हरिशरण परियार

डोबहरूमा दौडिरहन्छ कैँची
कहिले दायाँ
कहिले बायाँ
कहिले माथि
कहिले अर्धगोलाकार
अनि दिन्छ एउटा मूर्त आकार ।

संसारको नक्सामा दौडेर
बनाउन सक्छ सिंगो देशको आकार
कपडाको थानमा नाचेर
निकाल्न सक्छ ढाकाटोपी
र, कुर्ता पाइजामा
राष्ट्रिय झन्डाको आकार ।

यसैलाई चलाएर
मेरा पुर्खाहरूले
युगौँदेखि ढाकिरहे सभ्यताको लाज
काटिरहे युगौँ युग
जिन्दगीको भोक ।

तर, आफ्नै धारसँग अनभिज्ञ
केबल औँलाद्वारा निर्देशित बनिरह्यो
अछुत जिन्दगीको सारथि
अनि क्रमशः कोरिए कर्मको सिमाना
लुटिए हातबाट मखमली पसिना ।

आज थाहा छ मलाई,
अरू जस्तै अमानवीय बन्यो भने कैँची
काटिन सक्छ लाजको वस्त्र
काटिन सक्छ मानव तस्बिर
काटिन सक्छन् औँलाहरू
अनि
काटिन के बेर राष्ट्रिय झन्डा ?