सुशील नेपाल

अचेल देश विम्बमा देख्छु,
हाटबजारमा छाला काडिएर
झुण्डाइएको खसीको अवस्थामा ,
मुग्लाने मूल्लाले उल्टो पारेर
झिंगा हम्किरहेको दृश्य,
पानी छ्यापेर ताजा बनाऊन खोजेको अवस्थामा,
त्यो पानीमा रेमिटान्सको विम्ब देख्छु,
छाला काडिएको खसीको
शरीरको निर्जीव अवस्था
छेवैमा पछारिएको तेसको टाउको,
खिसी गरेर ङिच्च परेर
दाँत देखाउँदै अट्टहास गरेको
विम्ब बोकेर
गिल्ला गरेझैं लाग्ने दृश्य,
समाजको सम्झौता परास्त
लाचारी,
उदेकलाग्दो भयावह परिस्थिति
खसीको मासुको पोका पोका परेर बसेका व्यापारी जस्ता नेताको झुण्ड,
कतै हातैले,
कतै कागजले या पङ्खाले हम्केरै माखो पन्छाउँदै छन्
कतै मोलतोल गरेर लान्छन् मासु,
कतै नगदको कारोवार हुँदैछ
कतै उधारोमा चल्दैछ व्यापार
एउटा सुन्दर भविष्य बोकेको देश
मुग्लाने मूल्लाले छाला काडेर किलामा झुण्डाएर टाँगेको खसी झैं निर्जीव
विम्बमा यसरी प्रस्तुत हुँदै गरेको
देख्छु,
विम्बमा देश छाला काडिएको खसीको
मासुझै देख्छु !