अभय श्रेष्ठ

म छु वारि भीरमाथि,

डाँडाको बतासजस्तै पारि छ मेरो मुटु ।

 

जसरी पुरानो भित्तामा चल्छ

खिया लागेको पुरानो घडी

ठिक त्यसरी नै चल्छ

नयाँ संविधानमा सत्ताको रथ

त्यसरी नै तिम्रो नजरमा

म अझै

पिँढीभन्दा तल

करजोरी गरिरहने उही पुरानै अछुत हुन्छु ।

 

हार्नेहरूको वीरताझैँ मेटिन्छ

त्यहाँ मेरो आँसु, पसिना र रगतको इतिहास ।

 

म मान्दिनँ–

प्रेमको संसारमा वर्णको कुनै भित्ता हुन्छ

एक बारको अमूल्य जुनीकै जोखिममा

रोजेको हुँ मैले एक ‘सवर्ण  युवतीको प्यार

तर, हरेक पटक प्रेमको आलिङ्गनमा

मेरो कलेजाको मध्य भागमा रोपिन्छ जातको खन्जर ।

 

 

मान्छेको निर्दोष रगत र अक्षत प्रेमलाई

जिउँदै जल्न नदिन

अब त मसँगै छन्

वर्णको प्रदूषित हावा र प्रेमको निषेधमा

निःसासिएका सहस्र मानिस

प्रेमको पवित्र सौन्दर्यशास्त्रले पनि

भन्न सक्दैन मेरो पवित्र प्रेमलाई अपवित्र

यो देशको सर्वोच्च विधान

रगतले सिँचेको यो भूमि,

पसिनाका बुँद,

यो घाम, यी जूनतारा

बतास र रूखपातले पनि

युगमाथि तर्जनी औँला ठड्याइसके ।

 

तर, भोरको मन्द हावाझैँ मेरो हृदयमा नित्य ठोकिएको

प्रेमको जवाफमा

किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ?

 

 

म प्रेमको अतुल गहिराइमा

बोल्छु मौन भाषा

त्यसलाई तिमी तरबारले थुन्छौ

जवाफमा वाचाल छ मेरो मौन

जलाएर धर्मशास्त्रका पाना र उद्धरणहरू

छाड्नु छ मैले यहाँ पवित्र प्रेमको डोब

दिनु छ युगलाई प्रेमको भाषामा

एउटा बाफिलो जबाफ

यो देश सबैको फूलबारी हो भने

मत्स्यवेदको प्रवेशद्वारमा तोड्नु छ मैले निषेधाज्ञा ।

 

म पनि त चाहन्छु

यो दुःखी दुनियाँमा नचलोस् आँधीहुरी

मेरो पवित्र प्यारको आकाङ्क्षामा

नखलबलियोस् कुनै रूखको जरा

नलागोस् कुनै वनमा डँडेलो

तर, दुनियाँमा कैयन् यस्ता कुरा छन्

जसलाई नजलाए

यहाँ धेरैले जिउँदै जल्नुपर्छ ।

 

म छु वारि भीरमाथि

डाँडाको बतासजस्तै पारि छ मेरो माया ।