कविता : हामी को हौँ ? 

रविन शर्मा

बा !

किन बोकेर ल्याएको चामल

अलग्गै राख्नु भो ?

आमा !

किन पछ्याैरीमा अलग्ग रोटी थाप्नु भएको ?

किन अलग-अलग, पर-पर, छोई छोई मात्र

भन्छन् बा ?

 

हामीले छोएपछि खोलाले आफ्नो

गति फेर्छ ?

मैले छोएपछि झरनाले आफ्नो लय बिर्सन्छ ?

कि मैले छोएपछि उड्दै गरेका चराहरूले आफ्नो गुँड बिर्सन्छन् ?

कि मैले बिउ छोएर रूख, रूख हुन पाउँदैन ?

मैले छोएपछि बगिरहेको खोला उल्टो बग्छ ?

कि त मैले छोएपछि अन्न पनि माटो हुन्छ ?

मैले छोएपछि रगत कालो हुन्छ हो ?

 

बा

हामी हिँडेको बाटो किन थुकेर मात्र हिँड्छन् मथ्लाघरे पण्डित बाजे ?

बा हामी को हौँ  ?

 

बा, हजुरले छोएपछि

आँसीमा धार लाग्छ

हजुरले छोएपछि

मन्दिरमा गजुर लाग्छ

हजुरले छोएपछि मलाई केही हुँदैन

किन मैले छोएपछि मास्टर कि छोरीलाई

सुनपानी हाल्छन् ?

बा, म को हुँ ?

 

बा किन मेरो विद्यालयमा

सरलाई मैले कहिल्यै पिउने  पानी दिन सक्दिनँ ?

किन सर सधै मलाई

अलग-अलग, पर-पर भन्नुहुन्छ ?

 

मैले पढेको किताबमा लेखेको छ,

फोहोर चिज छुनु हुँदैन ।

बा, हामी को हौँ ?

 

बा, हजुरले बोकेर अस्पताल पुर्याएपछि

पण्डितबाको ज्यान बच्यो ,

आमाले रगत दिएपछि

मास्टरकी श्रीमतीको सिन्दुर बच्यो,

मैले पढेको किताबमा लेखेको छ,

फोहोर चिज छुनु हुँदैन ।

बा, हामी को हौँ ?

 

बुझ्ने भएपछि छोरीले आफैँ भन्ने छिन्

हामी को हौँ ?

दबिएर बसेको

चिज घर्षणपछि मात्र आवाज दिन्छन्

ए मान्छे !

मैले हावामा सास फेरेको छु

कृपया तैँले अर्को जन्ममा सास नफेरी

बाँच्न सिकेस् ।