सुकेका ओठ
जिङ्रिङ कपाल
चाउरिएका अधर
चुपचाप–चुपचाप
उभिरहेछ ऊ एक गल्लीमा
एक लास बनी ।

एक प्याला पसिना घुटुक्क निल्दै
निरीह वास्तविकता भोग्दै
खुन लत्पतिएको कुर्कुचामा उभिएर
युगको प्रवेगसँगै हराएको
आफ्नो अधिकार सम्झिँदै
चुपचाप–चुपचाप
हेरिरहेछ ऊ युगको प्रसव
एक मूर्ति बनेर ।

सपनाको मलामी जाने तर्खरमा
सुत्केरी श्रीमतीको भोको मुहार हेर्दै
डेढ महीने रोइरहेको सन्तान्को
रंगशाला थर्काउने क्वाँ…क्वाँ… सुन्दै
पीडाको भारीले थिल्थिलो भएर
चुपचाप–चुपचाप
ऊ विवश छ
आफ्नै घर भत्काउनेले दिएको
श्रमिक दिवसको शुभकामना स्वरूप
एक गुलाब समात्न ।