फेसबुक

 

आकाशले
ताराको बिस्कुन सुकाउन खोज्यो
र उनले
परेलीको ढोका खोलिदिइन्
समय
टिकटिकटिकटिक गर्दै
भित्ताहरूबाट भाग्न खोज्यो
र मैले
टिकटक खोलेर
सिरानीमा राखिदिएँ
उनले
दिल खोलेर
मायाको अँगालो मागिन्
र मैले
फेसबुकको छाती खोलेर
सहवास गरें ।

 

 

 

गिदी फुट्ने कविता

उसले
भाषणको बिस्कुन सुकाउन खोज्यो
र मैले
घरको छाती बन्द गरेर
तालीको ताँती पड्काएँ
उसले झुटको ब्याड लगाउन खोज्यो
र मैले सम्बन्धहरू भत्काएर
धैर्यको बीउ छर्न दिएँ
उसले खुट्टा उचालेर
आमाको शिर ताक्यो
र मैले
उसको गिदी फुट्ने
कविताको बन्दुक तेर्स्याएँ ।