होइन, सुकेको पनि जथाभावी काट्न सरकारले निषेध गरेको हुन्छ । यतिबेला मनमा एउटा नेपाली सरकारी नाराले चिमोट्यो – ‘हरियो वन, नेपालको धन !’

अलिक पर मेरो स्मृतिको कालीखोला दुरुस्तै भेटियो । छेउमा सानो झरना कुलकुल । सडकछेउमा कार रोकेर अँजुली थापी धित मरुन्जेल पानी पिइयो । हजुरबा आर्जित लेक-गोठ जाँदा छरछरेको ढुङ्गे धारामा आधी जिउ भिजाउँदै सर्वाङ्ग सितल हुने चिसो मूलको पानी यहाँ भेट्दा निक्कै नोस्टाल्जिक भएँ म । स्प्राइटको खाली बोतलमा जोहो पानी भरेर अघि बढ्यौँ हामी ।

‘भेन्स टाउन’ पुगिएछ । मेरो लागि पहिलोपटक भए नि साथीहरु पहिला पनि आइसकेका रहेछन् । प्रवेशद्वारको अगाडि रहेको पार्किङ लटमा कार बिसाएर टिकट काउन्टरमा गयौँ । पर्यटकहरुलाई एक सय प्रवेश शुल्क लाग्ने तर स्थानीय बासिन्दा र भिसाधारी कामदारलाई परिचयपत्र देखाए निःशुल्क रहेछ । हामी निःशुल्क प्रवेश गर्यौँ पासपोर्ट तथा जिओपी देखाएर । त्यहाँका निख्खुर काला युवक र युवती कारिन्दाले चम्किला सेता दाँतको मुस्कानले स्वागत गर्दै एक-एकवटा ब्रुसर दिए । भेन्स टाउनसम्बन्धी संक्षिप्त जानकारी लेखिएको त्यो ब्रुसर हेर्दै हामी भित्र छिर्यौँ।

घना जङ्गलसहितको विशाल क्षेत्रफलमा देख्न पाइने इतिहासका अनेकौँ रोचक वस्तुहरुले कौतुहलता जगाउन थाले । जङ्गलभित्र चर्च, चिहान, भत्किएका घरहरु, काटिएका रुखहरु अनि लडेका स्तम्भहरुलाई समेत बडो जतनले संरक्षण गरिएको थियो । ती पुरातन घरका भग्नावशेषहरु दासताबाट मुक्त अफ्रिकी बालबालिकाहरुका लागि मिशिनरी चर्चले त्योबेला बनाइदिएका स्कुल रहेछन् । भेन्स टाउनको इतिहास पनि पुरानो रहेछ । जब सेसेल्स बेलायतको औपनिवेशिक समय झेल्दै थियो त्यहीबेला बेलायतका चर्च मेशिनरी सोसाइटीका प्रमुख ‘हेनरी भेन्स’को सम्झनास्वरूप अठारौँ शताब्दीमा स्थापना भएको रहेछ । क्रिश्चियन धार्मिक व्यक्तित्वबाट सक्कली नामाकरण भएको ‘भेन्स टाउन’ सन् १८७६ मा विधिवत् उद्घाटन भएको जानकारी हाम्रो हातमा भएको ब्रुसरले दियो । यसका अन्य पनि थुप्रै प्रचलित नामहरु रहेछन् : क्यापुचिन, भेनस टाउन, मिशन लज, मिशन स्टेशन, मिशन रुइन्स आदि ।

हिंड्दै जाँदा दायाँबायाँ थकाइ मार्ने फलैँचा र योगास्थलहरु पनि भेटिन्थे । दास जीवन बिताइरहेका अफ्रिकी बालबालिकालाई दासप्रथाबाट मुक्ति दिलाई यहीँ स्कुल खोलेर विभिन्न सीपमूलक काम अनि शिक्षा प्रदान गरिएको रहेछ । भेन्स टाउनको मिसन भग्नावशेषहरु सेसेल्सको सबैभन्दा ठुलो टापू माहे आइल्याण्डको मोर्ने सेसेलोइस राष्ट्रिय निकुन्जको दक्षिण-पश्चिममा ४५० मिटरको उचाईमा अवस्थित छ । भिक्टोरिया सहरभन्दा ६ किलोमिटरको दूरीमा २० मिनेटको ड्राइभिङपश्चात केन्द्रीय पर्वत शृङ्खला पार गरेपछि पुगिँदोरहेछ भेन्स टाउन । संसारका दुर्लभ वनस्पति र वन्यजन्तु आरक्षित भेन्स टाउन सेसेल्सको सबैभन्दा ऐतिहासिक र सांस्कृतिक धरोहर रहेछ । यसका भग्नावशेषहरुले सेसेल्सको इतिहासको महत्वपूर्ण चरणको गवाही दिन्छन् । दासयुगका ऐतिहासिक भग्नावशेषबाहेक रमणीय र घना कुमारी जङ्गल अनि रैथाने जीवजन्तुले मन रोमान्चित पार्ने यही उच्चस्थल आज सेसेल्स कुनैबेला दासयुगमा गुज्रेको थियो भन्ने प्रमाणस्वरूप ऐतिहासिक बनेर जीवित रहेछ । त्यहाँ स्थापित स्कुलमा आश्रित ३७ जना बालबालिकाहरुलाई बाइबलका कथा, भजन, सिकर्मी, बागवानी सिकाइँदोरहेछ । त्यतिबेला त्यहाँको मुख्य आयश्रोत कफी, नरिवल, भेनिला आदि रहेछन्। अधिकांश स्कुले बालबालिकाको नाम, थर केही रहेनछ। तिनीहरुले बोल्ने भाषा पनि अस्पष्ट अनि तिनका अभिभावक पनि अज्ञात भएकाले जसले त्यो स्कुलको रेखदेख गर्ने हो उसैले तिनीहरुलाई नाम, थर दिइएको रहेछ ।

स्मरणीय छ: सेसेल्समा अझै पनि बच्चा जन्माउन बिहे नै गरिरहनु पर्दैन । स्त्री-पुरुषको मन मिलेर समागम भए पुग्छ । त्यतिबेलै पनि स्कुल, छात्रावास, भान्साघर, कार्यशाला, भण्डारकोठा, शौचालय, बाथरूम आदिको राम्रो व्यवस्था गरेर ती दास बालबालिकालाई सभ्यताको युगमा हिँडाउने काम भएको रहेछ। पछि सन् १८७९ देखि त ‘भेन्स टाउन’मा आश्रित बालबालिका दास होइन कि त्यहीँ कार्यरत अफ्रिकी श्रमिकका सन्तानको रुपमा व्यवहार गर्न थालिएछ ।

हामी हेर्दै, हिँड्दै, अध्ययन गर्दै अघि बढ्दैछौँ । एउटा चिहानघारी देखियो। मुक्त दास समाधिस्थल। यसलाई ‘क्यापुचिन सेमेट्री’ पनि भनिँदोरहेछ, किनभने यसको वरिपरी क्यापुचिनको घना जङ्गल भएकाले । अफ्रिकी दास बालबालिका र ब्रिटिश सुपरिवेक्षकको यही चिहानघारी आजकल पर्यटकको आकर्षणस्थल अनि स्थानीय सहरवासी सेसेल्वा समुदायको ध्यान, प्रार्थना एवम् योगास्थलको रुपमा परिचित तथा विकसित भएको रहेछ । समग्रमा भेन्स टाउन अद्वितीय, ऐतिहासिक, सांस्कृतिक र सौन्दर्यको खानी रहेछ जो सहरभन्दा टाढा आफ्नै महत्त्व बोकेर प्रतिष्ठित छ ।

सेसेल्सको मौसमले आफ्नो नियमित स्वभाव देखायो । झ्यार्र पानी पर्न थाल्यो । हामी दगुरेर एउटा काठे छाप्रोमा पुग्यौँ । त्यो रहेछ ‘क्वीन एलिजाबेथ भ्यु पोइन्ट ।’ हामीले भ्रमण सुरु गरेको ‘भेन्स टाउन’ को उपल्लो बिन्दु रहेछ त्यो । त्यहाँबाट देखिने मनोरम दृश्य शब्दमा बयान गर्न सकिन्न । पूरै भिक्टोरिया सहर एकै पलकमा हेर्न सकिने । निलो समुद्रमा खालखालका पानीजहाज आफ्नै सुरमा ओहोरदोहोर गरिरहेका । लाग्यो- स्वर्ग देख्न अन्त जानै पर्दैन । भू-परिवेष्ठित देशका हामीलाई त्यो दृश्य झनै रोचक थियो । काठको फराकिलो टावर । नाम रहेछ – ‘मिशन लज ।’ बेलायती महारानी एलिजाबेथ द्वितीयले सन् १९७२ मा समुद्घाटन गरेको यो लजको महिमा पनि ठुलो रहेछ । त्यही दिन २० मार्च, १९७२ बिहान सेसेल्सको अन्तर्राष्ट्रिय विमानस्थल समुद्घाटन गरेर सिधै उक्त लज उद्घाटन गर्न पुगेकी बेलायती महारानीले त्यहाँ सेसेल्सका उच्च सरकारी अधिकारीहरुका साथमा चियापान पनि गरेकी रहिछन् । आफ्ना पति राजकुमार फिलिपका साथ रोयल याच ब्रिटानियामार्फत भएको उनको सवारीमा सेसेल्सका तत्कालीन मुख्यमन्त्री जेम्स मान्चमले साथ दिएका रहेछन् । भ्रमण पनि भयो, अलौकिक दृश्यपान सँगै धेरै कुराको जानकारी पनि लिइयो ।

पानी रोकिएर घाम पिलिक्क देखियो । अघि हामी आउँदा नै देखिएको एउटा धम्मरधुस हब्सी छेउको फलैँचामा अडेस लागेर आङ तन्काउँदै थियो। सायद त्यो आन्तरिक पर्यटक हो । हामीले त्यहाँबाट देखिएका सबै दृश्यलाई मोबाइलको क्यामेरामा कैद गर्यौँ र सेल्फी पनि हान्यौँ। सन् १९८४ मा राष्ट्रिय स्मारक घोषित ‘भेन्स टाउन मिशन रुइन्स’ २००६ मा सेसेल्स हेरिटेज फाउन्डेसनले व्यवस्थापन सुरु गरेको अनि सन् २०१३ देखि विश्व सम्पदा सूचीमा सूचीकृत भएको रहेछ । मिशन रुइन्स भ्रमणसँगै हाम्रो आजको मिशन पनि सकियो, कार समातेर ओरालो लाग्यौं भिक्टोरियातर्फ ।

बाटोमा एउटा विशाल चियाबगान भेटियो । हामीले रिसोर्टमा खाने गरेको चिया सेटे (SeyTe) यहीँको उत्पादन रहेछ । यो सेसेल्सको लोकप्रिय र प्रतिष्ठित चिया हो। पर्यटकहरुले अधिक मन पराउने यो चिया मैले पनि केही पटक नेपाल लगेर धेरैलाई चखाएको छु । यसको भेनिला संस्करण गज्जब लाग्छ । तलको समुद्र बिर्सेर चियाबगान मात्र हेर्ने हो भने आफूलाई इलामको कन्याम अथवा दार्जीलिङकाे गेल कमानमा भएको अनुभूत हुन्थ्यो । चियाविकास निगमका पुराना बिल्डिङ्हरु नाघेर आएको फुसफुसे कुहिरोले बगान छोप्यो, हामी पनि हतारहतार दुई चार फोटो खिचेर ओरालियौँ ।

पुरुषोत्तमजीले बाटो भुलेछन् । एउटै ठाउँ तीन चारपटक आउँदा महसुस भयो । बस बिसौनीमा सिटी बस कुरेर बसेकी एक सेसेल्वा वृद्धालाई भिक्टोरिया जाने बाटो सोधेको, तिनको आधा अङ्ग्रेजी र आधा क्रेओल भाषाले सही सङ्केत गरेन । अलिक पर कुइनेटोमा कारभित्र एक गोरी किशोरी रोकिएर बसेकी थिई । उसैलाई सोध्यौं । त्यसको बोलीचाली र पहिरन हेर्दा त्यो पक्कै एयरपोर्ट कस्टम कारिन्दा हो । प्रष्ट भयो हामी धेरै पर रहेछौं, अन्तर्राष्ट्रिय विमानस्थल त्यतै नजिक छ । केटीले देखाएको बाटोमा हाम्रो कार अघि बढ्यो। केही पर पुग्दा कारको झ्यालबाट ‘होटेल ला-रुसेट’ झलक्क देखेँ । म झन् पक्का भएँ कि यो एयरपोर्ट छेउमै हो । छुट्टी मनाउन घर जाँदा त्यही दिन उडान नभए कम्पनीले विदेशी स्टाफलाई माहेका होटेलमा ट्रान्जिट बसाउने गर्दछ । म धेरै पटक यही होटेलको गेस्ट भएर बसेको छु।

भिक्टोरिया क्लक टावर आइपुग्यो । केटीले सही बाटो देखाइछे । त्यसपछि त हामी सब आफैँ जान्ने भइहाल्यौँ, किनभने हामी सबैलाई थाहा थियो भिक्टोरिया क्लक टावरका बारेमा । सेसेल्सको एक प्रतिष्ठित अनि महत्त्वपूर्ण ऐतिहासिक धरोहरका रुपमा लिइन्छ यसलाई । जतिबेला सेसेल्स बेलायतको औपनिवेशिक युगमा थियो त्यही समय सन् १९०३ अप्रिल १ मा स्थापना गरिएको रहेछ यो टावर । सन् १९०१ मा स्वर्गीय भएकी बेलायती महारानी भिक्टोरियाको सम्झनामा प्रतिस्थापित यो स्तम्भले सेसेल्सको इतिहासमा एक नवीन अध्याय सुरु गरेको यहाँका इतिहासविद्हरु बताउँछन् । एउटा रोचक कुरा- यो टावर निर्माण गर्न लाग्ने सबै सामग्री बेलायतबाटै ल्याइएको रहेछ । बेलायतको प्रख्यात घडी निर्माता तथा घन्टी फाउण्ड्रीद्वारा गिलेल र जोन्सन कास्ट आइरनबाट निर्मित उक्त क्लक टावरको लागत त्यही बेलाको ४६८ अमेरिकी डलर लागेको रहेछ । अहिलेको लगभग १३ हजार अमेरिकी डलर ।

अर्को चाखलाग्दो कुरा – यस्तै टावर बेलायतको संसद भवनमा पनि भएकाले यिनीहरुलाई ‘लिटिल बिग बेन्स’ भनेर पनि चिनिँदोरहेछ । कहिले बेलायत अनि कहिले फ्रान्सको उपनिवेशबाट गुज्रिएको सेसेल्स त्यही साल मौरिससबाट आफ्ना ११५ वटा टापुहरु लिएर अलग भई बेलायतको स्वतन्त्र ‘क्राउन कोलोनी’ युगमा प्रवेश गरेको रहेछ। यसका प्रथम गभर्नर रहेछन् – अर्नेस्ट बिक्हम स्वीट एस्कोट । ‘यदि कोही पनि पर्यटक भिक्टोरियामा अलमलियो भने यो टावरमा आएपछि सम्झिनु कि म सेसेल्सको राजधानी भिक्टोरियाको मुटुमा छु ।’ भिक्टोरिया नगरका मेयर डेविड आन्द्रेले एक ठाउँमा भनेका छन् । भिक्टोरियाको क्लक टावर साँच्चीकै आकर्षक त लाग्दछ नै सेसेल्सको यो पहिचान र गौरव पनि हो । यहाँका मेयर र नागरिक यसै भन्छन् ।

बिचमा थपिए कृष्ण भण्डारी । उनकै अगुवाइमा ‘बेउ भालोन’को एच होटेल पुगियो । नेपाली कामदार साथीहरुसँग भेट भयो । श्याम बगालेले सामुन्नेमा रहेको भव्य बीच घुमाइदिए, जो माहे आइल्याण्डकै ठुलो, चर्चित, व्यस्त र आकर्षक सामुद्रिक तट हो । कोरोना महामारीको चपेटाले पर्यटकहरु पातला देखिन्थे । एच होटेल दुबइको राजाको हो । कोरोनाको बेला बाहिर ननिस्की होटलमै बसेर हरेक कामदारले ६-६ हजार अमेरिकी डलर पाएछन् । श्याम बगालेबाट त्यो सुन्दा हाम्रा आँखा तन्किए ।

साँझ पर्न लाग्यो । समुद्र तटको बालुवामा उभिएर केही समय गफिएपछि त्यहाँबाट निस्कियौँ र बेलोम भन्ने ठाउँमा पुग्यौँ । मास्तिर हेर्दा धादिङकाे नौबिसे बिर्साउने पहाड, तलतिर हेर्दा समुद्रको विशालता । घाम डाँडामा पुगेर छलिँदै थियो समुद्रमा आफ्ना पहेँला खुट्टा तन्काएर । सानो पार्क थियो, त्यहाँभन्दा उता गाडी जाने ठाउँ देखिएन । हाम्रो निलो कार घ्याच्च रोकियो । स-साना तर आकर्षक घरहरु थिए, प्रायः सबै होटेल-रेस्टुरेन्ट । सिमेन्टको पर्खालमा बस्यौँ, मनोजजीले स्यान्डविच र कोक लिएर आए छेवैको ‘टेक अवे’ पसलबाट । भोक लागेको रहेछ, मज्जाले खाइयो। अघिसम्म त नवीन स्थल घुमफिरको रसिलो अनुभवले भोक बिर्साएको रहेछ । स्यान्डविच मुखमा हाल्दा थाहा भयो ।

साँझ झमक्क भयो, पर भिक्टोरियाले सडक बत्ती बालेको देखियो । हामी त्यस दिनको भ्रमण त्यहीँ बिट मारेर पन्त निवास फर्कियौँ, कृष्णजीलाई अघिकै लोकेशनमा छोडिराखेर । बिहानकै ठाउँमा कार बिसाएर पूर्ववत: ५ केजीको ढुङ्गा टायरमुनि घुसाए पुरुषोत्तमजीले । मलाई भने उसरी नै कारको माया लाग्यो, कतै त्यो भिरालो साँघुरो सडकबाट कार चिप्लेर उँधै पो गइजाने हो कि !

पहिलोचोटि एनआरएनए सेसेल्स अध्यक्ष आरपी पन्तसँग स-शरीर भेट भयो । हात मिलाएर अभिवादन गर्यौँ, गला जोडेर हार्दिकता साट्यौँ । बाक्लो डिजिटल संवाद भए पनि भौतिक भेट पहिलो थियो हाम्रो । मैले जुन रुपमा कल्पना गरेको थिएँ त्यस्तै बौद्धिक, व्यवहारिक र आत्मीय लाग्यो पन्तजी । कुकरमा दाल बसाइसक्नुभएको रहेछ । भात र तरकारी पकाउने जिम्मा मनोजजीले नै लिएपछि हामी गफिन थाल्यौँ ।

खाना पाक्यो । खाइसकेर एनआरएनए अनि अनेसासलगायत विविध विषयमा घनिभूत छलफल गर्यौँ । सबैका लागि सबै पाहुना थियौँ, खात्तिरले गफ गर्यौँ । भित्ते घडीको टिकटिकले मध्यरात नाघेको सङ्केत गरेपछि सर्वसहमतिले सुत्यौँ ।

क्रमशः…