दुर्लभ हुँदैछ मनुष्य, राम्रो आचार
चोर साधुका हुन्छन् आदर्श विचार
घट्दै छ सदाचार, बढ्दै व्याभिचार
थाक्दैन् व्यभिचारी, कुरा छ सदाचार

पर्खाइमा हुन्छन् मौका धेरै इमान्दार
मिल्दा हुन्छ आचर नमिल्दा भ्रष्टाचार
मौका मिल्दा छोड्दैनन् आफू बारबार
अरु के, चौथो अंग बन्दैछ मतियार

सेतो कालो धनको रंग फरक छ र
खाष्टो ओढ्दै नओड्ने इमान्दार को छ र
खाष्टो ओढ्ने बेइमानी भाको कहाँ छ र
मान सम्मान उसको जति कस्को छ र

राजेन्द्र कार्की (क्यानडा)

सक्छौ धनी बन, कसरी भन्दै नभन
सक्दैनौ भ्रष्टाचार कति गन्दै नगन
हुन्छ निमुखा, यो तिमीलाई भ्रष्टाचार
हेर दुनीयाँमा, अछुत को कहाँ छ र

छ धनमा सुख समृद्दिको आधार
सुकिला मुकिला सबै यसैमा अपार
समृद्धि दिन्छ जसले खराबी के छ र
पुस्तौ मोज नभाको धनले कहाँ छ र

धनैमा छ सब सुख सयल आराम
धनले पारेको छ कसलाई विराम
सके कमाउ, नत्र नगर बदनाम
किन देख्न सक्दैनन् धनलाई हराम

छ धनमा जनको गरिबी निवारण
दरिद्रहरु उसैमा ताक्छन् किन वाण
जसमा छ गरिबी निवारणको त्राण
अचुक छ, हाल्छ सु–सम्पन्नताको प्राण

प्रिती लगाउँ जस्तो लाग्छ बारम्बार
छुट्दैन नेताको लगन गाँठो लौ हेर
जति बाँध्यो अंगालोमा, उति लाग्छ प्यार
नेताको गर्छ यसले सात जुनी पार

धन बिना कहाँ छ, दुनियाँमा चयन
गाउँदछन् भद्र तन, आदर्शको गान
गाली छ नेता नदेख्दा, देख्दा ताली हान
नेता गणको यसमा दोष के, लौ भन

चुनावमा भोट जित्न छ नेताको नोट
यस्तै नेता चुन्न छ जनको फेरि भोट
छ खास्टो भित्र घिउ खानेको यहाँ खोट
छ पानी माथि ओभानो हुनेलाई चोट

परिक्षा नदिदा हुन्छन् धेरै जेहन्दार
मौका नपाउदा धेरै छन् इमान्दार
गरिब रहन कसलाई मन छ र
धनमा तिन नेत्र नभाको को छ र ।