युवराज घलेभाइ

युवराज घलेभाइ (सिक्किम)
दिनरात पीर व्यथाहरू बोकेर
प्रत्येक साँझ बिहान
हातमुख जुटाउने उपायमा
अस्थिर पाइलाहरू भटकिन्छन्
प्रत्येक घर र कार्यालयमा
आशाका हात फैलाउँदै
बाँच्ने रहरमा
घरको दु:ख सम्झेर
बिन्ती भाउ नाङ्गो विपत्ति बिसाउने
क्रम तर सबै व्यर्थ ।
कसले सुनिदिन्छ ?
कसले बुझिदिन्छ कि ?
भोकको ज्वाला कस्तो हुन्छ ?
मनको डढेलो कसरी निभ्छ ?
बुझ्नेसँग छैन हुनेले दिँदैन
त्यसैले अझ दन्किन्छ, ननिभ्ने गरी ।
जिम्मेवारीले बाँधिएको ऊ
भोकै नाङ्गै स्वास्नी छोराछोरी
बाँच्ने कसरी अनि मर्ने कसरी ?
आशा साँच्दै धिक्कार्दै बारम्बार
व्यङ्ग्य पिउँदै जानी नजानी
मान्छेको नाउँमा कलङ्कित मूर्तिजस्तै
मर्न नसकेर बाँचिदिएको
अभावै अभावले जन्माएको मान्छे
क्रमशः अस्ताउँदै जान्छ
ज्यूँदो मराई घिस्रिँदै बाँच्दै
हरेक प्रतिभा बचाइराख्ने रहरमा
तैपनि बाँच्न सजिलो छैन ।
गान्तोक, सिक्किम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










