शरद्शोभा

सौन्दर्यचेत
नदीको पानीसँगै
बगेर गयो
आँसुको मोल बुझ्ने
सत्कर्मको गोरेटो !

ब्रह्मज्ञानी हुँ म
अजेय छु म
के छैन मसँग
पद, पैसा, पहुँच, अजेय चातुर्य
सबथोक छ मसँग
जे–जे थिए मेरो इच्छामा ।

बुझेनौ कि नबुझेझैँ गर्छाै ?
हे ! नवयुवक हो
मूल्यहीन छन्
इतिहासका आदर्श
मानवता र सहृदयता
यो दोसल्ला युगमा ।

हिँड्दै जाने हो
कसले राखोस् र याद
सिँढीहरूको !

सम्पन्न बन्नुछ भने
सत्ताकोे सुख भोग्नुछ भने
यो दोसल्ला युगमा
श्रम र सीप
मानवता र सहृदयता
अपमानको बगैँचामा
सकेसम्म कुिल्चनु
प्रशस्ति गायकको चौघेरामा
ढुङ्गाहरूको विधिपूर्वक पूजा गर्नु
दोसल्ला युगको सत्तामा
ढुङ्गाहरू विराजमान छन्
मेरो भजन गाएकै भरमा
मरो पूजा गरेकै भरमा
मेरा प्रशस्ति गायक
सानाठूला सत्ताका मठाधीश बनेका छन् ।

प्रशस्ति गान
सम्पन्नताको सुत्र
दोसल्ला युग !
∞∞∞∞∞∞

महाङ्काल –४, कालेश्वर, ललितपुर