वेदान्तको पाठ

शार्दूलविक्रीडित 

दुर्गाप्रसाद पोख्रेल (लण्डन)

यौटा गाउँ थियो थिए गुरु महान् आचार्य अध्यापक

पढ्थे शिष्य कुनै तिनै गुरुसँगै वेदान्तशास्त्रादिक

व्रह्मज्ञान गरी विवेकरथमा चढ्नु छ आवश्यक

भन्ने चिन्तनमा डुबेर रहने वैराग्यका साधक । १।

 

ब्रह्मा विष्णु महेश नै किन नहुन् संसारमा आखिर

चल्छन् नित्य अहो! विवाह गरने माता पिताका कर ।

बाबाको करले र लोक डरले राजी तिनी बन्दछन्

माताको अनुरोध हार्न नसकी लौ हुन्छ लौ भन्दछन्।२।

 

यौटी षोडश यौवनासँग कुरा छिन्छन् पिताले जब

आफन्ती जन आउँछन् वरिपरी जुट्छन् बिहेमा सब

वेदान्ती अब शान्त भै खुरुखुरू मान्छन् सबैका कुरा

मानौं कि अहिले ती चढ्न कसिए संघर्षका टाकुरा ।३।

 

कन्याका घरमा हरेक जनले आएर खुब् भन्दछन्

यस्ता सुन्दर बेहुला चहकिला सौभाग्यले मिल्दछन्

नानीको शुभ भाग्य जागृत भयो राम्रा जुवाईं मिले

कन्याका घरपक्षका सकलका छाती खुले हर्षले ।४।

 

आयो लग्न बिहे भयो युवतिको आँसु गयो लौ खसी

लाखौं स्वप्न लिएर कर्म घरमा आइन् तिनी षोडशी

अर्को बन्धन छैन छैन अब ता संसारमा बाधक

सोच्दै पण्डितजी भने पठनमा लागे बनी साधक ।५।

 

ती नौली दुलही पसेर घरमा खास्सा बुहारी बनिन्

आमा सासु बनिन् जसो गर भनिन् त्यस्तै दुरुस्तै गरिन्

दाना घास गरिन् कुँडो जल भरिन् बाख्रा थुनिन् खोरमा

भान्सामा घरमा र आँगन सदा गर्छिन् सफा भोरमा ।६।

 

इच्छा छन् बह छन् नवीन रतिका आवेग छन् चेतमा

जे जे छन् मनभित्र साँचीरहँदी भन्छु भनी भेटमा ।

बाख्रा हेर्नु छ दैनिकी अब भने बोका र पाठीहरू

सम्झिन्छिन् युवती विरक्तमनले साथीसँगातीहरू ।७।

 

न्यास्रो लाग्दछ भेट्दिनन् पति कता हिड्छन् बिहानीपख

आउन्नन् जब चाह हुन्छ रतिको मेटिन्न तिर्खातक

बुझ्दैनन् पतिले सुरम्य मनको भाका सुनौला किन ?

संसारी सुख भोग गर्न नभए गर्छन् बिहे नै किन ? ।८।

 

बोका एक थियो उ बैंस भरिलो जिस्कन्छ पाठीसँग

तेस्ले झन् पिर बढ्दथ्यो मनभरी गल्थिन् ति आफैंसँग

गर्ने के अनि भन्नु को सँग गई ती भित्र नै खुम्चिइन्

स्वामीका गुरुजी अचानक त्यहाँ देखेर ती झस्किइन् ।

 

तृष्णा हो रतिको अवश्य नपुगे संवेग आवेग हो

एक्कासी मुखबाट निस्कन गयो बाणी अनौठो न हो-

“यस्लाई पनि वेद शास्त्र गतिलै शिक्षा दिने हो कि त ?

यो बोका पनि बन्न मिल्छ कि कतै वेदान्तको पाठक ।”।९।

 

यस्तो ती गुरुले सुने अनि गुने ती यौवनाको मन

गर्लान् हे कसरी गृहस्थ बबुरा वेदान्तको साधन

आफ्ना श्रोत्रिय छात्र सामु गुरुले यस्तो भने आखिर-

‘प्यारा शिष्य! पढाउँदैछ घरले जाउ तिमी लौ घर ।’ ।१०।