अनगिन्ती मृत सपनाहरू
सम्हाल्दै जिन्दगीको निर्जनतामा
सम्बन्धका भ्रमहरू भन्दा पर
कुनै अर्कै क्षितिजमा,
म आज भावशून्य भएको छु ।

फेरि पनि उसरी नै
पोखिएर आफैँभित्र
उहि रंगमा जिन्दगीको गतिसँगै,
छताछुल्ल
र सायद सम्वेदनाहीन भएको छु
त्यसैले अचेल
आँखाहरू रसाउँदैनन्
ब्यथाहरूले जलाउँदैनन्
खुसीहरूले लोभ्याउँदैनन्
तिमी बदलियो कि ? प्रकृति खै ! ?

आज भोलि त
लाली छर्दै बिहानीहरू पनि उदाउँदैनन्
जगमगाउँदै जुनहरू पनि झुल्किदैनन्
लोभ्याउँदै कुनै वसन्तहरू आउँदैनन्
तिमी छैनौ र सायद जिन्दगीमा कुनै अनुराग पनि
त्यसैले अनुभूतिका सीमा भन्दा पर
अर्थहीन अस्तित्व लिई
खै ! किन उसरी नै
हिजो, आज र सायद भोलि पनि
जिन्दगी सधैँ यसरी नै लड्खडाई रहनेछ ।