विवेक श्रेष्ठ

गन्तव्य विहीन यात्रा जिन्दगीको
अनगिन्ती सपना मनभरी
बेग्ला बेग्लै गोरेटो
थाहा छैन कहाँ सम्म पुग्ने हो
यो जिन्दगीको गन्तव्य विहीन यात्रामा

नदी जसरी अविरल बगी रहेछ
गन्तव्य विहीन यात्रा मेरो जिन्दगीको
थाहा छैन बीचमै सुक्ने हो कि
समुन्द्र सम्म पुग्ने हो

यो घरै घर बीचको सहरमा म पो कतै हराएकी
करोडौंको भीडमा म पो कतै एक्लिएकी
त्यही निरास मन बोकी गन्तव्य विहीन यात्रा
खोज्दा खोज्दै मै पो कतै हराएकी
एक निर्जीव शरीरको साथमा

सानोमा गुच्चा चप्पल र
मोजाले बनाएको बल हराउँदा
निकै रुने मान्छे म
आज गन्तव्य हराउँदा पनि खुसी नै छु
हुरीले कहाँ पुर्याउँछ कहाँ यो धर्तीको धुलोलाई

ठूला सपना रित्तो गोजी फाटेको मन
बोकी हिँडिरहेको छु
गन्तव्य विहीन जिन्दगीको यात्रामा
खै कहाँ सम्म पुग्ने हो थाहा छैन
अनगिन्ती छन् गोरेटोहरु यो यात्राको
खै कहाँ सम्म पुग्ने हो थाहा छैन
अनि त्यही यात्रा भित्रको
एक यात्री म…!