‘साहित्यपोस्ट काव्य पुरस्कार – २०८१’ का लागि ५  काव्य कृतिको छनौट भइसइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि तथा गीतकार उत्तम भौकाजीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । उत्कृष्ट ५ मा छनोट भएको कृति ‘बग्दैबग्दैका स्रष्टा जगन्नाथ पौडेलसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

१. तपाईँको कवितासंग्रह ‘बग्दैबग्दै’ साहित्यपोस्ट काव्य पुरस्कारको छोटो सूचीमा पर्न सफल भयो । कस्तो महसुस गरिरहनुभएको छ ?

उत्साहित छु । मेरो कवितात्मक अभिमतलाई पाठकहरूले अनुमोदन गरेको महसुस गरेको छु । थप जिम्मेवार र नवीन बनेर सिर्जनामा नयाँ प्रयोग गर्नुपर्छ भन्ने सोच सक्रिय भएको छ । म प्रमाणसहित भन्न पाउँछु, ‘कविता लेखेर केही हुन्छ, भइरहेको छ ।’

२. तपाईँ धेरै देशका नागरिकहरूको सपनाको देश अमेरिकामा हुनुहुन्छ । सपना पूरा हुँदा खुशी लेख्नुपर्ने हो, तर तपाईंका कवितामा किन धेरै दुःख भेटिन्छ ?

म जहाँ छु, धर्तीकै काखमा छु । यहाँको हावा उही हो । यहाँका रूखका पातहरू पनि हरिया नै छन् । आकाश नीलै छ, जून स्वर्णमय नै छ । मेरो धड्कन जहाँ भए पनि उसरी नै चल्छ । अलिकति फरक भनेको संवेदनामा हुनसक्छ, विचार र भावनामा आउनसक्छ । छुटेका यादका कारण । पुराना जोडिइसकेका सम्बन्ध र अब नयाँ जुटाउनुपर्ने नयाँ बाटोको मार्गचित्रका कारण ।

मानवीय गुण या स्वभाव भनौँ, ऊ सधैँ नपाएका वा छुटेका कुरा बढी सम्झिन्छ । दुःखभित्रै सुख फुलाउने कला वा मार्ग सिर्जनामा हुन्छ । तपाईं ‘गौरी’ या ‘रोमियोजुलियट’ पढ्दा एक किसिमको सुख वा विरेचन प्राप्त गर्नुहुन्छ । दु:ख वा सङ्घर्ष विषय हुन सक्छन् । त्यसमाथि प्रक्षेपण भएर आउने सौन्दर्यको खोजी कवितामा गरिनुपर्छ भन्ने हो । विषय के आयो भन्ने कुराभन्दा कुन नवीनता स्थापना भयो भन्ने कुराले अर्थ राख्छ होला । मलाई केही नवीनताको अनुभूति पाठकले पाउनुपर्छ भन्ने लाग्छ । अर्को कुरा ‘बग्दैबग्दै’मा दुःखभन्दा बढी मानवीय संवेदना, प्रकृतिचिन्तन, जीवनरहस्य र क्षयग्रस्त पर्यावरणबारे प्रशस्त चिन्तन एवम् प्रमाण, सङ्घर्ष, वन्धुत्वले भरिएको सिङ्गो धर्तीको कामना, प्रविधिका जरा अनि विज्ञानका कला धेरै छन् भन्ने लाग्छ । छ खण्डमा विभाजित ‘बग्दैबग्दै’ कृति काव्य र कविताको साँधमा उभिएर जराहाँगाहरूको पुल बन्न उद्यत छ । सफा र सुन्दर वातावरणमा दर्शन, विज्ञान र विश्वबन्धुत्वका रङ्गीबिरङ्गी फूल फुलाउन जागरुक छ जस्तो लाग्छ । यहाँले भनेको ‘दु:ख’ मैले बुझेको ‘सङ्घर्ष’ का अलि सघन विषय प्रसङ्ग त पहिलो खण्डका एकाध कवितामा मात्र छन् होला । प्रसङ्गवश यति भन्न पुगेछु, बाँकी कुरा वर्तमानका बहुआयामिक र सचेत पाठककै हातमा ।

३. अमेरिकी व्यस्त दैनिकीका बाबजुद नेपाली भाषा साहित्यमा लागि पर्नुभएको छ । समय कसरी मिलाउनुहुन्छ ? देश र गाउँसमाजको याद साहित्यमार्फत् प्रस्फुटन भएका हुन् ?

विश्वास, आकर्षण र समर्पण भए अरू कुरा सहज हुन्छन् । समयले पनि पालो दिन्छ । प्राथमिकतामा परेको विषय वा क्षेत्रलाई समय दिएपछि मात्र अरू कुराको पालो आउने न हो । आजको समयमा मानिस सर्वत्र व्यस्त छन् । अस्तव्यस्त हुनबाट बच्न सिर्जनामा व्यस्त हुनु राम्रो हो कि भन्ने लाग्छ । जताबाट नदी बग्दै आउँछ त्यतैको माटोको रङ पानीमा घुलेर आउँछ । त्यतैका पातपतिङ्गर नदीको बहावमा मिसिन्छन् । याद पनि यस्तै हो । चेतन र अवचेतनका स्तरमा पनि यो बसिरहेको हुन्छ सायद । जोडिइरहने, बल्झिइरहने हुन्छ । मनमस्तिष्क जोडिएका अनुभूति र संवेदनाहरू नै लेखनीका विषय बन्ने नहुन् ? त्यही भएको हुनुपर्छ, ‘बग्दैबग्दै’ का कतिपय शब्दका थोपाहरूमा ।

४. तपाईँले सगरमाथालाई धेरै कवितामा बिम्ब बनाउनुभएको छ । यसलाई कसरी बुझ्ने – ‘सगरमाथाप्रतिको मोह वा ‘संसारकै अग्लो शिखर सगरमाथाको देशको मान्छे हुँ’ भन्ने घमण्ड ?

सगरमाथा हाम्रो भित्री मनमा घुलित छ । हिमाल हाम्रो सभ्यता र सानको द्योतक हो । यसैले जब सुहाउँदो बिम्व टिप्ने बेला आउँछ हिमाल वा सगरमाथा सहजै मनमा ब्युँझिन्छ । कुनै योजना नै चाहिँदैन । यो त श्वास फेर्नुजस्तो पो भएर बसेको छ । सास तान्दा घमन्डको के जरुरत हैन ?

५. पुरस्कारको छोटो सूचीमा तपाईंको पुस्तकसहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ? तपाईंले साहित्यपोस्ट काव्य पुरस्कार पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

सर्वप्रथम ‘साहित्यपोस्ट’ परिवारलाई धन्यवाद भन्न मन लाग्यो, दुई अर्थमा । पहिलो, ‘बग्दैबग्दै’ कृति प्रकाशन गरेकोमा र दोस्रो, उत्कृष्ट काव्यपुरस्कारजस्ता पुरस्कारहरूको स्थापना गरेकोमा । साहित्यपोस्टको यो यात्रा त सुदूर भविष्यलाई हेरेर तय गरिएको यात्रा पो हो । लेखकहरू पनि एउटै कृतिबाट सबै थोक पाइन्छ या केही पनि पाइँदैन भन्ने दुवै अपेक्षा गर्दैनन् होला । प्रारम्भमा नै अन्त्यको कल्पना गर्न खोजियो भने त्यो यात्रा कसरी जीवन्त रहला र ? पुरस्कार प्राप्त हुँदा प्रमाण खोज्नेहरूका लागि पेस गर्न मलाई थप एउटा गर्बिलो परिघटना प्राप्त हुनेछ भने प्राप्त नहुँदा मलाई त्यो प्रमाण जुटाउन पुन: अर्को क्षणको प्रतीक्षा गर्नुपर्नेछ ।

मेरो सृजनात्मक यात्रा त मूलजस्तो पो लाग्छ । यता थुन्न खोज्यो उताबाट फुट्छ, उता थिच्न खोज्यो उता पलाउँछ । मूल थुन्न म आफै पनि असमर्थ रहनेछु । जहाँसम्म यहाँको सदीक्षाले राशिको कुरा सोध्नुभएको छ, कविता लेख्नु वा सृजना गर्नु मनोविज्ञानका हिसाबले मानसिक शुध्दि प्राप्त गर्ने माध्यम हो भने यो एउटा तपस्या पनि हो भन्ने कुरामा पूर्ण विश्वास राख्ने भएकाले पहिला मेरो छोरालाई एउटा सामान्य कलम र सुन्दर पुस्तक किनिदिनेछु, घरमा रहेको भूपिको तस्वीरनेर मेरो पुरस्कृत पुस्तक राख्नेछु अनि अगरबत्ती बालेर घरभरि कविताको सुगन्घ फैलाउने छु र भन्नेछु, ”कविता लेखेर पनि पैसा र खुसी पाउन सकिन्छ छोरा, नाम त्योभन्दा सारै धेरै, तिमी पनि नेपाली भाषासाहित्यलाई माया गरिरहनू ल ?” बाँकी साहित्यकै क्षेत्रमा सहयोग वा नयाँ कृति प्रकाशनार्थ खर्च हुनेछ ।

हेर्नुहोस् त भावनात्मक हिसावले त मैले पुरस्कार पाइसकेँ । मेरो मन त्यति स्पष्ट बनिसक्यो । भावना, विचार वा परिकल्पना वस्तुभन्दा अझ शक्तिशाली हुन्छन् क्यार । स्पष्ट हुनु वा आफूले आफैलाई नढाँट्नु र नयाँ ज्योतिक्रान्ति पहिल्याउनु सर्जकहरूको अपूर्व गुण हो नि होइन ? सँगसँगै राम्रा पुरस्कार पनि अस्विकार गरेर महान् त्यागी र लिएर विश्वविजयी होइन्छ भन्ने सोचबाट मुक्त हुनुपर्छजस्तो लाग्छ ।

६. अन्त्यमा तपाईँका आगामी साहित्यिक योजनाहरू केके छन् ? बताइदिनुस् न ।

निरन्तरता एकदमै ठूलो शक्ति रहेछ । लेखन, प्रकाशन, साहित्यिककर्म र संघसंस्थाहरूमा संलग्नताकासाथ कार्यसम्पादन, भाषाकला र सँस्कृतिको विस्तार र जगेर्ना यस्तै काममा लाग्नपाउँदा आनन्द महसुस हुन्छ ।