यो राजमार्गमा
छाला डढाउने टकटकउदो घाम ओडेर
बडो मुस्किलले हिँड्नु
निदाउन खोज्दा
आँखामाथि टहटह जुन आएर बसिँदिदा
बढेको वैचनी र छट्पटी
भक्कानिएर आँखाबाट छुटेका अश्रुधाराहरू
पटपटी पाईतलाहरू फुटेर चुहिएका रगत
शरणार्थी जस्तै भोक भोकै
आफ्नै देशका सडकहरूमा भौतारिनु
कलेटी परेको छोराछोरीहरूको निलो ओठ
र उनीहरूको आशातीत अनुहारहरू
कसरी बुझ्न सक्छौ तिमी यी यावत पिडाहरू ?

निसंकोच ! आदेश मात्र जारी गर्छौ
सडकहरू बन्द गर !
घरभित्रै बस !
शिरोधार्य गरेकै हौ त तिम्रा आदेशहरू
हाम्रा अँध्यारा कोठाका चुल्हो बलुञ्जेल
सहेकै हौ त
भोकले रिंगटा लागेर नढलुन्जेल !
रोगले भन्दा भोकले मार्ने भएपछी
असह्य भएर पो निस्किएका हौँ
जीवन खोज्न
राजमार्गको लम्वेतान यात्रामा ।

घरभित्र कैदी बनाएर राखुञ्जेल
खै त ! देखेको ?
आगो बलिरहेको पेटहरू
औषधिबिना छटपटाइरहेका दिर्घरोगीहरू
दूध चुस्न नपाएका तिर्खालु बालकहरू
न त देख्यौ
हरेक दिनराज मार्गमा बगिरहेको आँशुहरू
या नियतवश नै देख्न नचाहेको हौ ?
बरु सुनाइरह्यौ तिम्रो सफेद झूट
भोकले कोही मर्नुपर्दैन
रोगले कोही मर्नुपर्दैन
बेरोजगार कोही बस्नु पर्दैन
तर यथार्थमा खोजिरहिरह्यौ
हाम्रो लाशलाई ओडाउने कात्रो
र पुर्ने खाल्डोहरूमा
कमिसन दिने ठेकेदारहरू ।

यो राजमार्गको कठिन यात्रामा
चालिएका हरेक पाइलैपिछे
हरेक दुःखी यात्रीका मस्तिष्कभरी
गुन्द्रुक झैँ गुम्सिएका
अनगिन्ती अनुत्तरित प्रश्नहरू
छाल झैँ उर्लेकाछन् छन्
र खोज्ने छ एकदिन
अनुत्तरित प्रश्नका हरेक जवाफहरू
अथवा,
जवाफ खोज्दा खोज्दै यी आँसुहरू
अनियन्त्रित भेलमा परिणत भएर
थाहा छैन कुनदिन पुनः फर्कने हुन्
यहि राजमार्ग हुदै तिम्रो राजधानी ।