मेरा लागि यी सब नयाँ कुरा निश्चय होइनन् मित्र !

निर्मल आग्रह
जेठ महीनाको चर्को घाममा पनि खेतबारी खन्नु
र अन्नबाली गोडदै बस्नु
पुसको ठिहीमा पनि कक्रिँदै रात‑बेरात
खोलाबाट पानी तान्नु
वा चिया गाछहरूमा कलम काटदा
छुरीले लागेका दागहरूलाई मझेत्रोले लुकाएर भए पनि
एक लगानी काममा लागिरहनु
अग्लो पहाड चढेर लालुपाते फूलका
डालाहरू तोडेर ल्याउनु
वा टाइगर हिलको डाँडा उक्लेर
न्यानो घाम पर्खिबस्नू
– मैले एउटा सपना देख्नु र कसैलाई अतिरिक्त सकस हुनु ।
मित्र, यी नयाँ कुराहरू होइनन् मेरालागि
अँ, यदि तिमी भन्छौ कि मैले खेतबारी गोड्नु
गोडिरहनु अनवरत
र गोड्दै गोड्दै त्यस्को जरासम्म पुग्नु
जस्तो कि म सपनामा मात्र देख्ने गर्छु
अँ, यदि तिमी भन्छौ कि कट्याङ्ग्रिने रातिको चिसोमा पनि पानी तान्नु
र पानी तान्दै तानिरहँदा
पानीलाई घरसम्म तानेर ल्याउनु
वा चिया गाछसित गाँसेको प्रीतका गाँठाहरू फुकिदिनु
जस्तो कि म सपनामा मात्र देख्ने गर्छु
अँ, यदि तिमी भन्छौ कि अग्लो पहाडबाट लालुपातेका फूलहरू लिएर आउनु
र सारा गाउँ, सहरभरि रोपिदिनु
वा टाइगर हिल चढेर घामसित
सम्वाद गर्नु
जस्तो कि म सपनामा मात्र देख्ने गर्छु
अँ, यदि तिमी भन्छौ कि आज उप्रान्त मैले सपना देख्न छोडिदिनु
तर जति देखेको हुँ, ती सब पहिले पूरा त होस्
जो कि मेरा एकमात्र ध्येय हुन् !
यदि यस्तै भन्छौ भने चाहिँ मित्र
निश्चय यी कुराहरू मेरा लागि
नयाँ हुनेछन् !
यो मेरो निम्ति ठूलो रामाहटको कुरा हुनेछ मित्र !
***
सिलगढी, भारत ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










