
रविन्द्र के.सी.
कहीं यस्तो नहोस्
कि तिम्रा खुसीका बिहानीहरु
जीवनमा कहिले आउन नपाउन
अनि
मेरो रहरका फूलहरु कहिल्यै फुल्न नसकुन्
कहीं यस्तो नहोस्
शाश्वत रंगहरूमा सजिन नपाउन् सपनाहरु
स्वप्निल क्षितिजमा हाँस्नै नपाउन् मनका चाहनाहरु
यस्तो नहोस्
तिम्रो रुप र कोमलता कुनै ऐय्यासीको भेट चढोस्
खेलेर तिम्रो अस्मिता संग कसैले जीवन लुट्न सकोस्
कहीं यस्तो पनि नहोस्
अतिवादी भाष्यहरुमा तिम्रा चेतनाहरु पनि भ्रमित होस्
मायाको कसुरमा निर्दोष प्रेमीले कतै शुलि चढ्न परोस्
यस्तो नहोस्
युगको दृष्टि यति सम्म धमिलो पारियोस्
कि हरेक नारी र पुरुष
केवल रावण र सीताहरु जस्ता मात्र देखियोस्
दिक्षा हाम्रो यस्तो नहोस्
स्निघ्ध कन्चन प्रेमिल मनमा तिरस्कार् मात्रै जन्मियोस्
विश्वास नपलाओस् मुटुमा घृणाको गहिरो खाडल खनियोस्
बरु यस्तो होस्
प्राकृतिक रंगमा रमाउन पाउन् मायालु मनहरु
अनन्तसम्म गुन्जिन सकुन् प्रेमका मधुर् धुनहरु
यस्तो होस् संसार जहाँ
उज्यालो सपना चम्किलो खुसी होस्
अन्धविश्वास् कतै नहोस् अझै सुन्दर कानून होस्
हो अबको संसार यस्तो होस्
तिमी र म म र तिमीमा कुनै अन्तर् नहोस्
विभेद शोषण र पुर्वाग्रहको कतै गुन्जायसै नहोस्



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 





