शरद्शोभा

 

आवश्यकता हो
रातो गाजरको
तर रातो मुला बनिरहेछन्
आजका नेता ।

विरोधाभासमा
दाउपेची सञ्जालमा
बिर्सेर जनहितका वाचा
समाजवाद – साम्यवादका सपना
रम्न निर्बन्ध उदारवादमा
छोडेर जनताको घरदैलो
भन्ज्याङ चौतारी
खेत र खलियान
गर्न राजनीतिको निजीकरण
धाइरहेछन् बुद्धिविलासका अखडा
आजका नेता ।

वातानुकूलित व्यक्तित्व
आजका नेताको
जाडालाई तताएर न्यानो ओडेजस्तो
गर्मीलाई चिस्याएर शीतलता स्युरेजस्तो
भएर पनि नभएजस्तो
नभएर पनि भएजस्तो
हिमालयका ‘यती’ को प्रतिमूर्ति
आजका नेता ।

आवश्यकता हो
रातो गाजरको
तर रातो मुला बनिरहेछन्
आजका नेता ।

महाङ्काल –४, कालेश्वर, ललितपुर