भोकको ओखती खोज्ने ध्याउन्नमा
भालेको पहिलो डाक अगावै
घरदेश छोडेर परदेश लाग्दैगर्दा
मुलुक नाघेर मुगलान पस्नुपूर्व
बिहानको भुकभुके उज्यालोमा
खुर्पे जून शिरमा सिउरेर
पानी भरिरहेका पँधेर्नीहरुले सोधेथे-
कहिले फर्केर आउँछौ मुगलानी ?
आफ्नै अनुहारका प्रश्न चिन्हहरू छाम्दै
दोधारे मनको कठघरामा उभिएर भनेथेँ-
अनिश्चित भविष्य र अधुरो सपनाको पहाड
काँधमा बोकेर युद्द मैदानमा हिंडेको सिपाहीलाई
फर्केर आउने भाका सोधेर किन पिरोल्छौ पँधेर्नी !

हङ्ग्रायो खोलाले बाटो छेकेन
अरुण नदीले पाइला रोकेन
अँधेरीघाट,लेगुवाघाट,मूलघाट कुनैले फर्काएनन्
दुःखले खेदेर
अभावले लखेटेर
आवश्यकताले भगाएर
सातुसामल पोको पारी घरले पठाएपछि
सुनको लङ्का देखाई परदेशले बोलाएपछि
रनाहामा उचालिएका पाइला नरोकिंदा रहेछन्
पहाड-पर्वत, झोर-झाडी, वन-जङ्गल
पटक्कै अवरोध गरेनन्
कसैले रोकेन, केहीले छेकेन
रोक्न,छेक्न खोजे त बरु आफ्नै आँशु र मनले !

खाँचोको बन्दीगृहबाट जिन्दगीले साँचो खोलिदिएपछि
बाध्यता र कहरका सामूहिक रोहवरमा
जीवन संघर्षको एकल इजलाशले
निर्विकल्प निर्धा पैतालाहरूलाई सिमाना कटायो
हातमा राहदानीको रवानापत्र थमाइदिएर
मरिजानुभन्दा गरिखानुको न्यायिक फैसला सुनाउँदै

घरदेश छोडेर परदेश आएपछि
मुलुक नाघेर मुगलान पसेदेखि
प्रत्येक बिहान हातखुट्टा चिमोटेर थाहा पाउँछु
शरीर चाहिं जिउँदै रहेछ आफूसँगै
भोक,निद र खुशी त उतै थन्क्याएर आएको छु
आफूबाहेक कोही/केही छैन आफ्नो यहाँ
थोरै साथ भाग्यको
केही भर कर्मको
अलिकति निर्भर आफ्नै हातखुट्टाको
बढी भरोसा भगवानको
परदेशका साथीहरू यत्ति नै रहेछन्
यिनैको भरथेगमा
पसिना बेचेको पैसाले
वृद्ध बा-आमाको आयु जोड्नु छ
जवान अर्धाङ्गिनीको खुशी खोज्नु छ
कलिला नानीहरुलाई उज्यालो किन्नु छ
उनीहरूले सास फेरे मात्रै मुटु धड्किन्छ यता !

मुलुक छोडेर मुगलान हिंड्नेबेला
मुलुक सम्झिइने
मुलुकबाट मुगलान पुगिसक्दा पनि
मुलुक सम्झिइने
मुगलानमा बसेर
मुगलानकै नुनतेल खाँदा नि
मुलुक नै सम्झिइने
यो मुलुक भन्ने चिज त
मनबाट कहिल्यै नमेटिने नक्साछाप रहेछ
छातीबाट निकाल्नै नसकिने मुटुजस्तो !

मुगलानबाट मुलुक सम्झिंदा
थुप्रै कुरा मनमा आउँछन्
ठिक यहीबेला डिजिटल अखबार सुनाउँछ-
देशको नक्सा फेरिएको छ
खुम्चिएको मुलुक अलिकति तन्किएको छ
मुगलानबाट फुर्किएर मन भन्छ-
विस्तारित भूमिको अन्तिम साँधमा
एउटा स्वाभिमान घर बनाएर बसौँ
फेरि यथार्थको धरातल बोल्छ-
भूगोल त केवल
बाँचुन्जेलको बासस्थान मात्र हो
मुलुकको नक्सासँगै फैलिनुपर्ने त
मुलुकबासीको अनुहारको रेखा
आयुको लम्बाई
छातीको चौडाई
र जीवनको उचाई रहेछ !

०००

इटहरी – ४, सुनसरी, नेपाल
हाल : फ्रिगेट आइल्याण्ड, सेसेल्स l