
९.
सारा संसारभरका कुराहरूको अध्ययन गरिसकेपछि
एकदिन कविले समयलाई भन्यो
“म हावालाई पढ्न चाहन्छु !”
हावाले सोध्यो, ‘के पढ्न चाहन्छौ तिमी !
मेरो न आकास छ, न त भुइँ ! न आदि न अन्त ! मेरो न कुनै रङ छ
न कुनै गन्ध, न त कुनै आकार आकृति !
मसित म हुनु को अनुभवबाहेक अरु केही छैन !”
१०.
यो संसारमा मानिसको मोह
आखिर प्लास्टिकले बनेको हुन्छ !
अथवा प्लास्टिक बराबर !
न सड्छ ! न गल्छ !
न अँगाल्न सकिन्छ ! न त त्याग गर्न सम्भव छ !
यो निर्मम सभ्यताको सबभन्दा निकम्मा
आविष्कार
र सम्पूर्ण पृथ्वीको निम्ति ठूलो अभिशाप !
प्लास्टिक यो संसारमा आउनुभन्दा पहिल्यै
हाम्रा पुर्खाहरू यो सत्य जान्दथे
यस्कारण पनि-
पुर्खाहरूको त्यागलाई नजानी-नबुझी
मोहदेखि मुक्त हुनु सम्भव छैन
फेरि कस्तो मोह यो प्लास्टिकसित ?
जति चाँडो सम्भव छ त्याग्नूस्, प्लास्टिक मोहलाई
अर्थात् सांसारिक मोहलाई !
प्लास्टिक मोह मुर्दावाद !
११.
प्रत्येक पहिलो मानिससित
एउटा सितार छ
तर
कसैले पनि त्यस्लाई
राम्ररी बजाउनु जानेको छैन
प्रत्येक दोस्रो मानिसले भन्छ
पीडाको आफ्नु एक स्वर छ
तर
पकडिनु कसैले सकेको छैन
प्रत्येक तेस्रो मानिसको आधा जीवन
अल्झेको छ बलियो गरी
एउटा विचारलाई कस्नुमा
प्रत्येक चौथो मानिस
नजर डुलाई रहेछ चारैतिर
यो सोचेर कि
कसैले त हेर्छ, ऊतिर भनी
प्रत्येक पाँचौँ मानिस
संघर्षरत छ
आफ्नु पहिचान स्थापनाको निम्ति !
प्रत्येक छैटौँ मानिसको
एउटा कहानी छ
जस्को मुख्य भूमिका छल
विश्वासघात हो
प्रत्येक सातौँ मानिसलाई
गुनासो छ
गनगन छ
प्रत्येक पहिलो मानिससित
यी सात मानिसहरू कुनै दिन जब
एक ठाउँमा भेला हुन्छन्
त्यो दिन
प्रत्येक आठौँ मानिससित
एउटा गहन आत्मालोचना हुन्छ
एउटा तीव्र प्रतिकार हुन्छ ।
१२.
साँपलाई हेर्नुस्
साँप साँप जस्तै छ
कुकुर कुकुर जस्तै छ
फूल फूल जस्तै छ
पुतली पुतली जस्तै छ
चरी चरी जस्तै छ
माछा माछा जस्तै छ
सभ्यताको निर्माण क्रममा
जो बाँदर रहिगए
बाँदर नै छन्
तर मानिसले किन
मानिस बन्न जानेन आजसम्म ?
सिलगडी, जिल्लाः दार्जीलिङ,भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

