गणेश खड्का

साहित्यपोस्टको अफ्रिका संयोजकमा साहित्यकार गणेश खड्का नियुक्त हुनु भएको छ । एक दसकदेखि अफ्रिका महादेशकै सुन्दर टापु मध्येको एक सिसेल्सस्थित फ्रिगेट आइसल्याण्डमा होटेल व्यवस्थापन सम्हालिरहनु भएका खड्काले अफ्रिका महादेशमा रहेका नेपाली भाषा र साहित्यमा रुचि भएकाहरूलाई साहित्यपोस्टसँग जोड्नु हुने भएको छ ।

२०४९ सालदेखि नै साहित्यमा रुचि राख्ने खड्का मूलतः नाट्यकर्मीका रुपमा आफ्नो परिचय बनाउनु भएको थियो ।

उहाँ २५ वर्षदेखि लगातार कविता लेखनमा पनि हुनुहुन्छ ।

उहाँका थियटर र आँखाहरु (नाटक संग्रह २०७०) र हिउँमा आगो पगालेर (कविता संग्रह २०७१) कृतिहरू प्रकाशित छन् । उहाँले रेडियो नाटक र सडक नाटकमा आफ्नो कला प्रस्तुत गरिसक्नु भएको छ । राष्ट्रिय नाटक महोत्सव र क्षेत्रीय नाटक महोत्सवमा पनि उहाँले भाग लिइसक्नु भएको छ ।

‘आय आर्जनका लागि देश छाडेर अफ्रिकी महादेशको सेसेल्समा आइपुगे पनि म साहित्यबाट पृथक् छैन । यही कारण साहित्यपोस्टसँग जोडिन आइपुगेको हुँ,’ गणेश खड्काले व्यवस्थापन समूहसँग भन्नुभयो, ‘अफ्रिकामा नेपालीहरुको संख्या निकै थोरै छ तर पनि उहाँहरूलाई साहित्यमा जोड्न सके मलाई खुसी मिल्छ भन्ने लागेर साहित्यपोस्टसँग जोडिएको हुँ ।’

गणेश खड्का हाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिकाका संयोजक पनि हुनुहुन्छ । उहाँको नेतृत्वमा अफ्रिकामा साहित्यिक गतिविधि तीव्र भएको छ ।

उहाँको साहित्यिक कौशललाई गैरआवासीय नेपाली संघका चर्चित व्यक्तित्व हिक्मत थापाले पनि प्रशंसा गर्नुभएको छ । थापा अफ्रिका बसेर साहित्यिक गतिविधि गर्ने प्रमुख व्यक्तित्व हुनुहुन्छ । थापाकै सिफारिसमा व्यवस्थापन टिमले एक वर्षअघि गणेश खड्कासँग सम्पर्क राखेको थियो ।

‘गणेश खड्का अफ्रिकाको एउटा दुर्गम टापुमा बसेर पनि गम्भीररुपमा अफ्रिकाभरि नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा लागेको थाहा पाउँदा हामी आश्चर्यचकित भयौँ,’ साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले व्यवस्थापन विभागसँग भन्नुभयो, ‘खड्काको नेतृत्वमा अफ्रिकामा रहनु भएका नेपाली भाषा–साहित्य प्रेमीहरूले नयाँ अनुभव गर्नु हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

गणेश खड्का केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश हुँदै अफ्रिका पुग्नु भएको हो । जहाँ बसे पनि नेपाली भाषा र साहित्यलाई प्रवर्द्धन गर्ने कार्य गरिरहनु भएका कारण साहित्यपोस्टले उहाँलाई व्यवस्थापन विभागसँग जोडिन अनुरोध गरेको हो ।

‘हाल म अफ्रिकामा भएका कारण अफ्रिका संयोजकको रुपमा जोडिएको हुँ । यायावर जीवनमा भोलि म कुनै अर्को देश पुग्न सक्छु । त्यो बेला म फरक तरिकाले साहित्यपोस्टमा जोडिन सक्छु,’ गणेश खड्काले साहित्यपोस्टसँग भन्नुभयो, ‘तर जहाँ भए पनि साहित्यपोस्टले दिएको भूमिका निभाउने छु ।’

साहित्यपोस्ट परिवारले साहित्यकार गणेश खड्को सिर्जनात्मक जीवनको उत्तरोत्तर कामना गर्दै साहित्यपोस्टमा उहाँको उपस्थितिलाई स्वागत गरेको छ ।