वर्षौंदेखि उत्तानो सुतिरहेछ
सोमालियाको भोको टपरी
बालुवा कोरलिरहेको एक्लो सिउँडीझैं
कसैसँग छैन उसलाई ओढाउने
भातजस्तो सेतो टालो
कसैसँग छैन उसलाई अढाउने
पाउरोटीजस्तो गोलो सिरानी
पूर्वको रूखो बतास आउँछ
र भोक हल्लाएर अर्को कुना पुर्याउँछ
पश्चिमको भूमरी आउँछ
र रिङ्गटा लगाएर पछार्छ
युध्दको खबर बोकेर
कागहरू झम्टा मार्छन्
आकाशको छातीमा
चिलहरू भोक खप्न मान्दैनन्
र
टपरी नै झम्टिन्छन् नङ्ग्राले
जहाँ बालक र टपरीहरू
भोकको अनुहार साटासाट गरिरहन्छन्
ओ
पाउरोटीको फुटबल खेल्ने
भस्मेश्वरहरू हो
आऊ
एउटा कविता पढौं
र
भोकको भाव सूचित गरौं
++
ओ
क्षेप्यास्त्रका चस्माहरू आऊ
तिम्रो अहमभन्दा पहिले
सासको उमेर बचाऔँ
गाँसको आकार बचाऔं
र
आँखा चिम्लेर गाउन मिल्ने
मानवताको गीत रचौं ।
अमेरिका
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला