सम्झन्छु !
गाउँका भालेहरू बास्नु अगाडि
जब मस्त निद्रामा थियो मेरो गाउँ
जूनको चकमन्न उज्यालोमा
साह्रै बिरक्तिएर गाउँको जिन्दगीसँग
सानो झोलामा सपनाहरू कोचकाच पारेर
लुसुक्क सहरतिर भागेको ।
त्यतिबेला अहँ ! रोक्न सकेन मलाई
सङ्घारमा उभिएकी मेरी आमाका
टिलपिल टिलपिल झरेका आँसुहरूले ।
साँच्चिकै
भव्य स्वागत गऱ्यो सहरले
लाग्थ्यो
ऊ बेचैन थियो हाम्रै प्रतीक्षामा
र जसरी सदियौँ कालदेखि
पिपलका अनगिन्ती जराहरूले
माटोलाई जकड्छ
त्यसरी नै उसले
हलचल गर्न नसकिने गरी
समायो हाम्रा पाखुरीहरू ।
अनेक हन्डर खाँदै
हिमालदेखि बग्दै आएका नदीहरूजस्तै
निरन्तर बग्न थाले
हाम्रा पसिनाहरू
बेलाबखत रगतहरू
र सहरका घरहरू
हेर्दा हेर्दै आकाश छुन थाले
बाटाहरू चिल्ला र फराकिला भए
र बने
रङ्गीबिरङ्गी बगैँचाहरू
रमाइला तलाउहरू
सुस्ताउने उद्यानहरू
भव्य होटेल, अस्पताल, स्कुलहरू
ओहो ! साँच्चिकै भव्य देखिए सहरहरू
र त सहरहरू
आफूलाई सभ्य हुँ भन्न थाले।
यो सहर जन्माउँदा
भोगियो कति बगरका नियतिहरू
जो हरेक सेकेन्ड, घण्टा, महिना र वर्ष
खिइँदै जान्छ निरन्तर निरन्तर
यो सहरमा पसिनासँगै
मिसिएका छन् रगतहरू
कति आँसुहरू
र कहिले नफर्कने गरी
कति श्वासहरू
त्यसैले त यो सहर
फगत एउटा सहरमात्र नभई
एउटा भव्य चिहानपनि हो ।
तर अफसोच
हाम्रा पसिनाहरूले
सहरहरू भिज्न छाडेपछि
कमजोर भएका हाम्रा हात र खुट्टाहरूले
हामीले नै बनाएका
सहरका भित्ताहरूको साहारा खोज्न थालेपछि
अनि गुमनाम भए
सहरको मुटु र मस्तिष्कहरू
र हामीसँग
अचाक्ली निर्मम बन्यो।
तुसाराले कठ्याङ्ग्रिएको मन बोकेर
जब सुनसान बाटाहरू हुँदै
सोझिए पाइलाहरू गाउँतर्फ
त्यो बेला मलाई
एकटकले हेरिरहेका थिए
सहरका आकाश छुने ठुलाघरहरूले
जसलाई मैले
इँटा, बालुवा, सिमेन्ट र छडहरू बोकेर
जवान बनाएको थिए
मैले तिनीहरूका चम्किला भित्ता र सिसाहरूमा
मेरी आमाको जस्तै
अदृश्य आँसुहरू देखे
भ्रमित छु म अझै
मैले देखेको ती आँसुहरू
तिनका आफ्नै आँसुहरू थिए
या मेरा आँसुहरूको प्रतिविम्ब !
दिक्तेल, खोटाङ्ग हाल बानेश्वर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।